Tuesday, May 17, 2011

हरियो बंगाल

मता बनर्जी कम्युनिस्टहरूको सिन्डिकेट राज समाप्त पार्ने आलम्बन बनिन्। राम्रै भयो। नत्र, त्यो काम भारतीय जनता पार्टीका हातबाट हुनसक्थ्यो। त्यसो भएको भए कम्युनिस्टहरूले विरोध गर्ने बाटो पनि धेरै पाउँथे। ममता बंगाली प्रतिरोधको प्रतीक बनिन्। कम्युनिस्टहरू शासन पार्टीले गर्ने हो भन्ने ठान्छन्। कम्युनिस्ट पार्टीको एकलौटी शासन भएका मुलुकमा राज्य, सरकार, पार्टी र नेता लगभग समानार्थक हुनपुग्छन्। त्यसले पार्टीलाई कर्पोरेसन बनाइदिन्छ। लोकतन्त्रको मूल मर्म व्यक्तिको स्वतन्त्रता कम्युनिस्ट सिद्धान्तमा सबैभन्दा खराबविषय मानिन्छ। त्यसैले अधिनायकवादी आकांक्षाले शासनमा पुगेपछि कम्युनिस्ट पार्टी सिन्डिकेट बन्न पुग्छ। एकाधिकारवादी।
पश्चिम बंगालमा वाम मोर्चाका नामको सिन्डिकेट राज समाप्त भएको हो। भारतका कम्युनिस्ट पार्टीहरू समाप्त भएका होइनन्। अर्को निर्वाचनपछि भारतीय कम्युनिस्टहरू पुनः सत्तामा आउनसक्छन् तर सिन्डिकेट राज चलाउने लोभ भने नगर्लान् कि < हुन त यसै भन्न सकिन्न। सत्ता सुन्दरीले सधैँ मतिभ्रष्ट बनाइदिने गरेको जो देखिएको छ।
सन् १९७७ ताका बंगालका कम्युनिस्टहरूले चर्को दमन सहनु परेको थियो। नक्सलीहरूको हिंसात्मक विद्रोहको दमनका क्रममा अत्यन्त अमानवीय व्यवहार अरू कम्युनिस्टलाई पनि गरियो। बंगाली जनताले त्यसको बदला कांग्रेसलाई हराएर लिए। सत्तामा पुगेका कम्युनिस्टले प्रतिशोधको नियोजित राजनीति गरे। बितेका ३४ वर्षमा मार्क्सवादी सरकारले ७५ हजार बंगालीको ज्यान लिएको आरोप ममताले लगाएकी थिइन्। सिंगुर नरसंहार मार्क्सवादीका लागि एक सय आठौँ अपराध बन्न पुग्यो।
मार्क्स ठूला दार्शनिक थिए होलान् तर धेरै पुराना भइसके। मार्क्सवादको प्रयोगका नाममा संसारमा अरू सबै युद्धमा भन्दा पनि बढीको ज्यान लिइएको छ। तैपनि, संसारभर कहीँ पनि मार्क्सवादीको प्रयोगले असल नतिजा ल्याएको छैन। समानता कहीँ भएन र स्वतन्त्रता पनि कुनै मार्क्सवादी मुलुकमा देखिएन। मार्क्सवाद उदार लोकतन्त्रको प्रतिवादमा प्रतिपादन गरिएको सिद्धान्त हो। यसैले यो निषेधमा आधारित छ। निषेधको राजनीति कहिल्यै सफल भएको छैन। चीनमा धनी र गरिबका बीचमा बढेको असमानता तथा पूर्वी युरोपका जनताको जीवनस्तरमा भएको उन्नति हेर्नेबित्तिकै कम्युनिज्मको कमजोरी उदांगो हुन्छ। उत्तर र दक्षिण कोरियालाई दाँज्नै पर्दैन।
पश्चिम बंगालमा वाममोर्चा नामको सिन्डिकेट राज सुरु भएपछि शासनबाट मानवीय पक्ष गौण र यान्त्रिक हुँदै गएको थियो। पुँजीवादी वर्ग शत्रुलाई तह लगाउन मजदुरहरूलाई प्रयोग गरियो। तर, हडतालको अन्त्यमा सामान्य कामदारको समग्र अवस्थाको भने कहिल्यै ख्याल गरिएन। विफल सिद्धान्त र दर्शनको बोझ बोकेर हिँडिरहेपछि दौडमा पछि पर्नु स्वाभाविकै थियो। मार्क्सवादीहरूले कहिल्यै नबुझेको सत्य र शक्ति व्यक्ति हो। संसारमा व्यक्तिको अस्तित्वबाहेक अरू शास्वत छैन।
नयाँ पुस्ताका बंगाली मतदाताले सिद्धार्थ शंकर रायको शासन भोगेका थिएनन्। उनीहरूले सिंगुर देखे। नन्द्रीग्राम भोगे। ममताविरुद्ध कम्युनिस्ट नेताहरूले अत्यन्त छिचरो प्रचारवाजी गरे। दिदीविरुद्ध क्षुद्र टिप्पणी भद्रलोकका लागि सह्य भएन सायद। नन्द्रीग्राम र सिंगुरका घटनामा बंगाली कम्युनिस्टहरूले ग्लानि मान्नुपर्थ्यो तर दम्भ देखाए। भद्रलोकले सायद त्यो पनि रुचाएनन्।
अधिनायकवादीहरू जनतालाई पेवा ठान्छन्। आफ्ना चाहनालाई नै जनचाहनाको नाम दिन्छन्। जनतालाई मामुलीठानेर गरिने यस्तो व्यवहारले नै अन्ततः अधिनायकहरूको पतन हुने गरेको छ। नेपालका कुनै पनि राजनीतिक दलले व्यक्तिको महत्तालाई सम्मान गरेको देखिँदैन। बाबुराम भट्टराई मार्काको मार्क्सवादी पुँजीवाद वा रामशरण महत शैलीको बजारवादी पुँजीवाद दुवै भौतिक पक्षमा सीमित र केन्द्रित भएकाले दिगो हुन सत्तै्कनन्। व्यक्तिको बेवास्ता गर्ने सिद्धान्त सफल हुनसत्तै्कन। उद्योगीकरणका नाममा व्यक्तिलाई जमिनबाट टाढा बनाउँदा उसको जरा पनि उखेलिन्छ। यसैले औद्योगिक प्रगतिसँगै त्यहाँको समाज खोक्रो हुँदैगएको छ। उद्योगीकरणले व्यक्तिलाई जमिनबाट टाढा बनाउँछ। अर्थात्, जरा उखेल्छ व्यक्तिको। यसैले औद्योगिक समाजको प्रगतिले मानिसलाई झन् खोक्रो बनाउँदै लगेको छ। हावा, पानी र माटोप्रति गरिएको अत्याचारको प्रतिफल भोग्नुपर्ने दिन आएको छ। प्रगति भौतिक सम्पन्नतामात्र हैन। सुविधा जति बढे पनि सन्तोष भएन भने सार्थक हुँदैन। बंगालमा ममता सामु बेरोजगारी क मगर्ने ठूलो चुनौती छ। त्यसका लागि उनले किसानहरूलाई जमिनबाट बेदखल गर्न पनि सक्तिनन्। उनको मनै मान्ने छैन। नैतिक आधारमा पनि मिल्दैन। ममतालाई सघाउनेभन्दा घेर्ने पक्ष धेरै हुनसक्छन्। भनिन्छ, बंगालमा गरिबीको पीडा बढी नै छ। कुनैबेलाको सोनार बांग्लाको अवस्था अहिले बिहारभन्दा पनि निराशाजनक छ।
नन्दीग्रामलाई मार्क्सवादीहरूले प्रचारवाजी ठाने। तर, त्यही प्रचारले उनीहरूलाई सक्यो। अन्तिम समयसम्म पनि कम्युनिस्टहरूले सञ्चार माध्यमले पैसा खाएर प्रक्षेपण गरेको भन्दै बसे। सञ्चार माध्यम कम्युनिस्ट विरोधी नै भए होलान् तर त्यसलाई पनि उनीहरूले विश्वसनीय तरिकाले प्रस्तुत गर्नुपर्छ। साख गुम्यो भने बजार पनि गुम्छ। यसैले बजार जोगाउन पनि निजी क्षेत्रका सञ्चार माध्यमले साख बचाउनुपर्छ। कम्युनिस्टहरू भने प्रचारवाजीबाट जनतालाई सधैँ भ्रम पार्न सकिन्छ ठान्छन्। आधुनिक सञ्चार शास्त्रको यही गुह्य नबुझ्दा बंगाल हरियो भयो।
ममतामा बंगाली चरित्र छ। जुझारु, भावुक, प्रतिबद्ध, स्वप्नद्रष्टा र दुस्साहसी स्वभावले ममता बनर्जीलाई पूरै रोमान्टिक नायिका बनाएको छ। रोमाञ्च बंगालीहरूको जातीय प्रवृत्ति हो। सन् १९७० को अन्त्यतिरका कम्युनिस्टहरूमा पनि यी धेरै प्रवृत्ति थिए। यसैले त्यति बेला उनीहरू कांग्रेसीहरूलाई हराउन समर्थ भए। मा, माटी, मानुष ममताका मन्त्र रहे यस निर्वाचनमा। आमा सम्भवतः सबैभन्दा भावपूर्ण नाता हो। भौतिकवादीहरू भावुकतालाई मुर्ख्याइँ ठान्छन्। कम्युनिस्टको आदर्श परिवार हैन। परिवार मोह त बुर्जुवा चरित्रको लक्षण हो। यथा, बंगाल वा राष्ट्र पनि भावनात्मक विषय हो। बुर्जुवा प्रवृत्ति। माटोसँग त झन् कम्युनिस्टहरूको नातै पर्दैन। नत्र, नन्दीग्रामका किसानको जमिन मोहको अर्थ उनीहरूले पनि बुझ्ने थिए। माटो र मुटुको अटुट नातालाई उपेक्षा गर्नु कम्युनिस्टलगायतका कथित समाजवादीहरूको बालरोग हो। माटोको माया गर्ने हुनाले नै किसानहरूलाई मार्क्सले क्षुद्र बुर्जुवाका कोटीमा राखेका थिए। जमिन खोस्नैका लागि कम्युनिस्टहरूले लाखौँ किसानलाई मारेका छन्। जीवनका यी तीन सत्यलाई उपेक्षा गरेकैले संसारभर जस्तै पश्चिम बंगालमा पनि कम्युनिस्ट विरोधी लहर चल्यो। किसानलाई जति नै अगतिलो र थोरै भए पनि आफ्नो जमिनको माया लाग्छ। किसानले जमिनलाई आमा जो ठान्छ। यसैले जमिनका लागि ज्यान दिन तत्पर हुन्छ। ममताले यही भावनात्मक सम्बन्ध चिनिन् र त्यसलाई महत्व दिइन्। सत्यको सहारा लिएकाले उनको जित भयो।
कांग्रेस छाडेपछि मात्रै ममता कम्युनिस्टहरूसँग भिड्न सकिन्। नैतिक बल मिल्यो। साथै, उनलाई तर्जुबा कांग्रेसबाट पनि मुक्ति मिल्यो। ममताले बंगालका कांग्रेसहरूलाई तर्बुजा भन्ने गर्थिन्। बाहिरबाहिर हरियो भित्र रातो। रुससँगको सानिध्यले भारतीय कांग्रेसलाई बंगालमा रातो रंग सजिलै पच्यो। पछि त कांग्रेसले वाममोर्चाको बैसाखीमा सरकार पनि चलायो। सत्ता स्वार्थका लागि सिद्धान्तसँग सम्झौता गर्ने कांग्रेसको चरित्र ममतालाई मन परेन। अनि, उनले कांग्रेस चटक्कै छाडिन्। नेपाली कांग्रेसमा पनि बंगालका कांग्रेसीजस्तै तर्बुजा धेरै छन्। तिनले पार्टीलाई बिस्तारै समाप्त पार्दै लगेका छन् तर ममता बन्ने व्यक्तित्व भने सायद नजिकै कतै छैन।
सन् १९९८ मा कांग्रेस छाडेर ममताले अखिल भारतीय तृणमूल कांग्रेस बनाएकी थिइन्। साँच्चै नै उनको कांग्रेसले निकै चाँडै बंगालको मलिलो माटोमा जरा गाड्यो। केन्द्रमा पटकपटक मन्त्री हुने र छाड्ने गर्दा ममतालाई पद उति प्यारो रहेनछ भन्ने देखिइसकेको छ। ममताले प्रकृतिको रंग रोजेकी छन् हरियो। गुजारामूलक हरियो अर्थतन्त्रको विकास गर्ने हो भने असमानता कम हुन्छ। दिगो हुन्छ। प्रकृतिसँग नजिकै हुन्छ। विध्वंश र विनाश निम्तिदैन। हरियो अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएमा बंगालमा ममताको जरो गड्नेछ। नत्र, कम्युनिस्टहरूलाई पन्छाउने किसानहरूले दिदीलाई पनि सधैँ माया गर्ने छैनन्।
नेपालमा भारतको प्रभाव सधैँ धेरै पर्नेगरेको छ। भारतमा अंग्रेजहरू बलिया भएपछि नेपालको विस्तार रोकिएको थियो। भारतबाट अंग्रेज गएपछि नेपालमा राणा हटाउन सकियो। भारत र चीनबीच लडाइँ भयो। राजा रिझाउन भारतीय शासकले नेपाली कांग्रेसलाई सशस्त्र आन्दोलन गर्न दिएनन्। राजासँग भारतीय संस्थापनाको सम्बन्ध बिग्रिएपछिमात्र पञ्चायत हटाउने आन्दोलन सफल भयो। त्यसमा पनि बंगालको प्रभाव बढी नै पर्ने गरेको छ। चिनिया सांस्कृतिक क्रान्ति पनि भारत भएर नेपाल पसेको थियो। झापा विद्रोह छिमेकी नक्सलबाढीको प्रभाव थियो। अरू त अरू नेपालीमा अंग्रेजी साहित्यको प्रभाव पनि बंगाली हुँदै आएको हो। यसैले रातो बंगाल हरियो हुँदा नेपालका नीला पहेँलाले पनि अलि सन्चो माने होलान्। यद्यपि, ममताको सिको गर्नसक्ने नेपालमा कोही देखिएका छैनन्। त्यति आँट गर्न नैतिक बलको खाँचो जो पर्छ। जेहोस्। बंगालको चुनाव हार्दा कम्तीमा कामरेड सीताराम येचुरीहरूलाई अलि सुविधा होला कि? अब कमिसनको झगडा मिलाउन नेपाल आइरहने दुःख गर्नु नपर्ला कि?

No comments:

Post a Comment