Friday, September 11, 2009

सुजाताको राजीनामा

सुजाताको राजीनामा

smaller text tool iconmedium text tool iconlarger text tool icon


प्रधानमन्त्री माधवकुमार नेपालसँगै भारत भ्रमणमा नगएर परराष्ट्र मन्त्री सुजाता कोइरालाले आफूले त गाली खाइन् नै बाबु गिरिजाप्रसाद कोइरालालाई पनि गाली खुवाइन्। सुजाता भारत नजानुको कारण उपप्रधानमन्त्री नपाउनु हो भनेर प्रचार भएको छ। प्रधानमन्त्री नेपाललाई गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाउन भनेका थिए रे। नेपालले बनाउन नसक्ने जवाफ दिएपछि सुजाता रिसाएर भारत नगएकी हुन् रे। अहिलेसम्म साचार माध्यममा आएका कुरा यिनै हुन्। यही आधारमा सुजातालाई भक्कुमार गाली गरिएको छ। छोरीलाई बढी महत्वाकांक्षी बनाएको भनेर बाबु कोइरालाको झन् बढी आलोचना भएको छ।

नेपाली कांग्रेसको संसदीय दलले त लिखित स्पष्टीकरण मागेर सुजाताविरुद्ध कारबाही नै थालिसकेको छ। प्रधानमन्त्री नेपाल पनि आगो भएकै होलान्। उनलाई सबै कांग्रेससँग रिस उठेजस्तो छ। त्यसै भएर त सोनिया गान्धीसँग भेट्न कुनै कांग्रेस नलगेका होलान्। ऊर्जा मन्त्री प्रकाशशरण महतको दिल्लीमै मानमर्दन गराएका होलान्। जेहोस् निकै गम्भीर घटना भएको छ र यसको जिम्मेवारी त कसै न कसैले लिनैपर्छ। त्यसैले अब स्पष्टीकरण दिइरहनुभन्दा खुरुक्क राजीनामा दिनु सुजाताका लागि बेस हुने देखिन्छ।

सुजातालाई उपप्रधानमन्त्री बनाउन गिरिजाबाबुले माधवकुमार नेपाललाई भनेको जानकारी कसैले पनि सार्वजनिक रुपमा थाहा दिएको छैन। गिरिजाबाबुले साचार माध्यमलाई बताएका अवश्य पनि हैनन्। यतिका दिनपछि त हैन भन्दैछिन् भने सुजाताले पनि भनिनन् होला। त्यसपछि एउटै पात्र र स्रोत बाँकी रहे- माधवकुमार नेपाल। यो सूचनाबाहिर आउँदा फाइदा हुने त उनैलाई हो। सबैको सहानुभूति पाइने र भ्रमणका क्रममा भएका सबै कमजोरीको दोष सुजातालाई थोपर्न जो पाइयो। प्रधानमन्त्री माधवकुमार नेपाल गिरिजाबाबु र सुजातासँग रिसाएका रहेछन् भन्ने पनि यसले पुष्टि गर्छ। विदेश भ्रमणको साइत गर्नै लागेका बेलामा यसरी अत्तो थापेपछि रिस उठ्नु स्वाभाविकै पनि हो। भारत भ्रमणका बेला सुजाताले बाबुको आडमा दिएको धोका माधवकुमार नेपालमा मनमा तुस बनेर बस्ने भयो।

मन्त्रिपरिषद्का सदस्य सबै सामूहिक र व्यक्तिगतरुपमा प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन्। प्रधानमन्त्री सबैबाट ढुक्क हुनसक्नु पर्छ। प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्र मन्त्री सुजाता कोइरालाका हकमा भने विश्वासको वातावरण कायम रहने भएन। सुजाताका कुनै पनि प्रस्ताव स्वीकार गर्नुपूर्व नेपालले दुई पटक सोच्नुपर्ने भयो। यस्तो अवस्थामा सुजाताले प्रधानमन्त्रीको साथ र सहयोग पाउन सक्नेछैनन्। त्यसैले पनि राजीनामा दिनु नै उनको हितमा हुनेछ।

माधवकुमार नेपाल देखिए जति सोझा र सजिला छैनन्। उनले आपुना सुशीलचन्द्र अमात्यलाई सजिलै राजदूत बनाए तर सुजाताका सुरेश चालीसेलाई चिप्ल्याई दिए। माधव घिमिरेलाई मुख्य सचिव बनाए। सँगै बढुवा भएको भनिएका उमेश मैनालीलाई राजीनामा दिन बाध्य पारिदिए। थाहा नभएका यस्ता अरु पनि घटना हुनसक्छन्। सायद सुजाता भारत नजानुको कारण उनको बिरामी नभएजस्तै उपप्रधानमन्त्री नपाएको एउटै घटनामात्र पनि अवश्यै होइन। कांग्रेसको बुइमा बसेर कांग्रेसलाई नै सिध्याउने कपटी खेल र मन्त्रिपरिषद्भित्र वा बाहिर प्रधानमन्त्री नेपालले गरेका व्यवहार सबैको समष्टि अभिव्यक्ति पनि हो यो। हठी भए पनि सुजाता कपटी देखिएकी छैनन्। माधव नेपालका तिगडम बुभुन सक्तिनन् । अप्ठेरो पर्दा अरु कांग्रेसीले यसै उनलाई साथ दिने छैनन् । संसदीय दल त यसै उनको विपक्षमा छ। यसैले 'सानोबुबा'बाहेक टेक्ने डालो र समाउने हाँगो नभएकी सुजाताले राजीनामा दिनै बेस हुनेछ।

नेपाली कांग्रेसलाई उपप्रधानमन्त्री चाहिएकै छैन र माधव नेपालप्रति गुनासो हैन बरु पूरा समर्थन छ भनेर संसदीय दलले निर्णय नै गरेपछि अब सुजातालाई नेपालले झन् हेप्ने छन्। पार्टी निर्णयको सम्मान पनि गर्ने र थप अपमान पनि नसहने हो भने सुजाताले राजीनामा दिनुको विकल्प देखिँदैन। कांग्रेसको पार्टी र संसदीय नेताहरु सुशील कोइराला र रामचन्द्र पौडेल सुजातालाई सरकारबाट हटेको देख्न चाहन्छन्। कांग्रेसका यी ठूला माछा सुजातासँग बढी नै तर्साएका छन्। भारत भ्रमण त निहुँ मात्रै हो। गिरिजाबाबुको नाम सुजाताले नै बेच्न थालेपछि उनीहरुको 'कपी राइट' जो खोसिन गयो।

यस प्रकरणमा गिरिजाबाबु पनि तानिएका छन्। उनैको सहमा सुजाता प्रधानमन्त्रीको भ्रमणमा सामेल नभएकी हुन् भन्ने मानिएको छ। प्रधानमन्त्री नेपाललाई पनि गिरिजाबाबुको दबाब गह्रुंगै भएजस्तो छ। स्वयं कांग्रेसका सदस्यहरुले प्रकारान्तरले आपुना सभापतिलाई अर्घेलो साबित गर्ने निर्णय गरेका छन्। यति भइसकेपछि ल त! अब तिमीहरु नै नेतृत्व समाल भनिदिए हुन्न सुजाता आपुना बुतामा राजनीतिमा अडिइन् र अगाडि बढ्न सकिन् भने सकिन् । सकिनन् नै भने पनि अब गिरिजाबाबुलाई पाप लाग्दैन गाल पर्दैन।

सरकार बनाउन बहुमत जुटाइदिनु पर्ने संसद् चलाउन प्रतिपक्षीसँग वार्ता पनि गरिदिनु पर्ने विदेशीका अगाडि जिम्मा लिइदिन पनि पर्ने अनि ती सबै गरिदिएबापत जसलाई नाफा हुन्छ उनैबाट उल्टो बदख्वाइँ सहनुपर्ने! सुजाता हटेपछि कम्तीमा यो बिनापिँधको सरकार थेग्ने दुःख त गर्नु परोइन।

मुलुकको सबै समस्याको जड यिनै कोइराला बाबु छोरी हुन् भन्ने ठम्याइको परीक्षणका लागि गिरिजाबाबु सबै झमेलाबाट पन्छी दिनुपर्छ। पार्टी महाधिवेशन नपर्खीकनै अवकाश लिए हुन्छ। विश्राम लिन कुनै शिखण्डीको वाण नै किन पर्खने ?

No comments:

Post a Comment