Saturday, January 24, 2009

अब कहिल्यै भेट हुँदैन!

पञ्चायतमा प्रभावशाली भएका बेलामा पनि श्रीभद्र शर्माको प्रजातन्त्रप्रतिको निष्ठा कमजोर भएको थिएन।

श्रीभद्र शर्मा ´नामअनुसारको स्वभाव भएका नेता´ धेरैले यसै भन्थे। हुन पनि मैले उनलाई अभद्र भएको देखिन, सुनिन। राजनीतिमा भद्रता अलि नसुहाउने गुण हो सायद। तैपनि श्रीभद्रजीले नामको अर्थ धाने। राणा शासनविरुद्ध २००४ सालमा ´जयतु संस्कृतम्´ आन्दोलनको नेतृत्व गरेर नेपालको राजनीतिमा उदाएका शर्मा ८३ हिउँद पार गरेर अस्ताए। उनको ६० वर्ष बढीको सार्वजनिक जीवन बेदाग रह्यो।
संस्कृतमा शास्त्री पढ्दै गर्दा शर्मा र उनका साथीहरू राजनीतिमा होमिएका थिए। ´जयतु संस्कृतम्´ले विद्यार्थीका माग अगाडि सारेर थालिएको भए पनि राजनीतिक रूप लिएको थियो। र डिठ्ठाका छोरा श्रीभद्रले कविराज रामप्रसाद खनालको बाटो समाते।
दोस्रो विश्वयुद्धले नेपालीको पनि आँखा खोलेको थियो। नागरिक हकको चेतना बढ्दै थियो। राजनीति सोझै नगरेर चेतनशील नागरिक सामाजिक क्रान्तिमा लागेका थिए। तनहुँमा कविराज खनालको नेतृत्त्वमा ´बाहुनले हलो जोतेर´ परम्परालाई प्रकारान्तर राणाहरूको जहानिया शासनलाई चुनौती दिइएको थियो। यहि बेलातिर बनारसका विद्यार्थीहरू संगठित हुँदै थिए र काठमाडौंमा त्यसले हलचल मच्चाएको थियो। राणा शासकले डाँडा कटाएपछि काशी पुगेका शर्मा राष्ट्रिय कांग्रेसको सम्पर्कमा पुगेका थिए। अनि थालिएको थियो उनको अविरल राजनीतिक जीवन।
तनहुँसुरमा एउटा चौतारो छ। त्यसमा एउटा फराकिलो ढुंगा छ। कुनै बेलाका राजाले त्यसमा बसेर निसाफ गर्थे रे। त्यसैले मानिसहरू त्यो ढुंगामा बस्दैनथे। राजा बस्ने ठाउँमा जनताका छोरा बस्न हुन्छ भन्ने जनतालाई देखाउन श्रीभद्र शर्मा त्यसमा बसे। बनारसबाट सोझै बन्दिपुर पुगेर कांग्रेसको संगठनमा सक्रिय भएका शर्माले २००७ सालको क्रान्तिमा गण्डक क्षेत्रको नेतृत्त्व गरेका थिए। तनहुँमा बनेको जनसरकारमा २५ वर्षमा उनी गभर्नर भएका थिए।
राष्ट्रिय र प्रजातान्त्रिक कांग्रेस एक भएर नेपाली कांग्रेस बन्ने बेलामा श्रीभद्र शर्मा राष्ट्रिय नेता भइसकेका थिए। उनी नेपाली कांग्रेसका संस्थापक सदस्य थिए। त्यसपछि थालिएको उनको सक्रिय राजनीतिक यात्रा र प्रगति निरन्तर रह्यो २०१७ सालसम्म। उनी २०१५ सालको चुनावमा प्रतिनिधिसभामा चुनिए। मन लागेर पनि उनलाई मन्त्री बनाउन नपाएपछि बीपीले पार्टीको महामन्त्री बनाए। राजाले प्रजातन्त्र खोसेपछि श्रीभद्रजी पनि पक्राउ परे र ६ वर्ष जेल बसे।
जेलबाट छुटेपछि बिस्तारै कांग्रेसको आधिकारिक लाइनसँग उनको असहमति सुरु भयो। यद्यपि, श्रीभद्रजी सुवर्ण शमशेरको दूतका रूपमा सहमतिबाट नै पञ्चायतमा गएका हुन्। गजेन्द्रनारायण सिंह र श्रीभद्र शर्माका बीचको निकट सम्बन्धमा सुवर्णजीको लाइन प्रतिविम्बित थियो। मन्त्री भएका बेला सुवर्ण शमशेरको अस्तु लिन विमानस्थलमा गएको घटनालाई पञ्चहरूले चर्को विवादको विषय बनाए। राजा वीरेन्द्रले मन पराएको र कीर्तिनिधि विष्टले विश्वास गरेकाले मात्रै उनी त्यति बेला जोगिएका थीए।
वीरेन्द्र राजा भएपछि श्रीभद्रजीको पञ्चायतसँगको आधिकारिक सम्बन्ध कायम भयो - संविधान सुधार सुझाव आयोगको सदस्यका रूपमा। त्यसपछि उनी राष्ट्रिय पञ्चायतका सदस्य र मन्त्री बनाइए। उनी मन्त्री भएकै बेला कांग्रेसबाट पुराना नेताहरूको एउटा समूह फुट्यो र ३८ से समूह बन्यो बखानसिंह गुरुङको नेतृत्त्वमा। बखान बा भने श्रीभद्रजीलाई ´मेरो नेता´ भन्थे। २०३६ पछि २ पटक राष्ट्रिय पञ्चायतका सदस्य निर्वाचित भए पनि पञ्चायतसँगको उनको नाता २०३६ को आन्दोलनपछि टुटेको थियो। आन्दोलन उत्कर्षमा पुग्दा श्रीभद्रजी मन्त्री थिए। जनमत संग्रहको घोषणापछि उनले राजालाई ´सोझै बहुदल´ दिन आग्रह गरे। राजाले नमानेपछि राष्ट्रिय पञ्चायतको सदस्य पदबाट राजिनामा दिए। दरबार उनीसँग रिसायो। सूर्यबहादुर थापालाई महाभियोग लगाउने बेला उनी लोकेन्द्र खेमामा थिए। जनआन्दोलनताका श्रीभद्रजी राष्ट्रिय पञ्चायतका सदस्य थिए। आन्दोलनको दमनको विरोध गर्ने समूहको उनले नेतृत्त्व र संयोजन गरेका थिए। जनआन्दोलनपछि उनको राजनीतिक सक्रियता बिस्तारै घट‍्दै गयो। नेपाली कांग्रेससँगको मोहका कारण पार्टी फर्के। तनहुँ -१ बाट महासमितिमा निर्वाचित पनि भए तर सक्रिय भएनन्। कांग्रेसका नेतालाई उनको साखको दोहन गर्नु थियो भने उनलाई अन्तिम अवस्थामा घर पर्कनु थियो। दुबैको स्वार्थ पूरा भयो। उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुर्‍याएर चारतारे झन्डा ओडाएर यसको पटाक्षेप गरिएको छ।
श्रीभद्रजी कुशल लेखक र वक्ता पनि हुन्। धाराप्रवाह बोल्दा पनि उनको वाक्य अशुद्ध र अपूर्ण हुँदैनथ्यो। उनले बोलेको टिप्न सक्ने हो भने जस्ताको तस्तै छापे हुन्थ्यो। राजविराजमा राजा वीरेन्द्रका सामु उनले गरेको भाषण त्यति बेला अत्यन्त चर्चित भएको थियो। राजारानी दुबै प्रभावित भएर उनलाई घनकुटा शिविरमा फर्कदासँगै लिएर गएपछि श्रीभद्रजी पञ्चहरूको ईर्ष्याका पात्र नै बनेका थिए। वीरेन्द्रले श्रीभद्रजस्तो प्रधानमन्त्री हुनुपर्छसम्म भनेका थिए रे।

बीपीको निर्वासनमा जाने र सशस्त्र आन्दोलन गर्ने नीतिलाई उनले कहिल्यै समर्थन गरेनन्। पार्टीसँग टाडिंदै जानुको मूल कारण सैद्धान्तिक मतभेद नै थियो तर धेरैले सुविधा खोज्न श्रीभद्रजी पञ्चायतमा गएको आरोप लगाए। जेलबाटै छुटपछि श्रीभद्रजी पहिले तनहुँसुर र पछि नारायणगढमा बसे। बन्दिपुरेहरूले उनलाई असाध्यै माया गर्थे। उनको पनि बन्दिपुरका प्रति अगाध स्नेह थियो। त्यही क्रममा उनले नारायणगढमा स्कुल र कलेजमा पढाए पनि। श्रीभद्रजीको जीवन शैली सरल थियो। उनलाई पैसा कमाउनै पर्छ भनेर बाध्य उनकी श्रीमतीले पनि पारेकी थिइनन्। काठमाडौंमा जन्मेहुर्केर पनि श्रीमती प्रभा शर्मा खनालले तनहुँसुरमा खेतीपाती गरिन्। दु:ख सहिन्। चितवनमा दु:ख काटिन्। धेरै नारीको जस्तै उनको पनि बलिदान र सङ्घर्ष ओझेलमा परेकोछ। यसैले पैसाका लागि श्रीभद्रजी पञ्चायत प्रवेश गरेका थिएनन्। यद्यपि, पञ्चायत प्रवेशपछि उनको गृहस्थी अलि सजिलोसँग चलेको थियो।
कांग्रेसका एक जना नेता कृष्णप्रसाद न्यौपाने श्रीभद्रजीलाई ´सरस्वति पुत्र´ भन्थे। हुनपनि भाषामा उनको विलक्षण दखल थियो। २००४ सालमा शास्त्री पहिलो खण्डको परीक्षा दिएपछि टुटेको औपचारिक शिक्षाको शृंखला उनले २०२३ सालमा जेलबाट शास्त्रीको दोस्रो खण्डको परीक्षा दिएर जोडेका थिए। पुसको जाडोमा उत्तर लेख्दा कठांग्रिउका हात सेकाउन आफूले मकलमा आगो सल्काएर दिएको न्यौपानेले मलाई सगर्व सुनाएका थिए। उनले नेपालीमा एमए गरे। भाषा विज्ञान र त्यसमा पनि शब्दको व्युपत्ति केलाउन उनी रमाउँथे। त्यसोत श्रीभद्रजी कुशल लेखक र वक्ता पनि हुन्। धाराप्रवाह बोल्दा पनि उनको वाक्य अशुद्ध र अपूर्ण हुँदैनथ्यो। उनले बोलेको टिप्न सक्ने हो भने जस्ताको तस्तै छापे हुन्थ्यो। राजविराजमा राजा वीरेन्द्रका सामु उनले गरेको भाषण त्यति बेला निकै चर्चित भएको थियो। राजारानी दुबै प्रभावित भएर उनलाई घनकुटा शिविरमा फर्कदासँगै लिएर गएपछि श्रीभद्रजी पञ्चहरूको ईर्ष्याका पात्र नै बनेका थिए। वीरेन्द्रले श्रीभद्रजस्तो प्रधानमन्त्री हुनुपर्छसम्म भनेका थिए रे। नियतिलाई मञ्जुर रहेनछ। त्यो दिन आएन। विचार र व्यवहार दुबैमा श्रीभद्रजी कट्टर ´प्रजातन्त्रवादी´ थिए। पञ्चायतमा निकै प्रभावशाली हैसियत बनाउन सकेका बेलामा पनि उनको प्रजातन्त्रप्रतिको निष्ठा कमजोर भएको थिएन।
नेपाली र संस्कृतका त उनी विद्वान नै थिए। अंग्रेजीमा पनि उनी पारङ्गत थिए।
उनी मेरा बाबाभन्दा पनि जेठा। बाबा उनका कार्यकर्ता। म उनको पीए। तैपनि कहिल्यै तिमी भनेनन्। काम बिराउँदा पनि बिझ्ने गाली गरेनन्। उनलाई सहनैनसक्ने ´माइग्रेन´ले साता पन्ध्र बिराएर सताउँथ्यो। टाउको दुखेपछि बोल्न पनि सक्तैन थिए। कडा ´पेन किलर´ खानुपर्थ्यो। माइग्रेन भएका बेलामा भने बोल्नु पर्दा झर्कन्थे। अरू बेला नामको इज्जत फालेको मैले कहिल्यै थाहा पाइन।
खाने र हिंड्ने उनको शैली पनि उदाहरणीय नै थियो। सादा खाना भए पुग्थ्यो। पछि शाकाहरी भएका थिए। खानेकुरा कहिल्यै खेर फाल्दैन थिए। पाहुना हुन जाँदा सकेसम्म घरबेटीलाई दु:ख नहोस् भन्ने ख्याल राख्ने। खाएको थाल सफा सिनित्त पार्थे। भाँडा माझ्नेलाई घीन पटक्कै नलाग्ने बनाउने। मीठो मानेर खाने। अनि बिदा हुने बेलामा पकाएर खुवाउनेलाई मीठो खुवाएकोमा धन्यवाद भन्न नछुटाउने।
श्रीभद्रजी हिंड्न पटक्कै कायस मान्दैन थिए। उनी तनहुँको गाउँगाउँमा पुग्थे। उनलाई बाटोको पनि राम्रो हेक्का रहन्थ्यो। सम्झना शक्ति उस्तै। भेटेका धेरैको नामै सम्झने। कार्यकर्तालाई चिठी लेख्न अल्छी नगर्ने। उनको चिठी प्रिय साथीको सम्बोधनबाट सुरु हुन्थ्यो। कांग्रेसी शैली थियो त्यो।
नयाँ पुस्तासँग घुलमिल हुने र उनीहरूको मन छाम्न सीपालु थिए श्रीभद्रजी। नयाँ सिक्न पनि सधैं तत्पर। आडम्बर र अहंले उनको बाटो छेक्न सकेन। लगभग ६० वर्षको उमेरमा श्रीभद्रजीले मोटर हाँक्न सिकेका थिए। कम्प्युटर सिकेका थिए।
पछिल्लो भेटमा श्रीभद्रजी भनेका थिए - खै गोविन्दजीसँग त अचेल भेटघाट नै हुँदैन। मैले भेट भइरहोस् भन्ने उनको भद्र सन्देश मैले बुझे पनि खिस्स हाँसेर आफ्नो लाचारी लुकाएको। तैपनि भेट्ने क्रम बढाउन सकिन। अन्तिम समयमा भेट्न पाइन। अब कहिल्यै भेट हुँदैन। आर्यघाटबाट पर्कंदै गर्दा मनमा कहिल्यै भेट नहुने खुट्को खेलिरह्यो।
श्रीभद्रजी! मेरा गुरु, मेरा ´मेन्टर´ लाई हार्दिक श्रद्धाञ्जली।

No comments:

Post a Comment