Sunday, December 14, 2008

जंगबहादुर बन्ने रहरमा


 
जंगबहादुर बन्ने रहरमा 
  
 
गोरखपुर पुगेको तन्देरीले लाहुरे हुने लोभमा गल्लाको आदेशमा लरक्क लर्केको जुल्फी कटाए पनि भर्ती भने हुन पाएनछ। सँगिनीहरू हुरुक्क हुने जुल्फी कटाउन परेकोमा थकथकी मान्दै गल्लालाई सुनाएर उसले भनेछ – कि त मलाई भरती गर, कि त मेरो जुलफी तयार। जुल्फी फाल्दा पनि लाहुरे हुन नपाएको तन्देरीले जस्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि घुर्की लगाउन थालेका छन् – 'सरकार सञ्चालनमा गिरिजाबाबुको पूर्ण सहयोगको अपेक्षा मैले गरेको छु। त्यो सहयोग उहाँले दिनुभएन भने अन्तिम विकल्पको रूपमा सरकार छाडेर संघर्षमा जाने पार्टीले अनौपचारिक निर्णय गरिसकेको छ।'   
मौका पाउने बित्तिकै एकैसाथ जंगबहादुर र गौतम बुद्ध बन्ने दाहालको रहर थियो। बुद्ध बन्न सजिलो हुँदैन। घाइते हाँसलाई मलम लगाउने मनले मात्र व्यक्तिलाई बुद्ध बन्ने बाटोमा डोर्‍याउँछ। 'राजनीतिमा हिंसाको स्थान नहुने कुरा पाखण्डीपन र झुट हो।' भन्ने विश्वास साँचेर बाँचेका पुष्पकमल दाहालले आफू बुद्ध बन्न नसक्ने ब्रह्मज्ञान पाए होलान्। अनि मनभित्र लुकेर बसेको प्रवृत्ति मिल्दो आफ्नो नायक जंगबहादुर बन्ने रहरले उनलाई हौस्यायो। उति बेला त कोतमा भारदार काटेको सयदिनभित्र जंगबहादुर निकै शक्तिशाली भइसकेका थिए। जंगबहादुरले भन्दा लगभग सय गुणा धेरै मानिस मारेर सत्तामा पुग्दा पनि 'एकछत्र' हैकम चलाउने बाटोमा भाँजो र तगारो कायमै रहेपछि दाहालको मन यसरी भाँचिनु अस्वाभाविक होइन। बनबाट ल्याएर सिंहासनमा विराजमान हुने बेलासम्म मुसालाई बाघ बनाउने ऋषिले जसरी नै गिरिजाबाबुले 'पुनः मुसिको भव' पनि दोहोर्‍याउने डरले दाहालालाई धुर्की, धम्की र दम्भको पोको बनाएको हुन सक्तछ।  
मनोविज्ञानअनुसार 'भग्नमनोरथ' व्यक्तिमा हीनताग्रन्थीले जन्म लिन्छ र उच्चताग्रन्थीको रूप लिएर प्रकट हुन्छ। सायद प्रचण्डको सत्ता छाड्ने घुर्की, संघर्ष गर्ने घम्की र हिंसाको औचित्य साबित गर्ने हठ सायद भग्नमनोरथ नायकको हीनताबोधको अभिव्यक्ति हो। हो भने उनी मनोरोगी हुन्। उनलाई सहानुभूति र विरेचन चिकित्साको खाँचो हुन्छ। भरतमोहन अधिकारीले जसरी हप्काउने, नेपाली कांग्रेसका नेताहरूले जस्तो धम्क्याउने र प्रदीप ज्ञवालीले जसरी 'हिंसा कहिले पनि लोकतान्त्रिक शक्तिको छनोट या सिद्धान्त बन्न सक्दैन।' भनेर छेड हान्नु उचित हुँदैन। 
निरंकुश राजाले जस्तै हुकुम र हैकम चलाउने रहरले ' प्रचण्ड' बनेर बन पसेका पुष्पकमल दाहाललाई पनि शासन सञ्चालनमा नियम र प्रक्रियाको बन्धनमा बाँधिन परेकाले थकथकी लागेजस्तो छ। दाहाललाई लागेको छ उनलाई असरुल बनाउन स्वदेशी र विदेशी मिलेर षड्यन्त्र गर्दैछन्। घेराबन्दीमा परेको आशंकाले उनमा ओथेलोकोजस्तो विषालु इर्ष्या जागेको छ। जंगबहादुर बन्ने रहरले दाहाललाई सेक्सपियरको त्रासदी नाटकका दुई पात्र प्रवृत्ति ओथेलो र म्याक्वेथ बनाउने बाटोमा हिंडाएको देखियो। त्रासदीका नायकहरूलेजस्तै दाहालले पनि आफू ओथेलो र म्याक्वेथ बन्न पुगेको थाहा पाउँदा बेला बितिसकेको हुन्छ होला। त्यति बेला उनका लागि 'म त तेस्तो हैन दाइ, पिरतीले जोगी बनायो।' भन्नुबाहेक अरू विकल्प बाँकी नरहन सक्तछ। कठै !
अधिनायक हुँदै खलनायक 
राजनीति गर्ने धेरैले निरंकुश शासक बन्ने रहर गरेको र पतनको भएको देखिएको छ। कतिपय क्रान्ति नायकहरू अधिनायक र पछि खलनायक बन्न पुगेका छन्। शक्तिको मात लागेको नायकलाई महत्वाकांक्षाले अधिनायक बनाउँछ र दुनियाँका आँखामा  खलनायक बन्न पुग्छन्। रबर्ट मुगाबे यसका ज्वलन्त उदाहरण हुन्। पुष्पकमल दाहाललाई पनि नियतिले तेतै डोर्‍याउन खोजेको हो कि जस्तो छ।  
अधिनायक हुने आकांक्षा भएकाहरू शक्तिको बलमा शासन गर्न सकिन्छ भन्ने भ्रममा हुन्छन्। उनीहरूमा आफू नै अन्तिम सत्य भएको भान पर्छ। अधिनायकवादीहरू अभीष्ट पूरा हुने हो भने साधनजस्तो अपनाए पनि हुन्छ भन्ने ठान्छन्। दाहालले राजनीतिक सत्ता कब्जा गर्न बन्दुकको, हिंसाको र बल प्रयोगको औचित्य साबित गर्न खोज्नु सम्भवतः विद्रोह गर्दाको धङधङी मात्र होइन। बरु त्यो उनको मनको अन्तरमा बसेको अधिनायकवादी आकांक्षाले बोली पाएको हो। नभए त निर्वाचनबाट सत्तामा पुगेको प्रधानमन्त्री हिंसाको पक्षमा उभिनु नपर्ने हो। हिंसाका पक्षमा दाहालको अभिव्यक्ति अर्धसचेत मनबाट निर्देशित भएको पनि हुनसक्तछ तर मुलुकका प्रधानमन्त्रीले नै त्यसरी हिंसाको पैरवी गर्न थालेपछि विधिको शासन बिचरा हुनुबाहेक अरू के हुन सक्छ र?  
खतरामा राष्ट्रियता कि महत्वाकांक्षा?  
अरू पनि अधिनायकवादी लक्षण दाहालमा देखा पर्न थालेका छन्। अहिले उनले राष्ट्रियता खतरामा परेको र विदेशीहरूको चलखेल बढेको हौवा बढी नै चलाएका छन्। माओवादी सत्तामा गएपछि विदेशीहरूको चाख बढेको अवश्य हो तर त्यत्तिकैका भरमा हस्तक्षेप भइहाल्छ वा चीनका राजदूतले भनेको जस्तो सार्वभौमसत्ता नै खतरामा पर्छ त? माओवादीको उर्बौलो शैलीले कूटनीतिक मर्यादा र परम्परा नाघेको देखिएको छ। चीनकासैनिक सहचारीको निम्तोमा रक्षा मन्त्री सुटुक्क खासा पुग्नेजस्ता कूटनीतिक मर्यादाविपरीतका काम माओवादीबाट भएकाछन्। तैपनि आजको संसारमा यत्तिकैका भरमा राष्ट्रियता संकटमा पर्दैन। मुगावेको उदाहरण फेरि पनि। मुगावेले पनि दमनकारी शासनको औचित्य साबित गर्न विदेशी हस्तक्षेपको बहाना बनाउँदै आएका छन्। टाडा किन जानु विसं २०१७ मा जनताले चुनेका प्रतिनिधिका हातबाट सेनाका बलमा सत्ता खोस्दा राजा महेन्द्रले पनि राष्ट्रियता गुम्न लाग्यो भनेर तर्साएका थिए। ज्ञानेन्द्रले त राष्ट्रियतामाथि 'प्रजातन्त्र' जोगाउनका लागि भनेर शासनको भार आफैंले ग्रहण गरेका थिए। अधिनायकहरू राष्ट्रियता माटोमा देख्छन्। राष्ट्रियता त माटोमा नभएर मान्छेमा पो हुन्छ। नागरिकहरूले आफ्नो ठानेको राष्ट्रलाई कसैले कोट्याउन सत्तै्कन भने नागरिकका लागि बिरानो हुन पुगेको राज्यलाई जोगाउन पनि कसैले सत्तै्कन। यसैले अहिले दाहाल र उनका साथीहरूले चलाएको राष्ट्रियता संकटमा भएको  हौवामा तिनको अधिनायकवादी मनसायको गन्ध आएको छ।  
मुम्बईको बम काण्डपछि भारत सरकारको रवैयाप्रति टिप्पणी गर्दै प्रसिद्ध लेखिका अरुन्धती रायले गार्जियनमा लेखेको जस्तै – आफूभित्रका त्रुटिहरू नकेलाई अरूलाई दोष दिनु कायरता मात्रै हो। 
र अन्त्यमा 
नेपालको राष्ट्रियता प्रति चीन अहिले निकै संवेदनशील देखिन थालेको छ। निरंकुश राजाको शासनविरुद्ध आन्दोलित जनताका छोराछोरीलाई 'केही उपद्र्याहाहरू' भन्ने र संसारका सबैले एक्ल्याएका बेलामा राजालाई हतियार दिएर काँध थाप्ने यिनै चिनियाहरू होइनन्? नेपाली जनताको सार्वभौमसत्ता त तेति बेला पो खोसिएको थियो। चिनिया राजदूत गो हङका कुरा सुन्दा उनीहरू नै खतरा उत्पन्न गर्ने खेलम त लागेका छैनन् भन्ने शंका लागेको छ। चीन, कम्युनिस्टहरू र तिब्बतको इतिहासका बारेमा धेरथोर जान्नेहरू सबैलाई यस्तै शंका लाग्छ होला। राजदूत गो हङका कुराले गाउँमा चील आयो भनेर हल्ला गर्ने र गाउँलेहरूले आकाश तिर हेरेको बेला चल्ला टिपेर टाप कस्ने छट्टु स्यालको कथा सम्झना हुन्छ। नेपालको सार्वभौमसत्ता जोगाउन नेपाली नै सक्षम छन्। हिन्दी–चीनी भाइहरूले टाडैबाट माया गरे हुन्छ। कि कसो?  
 
 
साभार : www.dainikee.com

No comments:

Post a Comment