Monday, December 8, 2008

गोयबल्सका चेलाहरू क्षमा माग !

गोयबल्सका चेलाहरू क्षमा माग ! 
 
सरकारले अमेरिका, भारत र थाइल्यान्डका राजदूतहरूलाई फिर्ता बोलाएको छ। ती सबै राजदूतहरू क्रमशः 

सुरेशराज चालीसे, दुर्गेशमान सिंह र नवीनप्रकाश जंग शाह अघिल्लो सरकारको कार्यकालमा नियुक्त भएका 

हुन्। सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति पाएका  राजदूतहरू परिवर्तन गर्ने चलन नेपालमा पुरानै हो। 

यसैले नेपाली कांग्रेसको नेतृत्वको सरकारले नियुक्त गरेको राजदूतहरूलाई नेपाल कम्युनिस्ट पार्टी 

(माओवादी)को नेतृत्वको सरकारले फिर्ता बोलाउनु अस्वाभाविक होइन।  
अहिले चालीसे, सिंह र शाहलाई फिर्ता बोलाउँदा भने सरकारले अलिकति अर्घेल्याइँ गरेको छ। बहालवाला 

राजदूतलाई फिर्ता बोलाउँदा आरोप लगाउने चलन थिएन। यस पटक सरकारले शाह, चालीसे र सिंहलाई 

भने काम गर्न नसकेको आरोप सरकारले प्रचारमा ल्याएको छ। परन्तु, सबैलाई थाहा छ, हाल राजदूत 

पदमा कार्यरत माओवादी, एमाले वा सद्भावना निकटका व्यक्तिहरूका तुलनामा शाह, चालीसे र सिंह बीस नै 

होलान् उन्नाईस छैनन्। चालीसे प्रधानमन्त्रीको परराष्ट्र् सल्लाहकार, सिंह युरोपेली संघमा राजदूत र शाह 

त्रिभुवन विश्वविद्यालयका उपकूलपति रहिसकेका व्यक्ति हुन्। उनीहरू विशेष चमत्कारी नभए पनि खत्तम 

खालका थिएनन्। अहिलेसम्म उनीहरू अक्षम ठहरिएका थिएनन्। अहिले भने उनीहरूमाथि सरकारले काम 

गर्न नसकेको आरोप लगाएको समाचार प्रकाशमा ल्याइएको छ। यद्यपि, समाचारमा कसैलाई उद्धृत भने 

गरिएको छैन। अर्थमन्त्री बाबुराम भट्टराईले पनि उनीहरूले काम गर्न नसकेकाले फिर्ता बोलाइएको 

भनिसकेका छन्। 
विचार नमिल्ने बित्तिकै व्यक्तिलाई पहिले आरोप लगाएर बदनाम गर्ने र कारबाहीका लागि वातावरण 

बनाउने रणनीति कम्युनिस्टहरूले् अपनाउँदै आएका छन्। यस पटक पनि त्यही रणनीति अपनाइएको स्पष्ट 

देखिन्छ। गोयबल्स शैलीमा बढी नै भरपर्ने कम्युनिस्ट नेताहरूका यस्तो प्रचारवाजी उनका कार्यकर्ताबाहेक 

अरूले पत्याउलान् जस्तो लाग्दैन। जेहोस्, सरकारी संयन्त्र नागरिकका विरुद्ध यस प्रकारको घीनलाग्दो 

खेलमा उत्रनु लाजमर्दो र डरलाग्दो विषय हो।  
सरकार जनताप्रति उत्तरदायी छ भने शाह, सिंह र चालीसेले कुनकुन काम गर्न सकेनन् त्यो खुलासा 

गरोस्। हैन भने यी नेपालका  नागरिकहरू राष्ट्रका सम्पत्ति हुन्। यिनलाई राजनीतिक आस्थाका 

आधारमा बदनाम गर्नु अपराध हो। यी मात्र हैन कुनै पनि नागरिकको मर्यादाको सम्मानमा अतिक्रमण 

गर्न कसैले पनि पाउँदैन। सक्छौ भने नालायक प्रमाणित गर। सक्तैनौ  भने हे !  गोयबल्सका चेला हो 

सिंह, शाह तथा चालीसेसँग क्षमा माग।  
 

No comments:

Post a Comment