नजाने गाउँको बाटो
गान्धीजीको राजनीतिक विचार जति चर्चा उनका अरू धारणाको भएन। अक्टोबर २, २००९ का दिन काठमाडौंमा भएको कार्यक्रममा पनि त्यस्तै भएछ। गान्धीजीका अरू विचार विशेषगरी त्यागको बाटो अहिले बढी सान्दर्भिक हुन पुगेको छ। अहिलेका ठूला समस्याहरू जलवायु परिवर्तन, आर्थिक मन्दी, शोषण, भेदभाव, हिंसात्मक विद्रोहहरूको शान्तिपूर्ण समाधान गान्धीले देखाएको बाटो पछ्याउने हो भने फेला पार्न सकिन्छ। गान्धीका विचार मूलतः गौतम बुद्ध र महावीरबाट प्रेरित छन्।
संसार जलवायु परिवर्तनबाट चिन्तित छ। पृथ्वीलाई तताउँदै लैजाने हरित गृह ग्यास र ओजोनको तहमा परेको प्वालको मूल कारक उपभोगवादी मानवीय जीवनशैली नै हो। धन थुपार्ने लोभ र शक्ति संचयको होडले नै अहिलेका यावत् समस्या उत्पन्न भएका हुन्। स्थिति यस्तै रहे केही वर्षभित्रै संसारका कतिपय सहरहरू समुद्रको गर्भमा विलिन हुनेछन्। नेपालकै कतिपय हिमताल फुटेर आएको पानी नदीले धान्न नसकेर विध्वंश मच्चिने छ।,
आर्थिक मन्दीलाई कम्युनिस्टहरूले उदारवादको विफलता पनि भने। उदारवाद र पुँजीवाद कम्युनिस्ट नेतालाई एउटै हो भन्ने लाग्दो होला। हुन पनि मान्छेलाई वर्गका घेरामा मात्र हेर्ने बानीले तिनलाई टाँगाको घोडा बनाएको छ। मन्दी उदारवादको हैन पुँजीवादको विफलता हो। राज्यले दायित्वबोध गर्ने बित्तिकै धेरै साम्य पनि भयो। तैपनि, यस्तो समस्या भोग र संग्रहलाई प्रोत्साहित गरुन्जेल आइरहन्छ। भोग र संग्रहको प्रोत्साहन नै यथार्थमा शोषण, भेदभाव र दुःखको कारक हो।
यस सन्दर्भमा गान्धीजीको एउटा उक्ति उद्धृत गर्न सकिन्छ - संसारका सबैको आवश्यकता पूरा गर्न पुग्छ तर लालच मेटाउन पुग्दैन। विलास र लालसका दासले भन्न सक्छन् धन र विलासी जीवन तिनको आवश्यकता हो। गान्धीजीको ‘आवश्यकता' र ‘ लालच'लाई महावीर र बुद्धको अर्थमा बुझ्नुपर्छ। आवश्यकता भनेको बाँच्नका लागि नभई नहुने गाँस, वास र कपास हो। लालच भनेको चाहिँ आफूलाई चाहिनेभन्दा बढीको संग्रह हो। महावीरले त आवश्यकताभन्दा बढी संग्रहलाई चोरीको कमाइसरह भनेका छन्। उपभोग र संग्रहलाई आवश्यकतामा सीमित गर्ने महावीरको उपदेश सबैले मान्ने हो भने हरित गृह ग्यास वा आर्थिक मन्दीको हाहाकार मच्चिने नै थिएन। संसारका सबैभन्दा ठूला प्रदूषकहरू अमेरिका, चीनलगायतका मुलुक पैसा र शक्तिका घमण्डमा अरूको देशका करोडौँ जनसंख्याको जीवन आधार नै समाप्त पार्दैछन्। तिनले मात्रै पनि धन र शक्तिको लोभ नियन्त्रण गर्ने हो भने मालद्विभ्सलगायतका मुलुकको अस्तित्व लोप हुने छैन। त्यति मात्र हैन महावीरको ‘अपरिग्रह'को बाटो अपनाउने हो भने धनी र गरिबबीचको फराकिलो खाडल पुरिएर अशान्ति र हिंसा पनि समाप्त हुनेछ। दुर्भाग्य, अमेरिका र चीन त घरेलु उपभोग बढाउन अनुदान पो दिइरहेका छन्। कम्युनिज्मका नाममा अधिनायकवादी शासन थोपरिएको चीनमा चरम पुँजीवादी शैलीको उपभोक्ता संस्कृति विस्तार गर्न सरकारै लागि परेको छ। चीन र भारतको उपभोग पनि अमेरिकाकै स्तरमा बढ्दा भूमण्डलमा पर्ने मार र भार सहन त हामीले पनि पर्छ।
लोभको सीमा हुँदैन। यसैले लोभलाई दुःखको बाटो भनिन्छ। भोग र तृष्णा त कहिल्यै सकिँदैन। भोग र तृष्णाको निर्देशनमा मान्छेले कुकर्म गर्छ। त्यही गलत कामले उसलाई दुःखी बनाउँछ। अनि व्यक्ति मानसिक, शारीरिक र सामाजिक सबै प्रकारका ‘पाप' गर्न थाल्छ। पाप भनेकै गर्न नहुने काम त हो। अरूको भाग खोसेर खानु पाप हो। अरूको पसिनामा मस्ती गर्नु पाप हो।
राज्यले व्यक्तिको सम्पत्ति खोसेर बाँडे समानता कायम गर्न सकिँदो रहेनछ। रुस र चीनमा त्यो परीक्षण विफल भइसक्यो। लोभ मान्छेभित्र छ। उसैलाई सहमत नगरी लोभ मेटाउन सकिँदैन। रुमानियाका कम्युनिस्ट शासक चाउचेस्कुले अरूको सम्पत्ति त खोसे तर आफ्नो चर्पीमा सुनको कमोट बनाए। माओ त्से तुङको विलासी जीवनका कथा धेरै प्रकाशमा आइसकेका छन्। नेपालकै कम्युनिस्ट नेताहरू यसका उदाहरण छन्।
नेपालका नेताले ‘अपरिग्रह'लाई सिद्धान्ततः अपनाइदिए नेपालीलाई भोक, रोग, अशिक्षा र कहाली लाग्दो गरिबीबाट उम्काउन सजिलै सकिन्छ। हाम्रो गुजारा चल्ने सबै थोक छ हामीसँग। नभएको त तदनुरूप व्यवहार गर्ने विवेक मात्रै हो। लोभ र पापले पुरिएर गान्धीको गुन गाउनु ‘पाखण्ड पुराण'हो। नेपालका ठूला राजनीतिक दलका शीर्ष नेता गान्धीजीका बाटामा लाग्दैनन् भन्ने स्पष्टै छ। नजाने गाउँको बाटो किन सोधेका होलान्?
No comments:
Post a Comment