Tuesday, July 10, 2012

कांग्रेसको नियति












नेपाली समाजको प्रकृति र प्रवृत्ति यिनको टिप्पणीमा प्रतिध्वनित भएको छ। सबैभन्दा बढी गाली अहिले पनि धेरैले नेपाली कांग्रेसलाई नै गर्छन्। अहिलेका सबै बेथिति र विसंगतिको जिम्मेवार कांग्रेसलाई ठान्छन्। केही कतै सप्रेका पनि होला तर त्यसको जस चाहिँ दिँदैनन्। कांग्रेस सत्ताको नेतृत्वबाट हटेको चार वर्ष भइसक्यो तर आफूलाई संस्थापना ठान्ने र क्रान्तिकारी मान्ने दुवै थरीको पहिलो प्रहार कांग्रेसविरुद्ध नै हुन्छ। राजतन्त्र फर्काउनुपर्छ भन्नेहरू पनि कांग्रेसलाई नै तगारो ठान्छन्। राजालाई अब बोल्न पनि दिनुहुन्न भन्नेहरू पनि कांग्रेसलाई नै बाधक मान्छन्। अरू त अरू संविधान बन्न नसकेकोमा कांग्रेसलाई सबैभन्दा बढी दोष दिने माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत सरकारको नेतृत्व लिन कांग्रेसलाई आग्रह गर्छन्। के हो यो? कांग्रेस कस्तो शक्ति हो? यथास्थितिवादी हो कि परिवर्तनकारी? पार्टीको दस्ताबेजमा कांग्रेसलाई मुख्य शत्रु घोषणा गर्ने पुष्पकमल किन सुशील कोइरालालाई सरकारको नेतृत्व लिन उक्साइरहेका छन्? रामचन्द्र पौडेललाई मधेसी मोर्चाले समर्थन गर्ने सम्भावना भएका बेला समर्थन नगर्ने झलनाथ खनाल र नेकपा (एमाले)का नेताहरू किन अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भनिरहेका छन्? कांग्रेसले संक्रमणमा पर्ने चाप धान्न सक्छ भन्ने ठानेर हो कि? एमाले र माओवादीका नेताका तुलनामा कांग्रेसमा त्यागी भन्न मिल्ने नेता त धेरै छन् तर तिनमा विचार र व्यक्तित्वबाट जनतालाई आकर्षित गर्नसक्ने करिस्मा देखिँदैन। यस्तै कांग्रेसका नेता चतुरा पनि छैनन्। उता माओवादी, एमाले, मधेसी मोर्चाका नेता हेर्ने हो भने 'धूर्त' भन्न मिल्ने हदसम्म बाठा देखिन्छन्। अहिले एमाले वा माओवादीको नेतृत्व गर्नेहरू केटाकेटी छँदै सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरू राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका थिए। राजनीतिक बन्दीका रूपमा जेल गइसकेका थिए। कुलबहादुर गुरुङ वा भीमबहादुर तामाङ आफैँमा लोकतान्त्रिक आन्दोलनका इतिहास हुन्। यस्तै, निम्न मध्यमवर्गका गाउँले किसानमा कांग्रेसको समर्थन अझै बाँकी भए पनि तराईको जनाधार धेरै खुम्चेको छ। अब जनजातिमा पनि समर्थन घट्ला। पार्टीलाई बनाउने भीमबहादुर तामाङ, कुलबहादुर गुरुङहरूले नछाडे पनि पार्टीले बनाइदिएका जिप छिरिङ वा इन्द्रबहादुरहरूले छाड्न खुट्टा जो उचाल्दैछन्। युवा वर्गले भाग लिने कुनै पनि माध्यममा जुनसुकै विधि अपनाएर सर्वेक्षण गरे पनि कांग्रेस पार्टी र यसका नेताका पक्षमा सबैभन्दा कम समर्थन हुन्छ। तैपनि, किन कांग्रेसलाई अपरिहार्य शक्ति मानिएको हो? 
कांग्रेसमाथि सबैभन्दा चर्को आरोप परिवर्तन विरोधी र संस्थापनाको हित बढी हेरेको भन्ने लाग्ने गरेको छ। यस्तो आरोप लगाउने र कांग्रेसकै नेताहरूलाई पनि थाहा छ कि छैन कुन्नि त्यो वर्ग यस पार्टीको स्थापना कालदेखिकै विरोधी हो। कांग्रेसलाई तिनले सधैँ शत्रु ठान्ने गरेका छन्। अहिले त्यही वर्गमा केन्द्रित भएर कुनै सर्वेक्षण गर्ने हो भने कांग्रेसभन्दा माओवादीको बढी प्रभाव देखिनेछ। तैपनि, कांग्रेसका नेताहरूलाई धनी व्यापारी, जमिनदार, जर्नेल र सचिवहरूको भलाइको चिन्ता बढी नै लाग्छ। सत्तामा हुँदा र नहुँदा पनि कांग्रेसले निम्नमध्यम वर्गीय किसानको हितलाई २०१५ सालपछि प्राथमिकता दिएन। त्यसअघि भने कांग्रेसको नेतृत्वमा पहाड र तराई सबैतिर किसान आन्दोलन भएको थियो। पहिलो निर्वाचित सरकारले किसान हितकारी नीति अपनाएको थियो। कांग्रेसको मताधार अहिलेसम्म त्यही वर्ग हो। विडम्बना, कांग्रेसका नेतालाई वनस्पति घिउ निर्यात नभए चिन्ता लाग्छ तर ती किसानले पालेका गाईभैँसी रोग लागेर मर्दा वास्ता हुँदैन। तैपनि, तिनमा कताकता कांग्रेसप्रति भरोसा बाँकी नै देखिन्छ।
संसद्मा बजेट पेस गर्न नपाउँदा के गर्ने भन्ने प्रश्नको स्पष्ट उत्तर नेपालको अन्तरिम संविधान, २०६३ को धारा ९६ (क)ले दिएको छ। (अचम्म! संविधानअनुसार राष्ट्रपतिले दायाँबाया गर्न मिल्दैन भन्ने सरकारी पक्ष र संविधानअनुसार कालचलाउ सरकारले पूर्ण बजेट ल्याउन हुँदैन भन्ने विपक्ष दुवै संविधानको प्रावधान मिच्न राष्ट्रपतिलाई दबाब दिइरहेका छन्। थप विडम्बना, राष्ट्रपति स्वयं सहमतिमा मात्र पूर्ण बजेट ल्याऊ भनिरहेका छन्। संविधानको कुन धारामा राजनीतिक दलहरूको सहमति भए पूर्ण बजेट ल्याउने र नभए अपूर्ण बजेट ल्याउने भन्ने लेखिएको छ? ठूला भनिएका पार्टीका टाउके नेताको सहमति भए जे गरे पनि संवैधानिक हुन्छ? चार प्रमुख दल त के सबै जनताले सही गरेर दिए पनि संविधानमा नभएको काम असंवैधानिक हुन्छ। एक पटक संविधान मिचियो भने त्यसपछि राष्ट्रपतिले सके राष्ट्रपतिले प्रधानमन्त्रीले सके प्रधानमन्त्रीले सधैँ संविधान मिच्दै जानेछन्। संविधानको सीमामा नबसी शासन गर्ने स्वाद चाखेपछि तिनले संविधान सभा त के संसद्को पनि चुनाब हुन दिने छैनन्। राष्ट्रपतिलाई संविधानको रक्षा र पालन गर्ने दायित्व संविधानले नै दिएको छ। संविधानको मर्यादा रहेन भने राष्ट्रपतिको पनि शक्ति र वैधता समाप्त हुनेछ। यस्तै, विधिको शासनमा विश्वास गर्ने हो भने संविधानको अक्षर र भावना दुवैको मर्यादा राख्नुपर्छ।) यसैले, संविधान मिच्न नेपाली कांग्रेस सहमत हुनुहुँदैन थियो। संविधान नमान्ने हो भने त्यसलाई बदल्न आन्दोलन गरे हुन्छ। मान्ने हो भने त्यसको रक्षा गर्नुपर्छ। सत्ता पाइन्छ भने जे पनि गर्न तयार हुने प्रवृत्ति लोकतान्त्रिक होइन। कांग्रेसकै संस्कारसँग पनि मिल्दैन।
कांग्रेसका पाँच जना नेतालाई सोध्यो भने एउटै विषयमा पनि दस थरी राय दिन्छन्। कुन कुरा लोकतन्त्रको मूल्य र कांग्रेसको सिद्धान्तसँग मिल्छ, कुन मिल्दैन भनेर उनीहरूले कहिल्यै ख्याल गरेको देखिँदैन। अनुचित अडान राखेर संविधान बन्न नदिएको भनेर बदनाम गराइएका कांग्रेसका नेताको सैद्धान्तिक अडानै देखिँदैन। अघिल्लो दिन हुँदैन भन्छन् र भोलिपल्ट त्यही स्वीकार गर्छन्। तैपनि, नेपाली जनताले कांग्रेसलाई किन संकट मोचक ठानेका हुन्?
सिद्धान्तमा अडिए अहिल्यै नभए पनि कुनै न कुनै दिन जनताले सत्तामा फर्काउँछन्। सिद्धान्त छाडेर सत्तामा जान तयार हुने हो भने अहिले त के कहिल्यै पनि सत्ता नपाइने हुनसक्छ। बेलायतको आधुनिकीकरणको नेतृत्व गर्ने उदारवादीहरूले छ दशकपछि मात्र सत्तामा साझेदार गर्ने मौका पाए। भ्रष्ट र निकम्मा भनेर आलोचित मेक्सिकोमा लामो समय शासन गरेको पुरानो पार्टीलाई १० वर्षभित्रै जनताले सत्तामा फर्काए। यसैले नेपाली कांग्रेसका नेताहरूले जनभावना बुझ्ने र आफ्ना समर्थकहरूको हित हेर्ने हो भने सत्तामा गएर बदनाम हुन रहर नगरे हुन्छ। माओवादीको सर्त मानेर सत्तामा जानु आत्मघाती हुन पुग्नेछ। चुनावी सरकारको नेतृत्व कांग्रेसलाई गराएर धाँधलीको साक्षी राख्ने माओवादी चाल होइन भनेर कसरी पत्याउने? सरकारमा गए पनि कर्मचारीमा कांग्रेसको समर्थन खुकुलो भइसकेको छ। कम्युनिस्टहरूले कर्मचारीलाई समेत पार्टीको सदस्य बनाएका हुन्छन्। त्यस्ता कर्मचारीले असहयोगै गर्नेछन्। समाजमा पनि कांग्रेस समर्थकहरूको मनोबल गिरेको छ। मूलतः नैतिक कारणले गिरेको मनोबल उठाउन पार्टीका नेताले नैतिक शक्ति देखाउनुपर्छ। अघिल्लो निर्वाचनमा कांग्रेसले धाँधली हुँदा सहनुपरेको थियो। कांग्रेसले त निर्वाचनमा धाँधली नहुने अवस्था निर्माण गर्न पो ध्यान दिनुपर्छ। नेपाली कांग्रेस सत्ता भएन र निर्वाचनमा धाँधली भयो भने त्यस चुनावले वैधता गुमाउनेछ। (सत्तामा जो जो भए पनि धेरथोर धाँधली त हुन्छ हुन्छ!) कांग्रेसले सहयोग नगरे माओवादीले चुनाव गराउने आँटै गर्न सत्तै्कन। संविधान बनाउने जनताको अधिकारको रक्षा गर्न पनि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनु जरुरी छ। सिद्धान्ततः नेपाली कांग्रेसले सत्तामा जानभन्दा यसैमा जोड दिनुपर्ने हो। पहिलो संसदीय निर्वाचन गराउने बेलामा राजा महेन्द्रले माया गरेर कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिएका त हैनन् नि! अझै पनि नेताले बेलाको बोली बुझ्न र सिद्धान्तमा अडिन सके भने नेपाली राजनीतिको मियो त कांग्रेसै हो। सायद, ती समाजसेवी अग्रजले भन्न खोजेको पनि यही हो।

No comments:

Post a Comment