Tuesday, November 11, 2014

महासमरको महाप्रभाव

नेपाली समाजले आफ्ना प्रिय नेताहरू विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको जन्मशताब्दी मनाउँदै गरेकै बेलामा पहिलो विश्वयुद्ध थालिएको पनि सय वर्ष पुगेको छ। संसारै प्रभावित भएको महासमरको थालनी सन् १९१४ को २८ जुलाईमा भएको थियो भने विधिवत् अन्त्य ११ नोभेम्बर १९१८ मा भएको थियो। यद्यपि, यस्ता युद्धको बीउ धेरै पहिले रोपिएको हुन्छ र औपचारिकरूपमा अन्त्य भए पनि विभिन्न रूपमा लामो समयसम्म लडाइँ चलिरहन्छ।  

पहिलो विश्वयुद्धको प्रभाव अहिलेसम्म पनि संसारमा कुनै न कुनै रूपमा देखिँदैछ। संसारका विभिन्न देशमा विश्वयुद्धले गरेको विनाश सम्झाउने स्मारक, संग्रहालय र अवशेषहरू छन्। विश्वयुद्धका अनेकौं इतिहास लेखिएका छन्। अनुसन्धानहरूबाट नयाँ र रोमाञ्चक तथ्यहरू प्रकट भइरहेका छन्। साहित्यमा त झन् जीवन्त छाप परेको छ विश्वयुद्धको। 
पहिलो विश्वयुद्ध साँच्चै नै युगान्तकारी घटना थियो। यस्तो विनाशकारी र दीर्घकालीन प्रभाव भएको युद्ध मानव जातिकै इतिहासमा यो पहिलो नै थियो। इतिहास त के पुराणहरूमा समेत पूर्व वा पश्चिम कतै पनि यति व्यापक युद्ध भएको रहेनछ। महाभारत, रामायण वा ट्रोयको लडाइँ कुनै पनि विश्वव्यापी थिएनन्। अरू त अरू हिमालको कन्दरामा रहेको र संसारको आँखामा बिरलै पर्ने गरेको नेपालसमेत बेलायतको संगतका कारण युद्धमा उत्रेको थियो। कति नेपालीले त्यस महासमरमा ज्यान गुमाए भन्ने सही लेखाजोखा सायद गर्नै खोजिएन। त्यसैले त अहिले आफ्ना पुर्खाले मुगलानमा अरूकै लागि लडेको लडाइँलाई नेपाली समाजले पनि बिर्सिसकेजस्तो देखिएको छ। 
पहिलो विश्वयुद्धले संसारको शक्ति सन्तुलन बदल्यो। युद्धमा अलि पछि संलग्न भएको अमेरिका यथार्थमा विजेता बन्यो। हार्नेहरूले हरुवा दण्ड त भोगे नै जित्ने बेलायतले सायद युद्धको सबैभन्दा बढी मूल्य चुकाउनु पर्योब। बेलायतको 'कहिल्यै सूर्य नअस्ताउने’ साम्राज्यको सही अर्थमा पतन पहिलो विश्वयुद्धबाटै थालियो। पहिलो विश्वयुद्धले तहसनहस बनाएको जर्मनीले दुई दशकपछि नै विजेताहरूलाई चुनौती दियो। सन् १९३९ मा दोस्रो विश्वयुद्ध थालियो। जर्मनी र उसका साथीहरू फेरि हारे। जापानमा त अणुबमै खसालियो। पहिलो, दोस्रो विश्वयुद्धले संसारलाई संयुक्त राष्ट्रसंघ दियो। पहिलेको 'लिग अफ नेसन्स’ प्रभावहीन जो भएको थियो। दोस्रो, संसारलाई दुई खेमामा विभाजन गरिदियो। तेस्रो, उपनिवेशहरू लगभग सबै स्वतन्त्र भए। संसारमा स्वतन्त्र मुलुकहरूको अपूर्व उदय भयो।
संसार दुई खेमामा बाँडिएपछि हतियारविहीन युद्ध पनि चल्ने नै भयो। रुसको नेतृत्वमा रहेको कम्युनिस्ट खेमालगभग रुसी साम्राज्यजस्तै बन्न पुग्यो। अर्को 'स्वतन्त्र विश्व’को नेतृत्व अमेरिकाले गर्यो्। उपनिवेशबाट मुक्त भएका तर कम्युनिस्ट हुन नचाहने केही महत्वाकांक्षी राजनेताले सन् १९६१ मा विधिवत् 'असंलग्न आन्दोलन’ थालनी गरे। तर, यस अभियानका प्रमुख हस्तीहरू नै कुनै न कुनै रूपमा पहिलो वा दोस्रो खेमाको निकट रहे। अझ भारतजस्तो मुलुक त लोकतान्त्रिक शासन प्रणाली अपनाए पनि कम्युनिस्ट रुसको निकट रह्यो। शीतयुद्धका समयमा भारत र रुस दुवै मुलुकले एक अर्कालाई आड दिएका थिए। चीन अन्ततः कम्युनिस्ट विरोधी 'स्वतन्त्र विश्व’को हर्ताकर्ता अमेरिकासँग नजिकिन पुग्यो। सार्वजनिक कथनी र सुटुक्क गर्ने व्यवहारमा सायद अमेरिका र चीनले जति संसारलाई 'उल्लु’ शीतयुद्धभर कसैले पनि बनाएनन्! तिनले तेस्रो विश्वका अधिनायकवादी शासकलाई समर्थन गरेर जनताका लोकतान्त्रिक आकांक्षाको दमन गर्न सहयोग पुर्या ए। यसैले शीतयुद्ध सकिएपछि सुरु भएको लोकतन्त्रको लहरमा अमेरिका अलमलमा पर्योा। सोभियत साम्राज्यको पतनका कारणले मात्रै अमेरिकाको प्रभाव बढेको हो। यद्यपि, अमेरिकी समाजप्रतिको आकर्षण भने त्यस यता संसारमा कहिल्यै कम भएको देखिएन। 
कम्युनिस्ट साम्राज्यको जगै कमजोर थियो। देशभित्र नागरिकका स्वतन्त्रताको आकांक्षा दबाइएको थियो भने पूर्वी युरोपलगायत विभिन्न क्षेत्रका कम्युनिस्ट राष्ट्रहरूलाई पनि रुसी कम्युनिस्ट पार्टीको छत्रछायामा रहन बाध्य पारिएको थियो। युगोस्लाविया र चीनले पहिले विद्रोह गरे। तर, सन् १९८० को दशकको उत्तरार्धतिर भित्री र बाहिरी विद्रोहका कारण सोभियत साम्राज्यको पतन सुरुभयो। बर्लिन पर्खाल सोभियत साम्राज्यको फलामे संसारको पर्याय बनेको थियो। बर्लिनको पर्खालसँग सोभियत साम्राज्य ढल्यो। यथार्थमा सोभियत साम्राज्यको पतनको आगो अफगानिस्तानमा सैनिक हस्तक्षेपकै बेला सल्केको थियो। यही सैनिक हस्तक्षेपले भियतनाम युद्ध हारेपछि मूलतः शीतयुद्धमा केन्द्रित अमेरिकी पनि बिच्किए र इस्लामी लडाकुलाई उक्साउन थाले। तिनलाई हतियार दिए, तालिम दिए, पैसा दिए र सबैभन्दा बढी इस्लामी कट्टरपन्थी शासनको उद्दाम महत्वाकांक्षा जगाइदिए। त्यसको प्रतिफल कट्टरपन्थीहरूको महत्वाकांक्षामा बाधक बन्नेबित्तिकै सबैभन्दा बढी अमेरिकाले नै भोग्नुपर्योग। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको महत्वाकांक्षा र गौरवको प्रतीक मानिने न्यु योर्कस्थित 'टि्वन टावर’ मा आक्रमणका रूपमा प्रकट भयो। यस आक्रमणका बारेमा 'षड्यन्त्रको सिद्धान्त’लाई नमाने पनि कुनै न कुनै रूपमा इस्लामी कट्टरपन्थको महत्वाकांक्षा त अमेरिकी शासनले नै जगाएको हो। शीतयुद्धको समाप्तिपछि आफूलाई एक ध्रुवीय विश्वको अधिपति ठान्ने अमेरिका अहिले आफैँले रोपेको विषवृक्षबाट आक्रान्त भएको छ। 
शीतयुद्धको समाप्तिपछि लोकतन्त्रको दोस्रो लहर सुरु भयो। बर्माबाट सुरु भएको यही लहरमा नेपालीले पनि पहिलो जनआन्दोलन गरे। देशमा लोकतन्त्र स्थापित भयो। धेरैले भन्ने गरेका छन् बीपी भए कम्युनिस्टहरूसँग मिलेर संयुक्त आन्दोलन गर्ने थिएनन्। यसैले २०४६ सालको जनआन्दोलन बीपीको सिद्धान्तविपरीत थियो। यस्तै गणेशमान सिंहले बीपीको नीतिविपरीत संयुक्त जनआन्दोलनको नेतृत्व गरे। यस्तो ठान्नेहरूले राजनीतिलाई देशभित्र र बाहिरको परिस्थितिले प्रभावित गर्छ र तदनुरूप रणनीति अपनाइन्छ भन्ने नबुझेको भान हुन्छ। अफगानिस्तानमा रुसको सैनिक हस्तक्षेपबाट तर्सेका बीपी सिक्किम विलयबाट चिन्तित हुन पुगेका थिए। यसैले बीपी भारत र रुस समर्थकहरूसँग झस्केका थिए। गणेशमान सिंह कम्युनिस्टहरूको अझ मुखर आलोचक थिए। जनमत संग्रहपछि नेपाली कांग्रेसले राष्ट्रिय पञ्चायतका चुनाव बहिष्कार गर्यो । त्यति बेलाका गणेशमानमाथि पनि रुस समर्थकहरूले बीपीमाथि जत्तिकै आक्रमण गरेका थिए। बर्लिनको पर्खाल ढलेपछि बीपी बाँचेका भए सायद उनले पनि संयुक्त जनआन्दोलनकै नीति लिनेथिए। कारण, त्यति बेला बीपीले छेकेकै भए पनि नेपालमा लोकतन्त्रका लागि जनआन्दोलन हुन्थ्यो र सफल पनि हुन्थ्यो। कारण, यो महासमरकै प्रभाव थियो। एउटा पुतलीले पँखेटा चलाउँदा निस्कने हावाले आँधीबेहरी निकाल्नसक्छ भन्ने 'बटरफ्लाई इफेक्ट ’ सिद्धान्त सही सिद्ध हुँदै जो भएको छ। यसैले सन् १९८९ मा तियान आन मेनमा प्रदर्शनकारीमाथि ट्यांक कुदाउने चीनका कम्युनिस्ट शासकहरूले हङकङको 'छाता विप्लव'लाई सहेर बसेको हुनुपर्छ।
शीतयुद्धको रहलपहल लिएरै मानव जाति एक्काईसौं शताब्दीमा प्रवेश गरेको छ। एक्काईसौं शताब्दीको थालनीदेखि नै विज्ञान र प्रविधिमा भएको उन्नतिले संसारलाई साँगुरो बनाएको छ। पहिलो विश्वयुद्धपछि नेपाली साहित्यमा आधुनिक प्रवृत्ति भित्रिएको थियो। कुनै बेला अंग्रेजी साहित्यको प्रभाव बंगाली र हिन्दी साहित्यमार्फत् ग्रहण गर्ने नेपाली समाजमा अहिले बिस्तारै अन्तर्राष्ट्रियस्तरका अंग्रेजी लेखक देखा परेका छन्। घरबाहिरै ननिस्कने नेपाली नारीहरू संसारभर पुगेका छन्। नेपाली समाजमा आएको परिवर्तनमा विज्ञान र प्रविधिको मात्रै हैन मानवीय पक्षमा विस्तार भएको सम्बन्ध र सम्पर्कको पनि उत्तिकै प्रभाव छ। मुटु फेर्ने चिकित्सा विज्ञानको उपलब्धिबाट नेपाली समाज पनि लाभान्वित हुन थालेको छ। यस्तै, कतिपय गाउँका कुनामा बसेर पनि इन्टरनेटमार्फत ज्ञानको अथाह भण्डारमा सहज पहुँच सम्भव भएको छ। राजनीतिक नेताहरूले संकेत बुझेको देखिँदैन तर समाजमा सामन्ती प्रभाव र संस्कार निकै कमजोर भइसकेको छ। जाति, धर्म, क्षेत्रगत कट्टरता कमजोर हुने क्रममा छ भने वैयक्तिक स्वतन्त्रताको मोह र मूल्य बढ्दै गएको छ।

No comments:

Post a Comment