Wednesday, April 8, 2015

सुस्मिताका प्रश्न : प्यारासाइटहरूसँग

'ट्याक्सीभित्रै राखेर हामी गरिबलाई जलाउने अनि आफू चाहिँ बडीगार्ड लिएर गाडीमा सरर हिँड्ने?'
'काम गर्ने श्रमिकको रोजीरोटी खोस्ने, अब भोलिदेखि हामीले के खाने? दुई छोराछोरी कसरी पाल्ने?'
आफ्ना ट्याक्सी चालक पतिलाई गाडीभित्रै राखेर ट्याक्सीमा आगो लगाइदिएको खबर सुन्नेबित्तिकै घटनास्थलमा आएकी

सुस्मिताका यी प्रश्नले यो मुलुकक शासक र राजनीतिक दलका नेताहरूको नैतिकतामै औँला ठड्याएका छन्।

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्वको नेतृत्वले मोर्चाले चैत २४ देखि बन्दको आह्वान गरेको थियो। त्यही दिन बिहान सबेरै निरज बानियाको  ट्याक्सीमा ललितपुरको बालकुमारी नजिकै दुई जना अपराधीले आगो लगाइदिए। अपराधीहरूले आगो लगाउँदा चालक बानिया ट्याक्सी चलाउँदै थिए। ट्याक्सीभित्र यात्रु बनेर बसेका अपराधीले पेट्रोल छर्केर लगाएको आगोले बानियाँको कपालसमेत अलिकति जलेको छ। बानिया भाग्यले बाँचे।

बन्द आह्वान गर्नेले यस घटनालाई सरकारले गराएको र सञ्चार माध्यमले बढाइचढाइ गरेर विपक्षी आन्दोलनको बदनाम गरेको भन्न बेर लगाउने छैनन्। सरकार त देशमा छ छैन आपत परेका बेला थाहै हुँदैन। ( बिहान एक जना डेढ अक्कली 'माओवादीकै ट्याक्सी हो। अरूलाई तर्साउन आगो लगाएको हो।' भन्दै थियो। )

 बन्दकै नाममा सडकमा उपद्रो मच्चाउने अपराधीको अर्को हुलले छोराछोरीलाई स्कुटरमा राखेर कतै गइरहेकी महिलामाथि दुर्व्यवहार गरे। ती महिलाको स्कुटर लडाइदिएपछि बरर आँसु खसालेर रोएका बालकको तस्बिर देख्दा मानवीय हृदय भएका सबैका आँखा रसाउँछन्। स्कुटर सवार ती महिला र बालबालिकामाथि गरिएको आक्रमण पनि अमानवीय अपराधकै कोटीमा पर्छ।

अब फर्कौँ श्रीमती सुस्मिता बानियाको प्रश्नतिर। प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम, बन्द आयोजक पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराई नामका कुनै परजीवीसँग सुस्मिताका प्रश्नको उत्तर दिने नैतिक शक्ति छ? यी सबैलाई परजीवी किन भनेको भने यी सबै जुगाजस्तै जनताका रगत चुसेर बाँचेका छन्। राज्यबाट जनताले तिरेको करबाट पारिश्रमिक लिन्छन् तर कर्तव्य पूरा गर्दैनन्। यसैले तिनले लिएको पारिश्रमिक नैतिकरूपमा शोषण नै हो। शोषण गरेर बाँच्नेहरू परजीवी (प्यारासाइट) नै त हुन्।

देशप्रति अलिकति पनि जिम्मेवारी र संवेदनशीलता भए कोइराला, गौतम, दाहाल र भट्टराईजस्ताले तत्काल जनतासँग क्षमा याचना गर र मुलुकको प्रगतिमा भाँजो हाल्न छाड । कार्यकर्ताले गरेको अपराधको दाहाल र ट्टराईले नैतिक जिम्मेवारी लिऊ र प्रचलित कानुनअनुसार सजाय भोगेर पाप कटाऊ। कोइराला र गौतमले सडकमा नागरिकको सुरक्षा गर्न नसकेकोमा क्षमा माग। नैतिकता भए राजीनामा गर । नभए कम्तीमा ट्याक्सी जलाउनेलाई खोजेर मुद्दा चलाउन लगाऊ। चाबेललगायत अरू ठाउँमा उपद्रो गर्नेहरूको अनुहार पत्ता लगाउन खासै कठिन हुनेछैन। तिनलाई खोजेर कानुनअनुसार कारबाही गराऊ। सत्तामा बस्ने हो भने कानुनको पालना गराऊ।  राष्ट्रिय मानव अधिकार आयोगले पनि बन्दमा भएका मानवअधिकार हनन र ज्यादतीका लागि विज्ञप्ति प्रकाशित गरेर झारा टार्न छाडोस्। स्पष्ट शब्दमा निन्दा गर्न पनि डराउने हो भने आयोगको पनि औचित्य समाप्त हुन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय पनि यस्तो ज्यादतीमा चुप लाग्ने हो भने अरू बेला बोल्ने नैतिक अधिकार रहनेछैन।

चाबेलमा आमाको स्कुटर लडाइँदा खसेका ती बालकका आँसुको बेवास्ता गर्ने हो भने कसैलाई पनि यस मुलुकमा बाल अधिकारका नाममा जागिर खाने नैतिक अधिकार हुँदैन।  मुलुकमा 'बुख्याँचा'मात्रै छन् कि जीउँदा मानिस पनि छन् भन्ने कसी यस्तै घटना हुन्।  

No comments:

Post a Comment