शिवपुरी यात्रामा हन्डर खानुसम्म खाइयो । सास्ती, अत्यास र रमाइलो मिसिएको यात्रा बिर्सन नसकिने भयो । नागरिक न्युज अनलाइनमा लामो विवरण छ । त्यहाँ प्रकाशित भएपछि लिंकअप गराउँला । शिवपुरीको चुचुरोमा पुगेपछि शिवजी बाबाको कुटीको भग्नावशेषमा ध्यान मग्न हुन खोज्दै थिए । इन्दुले नङ पालिस झिकिन् र लगाउन थालिन् । धेरै पुरानो प्रसंग सम्झेँ - इन्डोनेसियामा ट्राफिक जाममा परेकी महिलाले शृंगार गरेकी तस्बिर त्यति बेला निकै चर्चित भएको थियो । साैन्दर्य चेतना नारीहरूको विशेष गुण नै रहेछ । बहिनी इन्दुको अनुमति लिएर यो तस्बिर यहाँ राखेको छु ।
Friday, October 2, 2009
साैन्दर्य चेत

Sunday, September 13, 2009
कठै! हाम्रो राजनीति
कठै! हाम्रो राजनीति
जाजरकोटमा झाडापखाला नै महामारी बन्न पुग्यो। यसो हुनुमा स्वास्थ्य सेवाका जिम्मेवार व्यक्ति त दोषी छन् नै त्रुटिपूर्ण स्वास्थ्य प्रणाली पनि कारण हो। अब त्यस्तो अवस्था दोहोरिन नदिन के गर्ने? कस्तो स्वास्थ्य प्रणाली अपनाउने? स्वास्थ्य सेवामा राज्यले गर्ने लगानीमा सबैको समान पहुँच हुने प्रणाली अपनाउन सके यस्तो अवस्था अन्त्य गर्न सकिन्छ कि? हाम्रा जनप्रतिनिधिले यस विषयमा गम्भीर छलफल गरेको थाहा छैन।
विद्यालय शिक्षालाई १२ वर्षे बनाउने निर्णय सरकारले गरेको छ। शिक्षालाई अनिवार्य र निःशुल्क बनाए बाल अधिकारका धेरै पक्षलाई सम्बोधन गर्न सकिन्छ। बाल विकासमा गरेको लगानीले धेरै गुणा प्रतिफल दिएको अध्ययनहरूबाट थाहा भएको छ। शिक्षामा अहिले गरिएको लगानी खेर गएको छ। राज्यले शिक्षकको तलबमा अनुदान दिनुको साटो विद्यार्थीको पढाइ खर्च उपलब्ध गराउने हो भने अहिलेकै लगानीबाट पनि उच्च प्रतिफल पाउन सकिन्छ। संविधान सभासद्हरूले यस्ता विषयमा छलफल गरेको सुनिएको छैन। अरू मुलुकका राजनीतिक नेताहरूले यस्तो विषयमा निकै छलफल गर्छन्।
देशको अर्थतन्त्र रेमिटेन्सले धानेको छ। यसको दुश्चक्रबाट मुलुकलाई मुक्त गर्नुपर्ने धारणा अर्थशास्त्रीहरूले व्यक्त गर्न थालेका छन्। यति गम्भीर विषयमा पनि राजनीति गर्नेहरू भने निस्पृह देखिएका छन्। वैदेशिक रोजगारमा पनि राजनीति गर्नेको चासो कमिसन खानेमा सीमित भएको छ। कमिसन व्यक्तिका नाममा लिए घुस र पार्टीका नाममा लिए लेवी हुन्छ। विदेशमा काम गर्न जानेको हितरक्षाका लागि जनप्रतिनिधिले चासो राखेर छलफल गरेको सुनिएको छैन।
समाजमा अपराध बढ्दो छ। अराजकता, गरिबी, बेरोजगारी, दण्डहीनता आदिबाट पनि अपराध बढ्छ तर त्यत्तिमात्र अहिले अपराध फैलनुको कारण नहुन सक्छ। राजनीति गर्नेले अपराधीलाई धाप मारेका कारण पनि समाजमा अपराध फैलिएको हो। तैपनि जनप्रतिनिधिले यस्ता विषयमा चर्चा त गर्नुपर्ने हो नि!
संविधान सभाको सबैभन्दा ठूलो पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेताहरू सडकबाटै सरकार हटाएर सत्तामा जाने हुँकार गरिरहेका छन्। अमूर्त ‘नागरिक सर्वोच्चता'को रट लगाएर संविधान सभा नै ठप्प पारिरहेका छन्। संविधान सभामा माओवादीको संकल्प प्रस्तावमा छलफल हुनु र नहुनुले सामान्य जनताको गुजारामा केही असर गर्दैन।
अन्तरिम संविधानको अन्योल सकेसम्म चाँडै अन्त्य गर्ने उत्तम उपाय नयाँ संविधान बनाउनु नै हो। अब त, यस्तो हस्तक्षेप दोहोरिन नदिने प्रावधान अर्को संविधानमा राख्ने सहमति जुटाउने प्रयास पो गर्नुपर्ने हो। कुनै बेलाको ‘आधार क्षेत्र' जाजरकोटलगायत मध्यपश्चिममा झाडापखालाजस्तो अत्यन्त सामान्य रोगले करिब ४ सयको ज्यान लिएको विषयमा उनीहरूले संसद्मा छलफल गर्नु आवश्यक ठानेनन्। शिक्षा, स्वास्थ्य र अरू सामाजिक सेवाका विषयमा माओवादी नेताले खासै चासो लिएको देखिँदैन।
आन्दोलनमात्रले जनता सार्वभौम हुँदैनन्। राज्यमात्र हैन सबै शक्तिले सामान्य जनतालाई सर्वोपरी ठानेमात्र ‘नागरिक सर्वोच्चता' कायम हुन्छ। घुर्की र धम्कीको राजनीतिले मुलुक र जनताको भलो हुँदैन। हटाइसकिएको राजा देखाएर जनतालाई तर्साउने जमाना बितिसकेको माओवादीले थाहै नपाएजस्तो छ। मूलधारका पुराना दलका नेतालाई बन पुर्याउने हुँकार माओवादी अध्यक्षको अहंकारको अभिव्यक्ति हो। निषेधको राजनीति पहिले असफल भयो भने अब पनि फल हुँदैन।
नेपाली कांग्रेसले त पार्टी राजनीतिबाहेक अरू विषयमा ध्यान दिने कुरै भएन। सरकारमा को जाने र सुजाताले के गरिन् भन्ने विषयमा नै कांग्रेसको अधिकांश छलफल केन्द्रित भयो। त्यसबाहेक क्रियाशील सदस्यता वितरण उनीहरूका लागि सबैभन्दा ठूलो विषय बन्यो। शपथ ग्रहण समारोहमा कांग्रेसी मन्त्रीहरू नगएकोजस्ता मामुली सरकारी सबालमा स्पष्टीकरण माग्ने कांग्रेसले जाजरकोटको महामारीमा जिम्मेवारी पूरा गर्न नसक्ने स्वास्थ्य मन्त्रीसँग सोधपुछ पनि गरेन। करिब ४ सय मान्छे मर्नु कांग्रेसका लागि ठूलो कुरा भएन। आउने चुनावमा यो विषय चर्केपछि मात्र मान्छेको मोल बुझ्लान् कांग्रेसका नेताले। नेकपा (एमाले)को एउटा समूह सरकारमा छ। अर्को समूह सडकबाट सरकार हटाउने अभ्यासमा लोगेको माओवादीलाई उक्साउनैमा व्यस्त देखिन्छ। एमालेका वरिष्ठ नेता प्रधानमन्त्री माधवकुमार नेपालकै शब्दमा भन्ने हो भने पार्टीमा ‘आफ्नोभन्दा अरूको पार्टीलाई क्रान्तिकारी देख्ने' रोग छ र ‘लोकतन्त्रका नाममा पार्टीभित्र गलत अभ्यास आरम्भ गरिँदैछ'। अर्थात्, सरकारलाई सघाएर जनताका घाउमा मलम लगाउन हैन एमाले नेताको ध्यान पार्टी कब्जा गर्नमा मात्र केन्द्रित छ।
रहे, मधेशवादी भनिएका पार्टीहरू। मधेशका ठालुहरूको प्रतिनिधित्व गर्ने यी पार्टीले मुलुकको त कुरै नगरौँ मधेशका गरिब जनताका आधारभूत समस्यामा पनि चासो राखेको देखिएको छैन। कहालीलाग्दो गरिबीमा बाँचेका तराईका दलित र अरू समुदायको जीवनस्तरमा सुधार गर्ने विषय यिनको कार्यसूची कहिल्यै बन्ने देखिँदैन। हिन्दी भाषामा सरकारी कामकाज हुँदैमा मुसहरका सन्तानको पेट भरिँदैन। मधेश एउटै प्रदेश हुँदैमा सबै मधेशी स्वास्थ र शिक्षित हुँदैनन्। यथार्थमा मधेशमा गरिबको जीवनस्तर उकासियो भने यी ठालुले जीवनशैली बदल्नुपर्ने हुन्छ। यसैले यिनीहरू मधेशमा जनताका पक्षमा परिवर्तन र सुधार रोक्नैका लागि पनि नेपालको अरू भागबाट अलगथलग गर्न चाहन्छन्।
केही महिना पहिले गिरिजाप्रसाद कोइरालाले माओवादीलाई पुनः वन पठाउने गुड्डी हाँकेका थिए। अहिले पुष्पकमल दाहालले त्यस्तै धम्की दिएका छन्। प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्नुपर्दा बल्झने कोइरालाको रोग दाहाललाई भेट्न निको हुन्छ। वन पठाउने धमास दिने दाहाल कोइरालाको कृपा पाउन टाउकाले टेकेर महाराजगन्ज पुग्छन्। जनतालाई सबै थाहा छ।

Friday, September 11, 2009
संविधानको भावी स्वरूप
संविधान नेपालमा पनि बन्दैछ। नागरिकका प्रतिनिधिले नै संविधान बनाउँदै छन्। यद्यपि, संविधान सभासद् भने सबै नेपाली नागरिक र सिंगो समाजभन्दा आफ्नो पार्टी, जाति, क्षेत्र र समुदायका प्रतिनिधिका रूपमा प्रकट भएका छन्। संविधानसम्बन्धी छलफल एकातिर संरचना र दलगत सैद्धान्तिक आग्रहमा केन्द्रित देखिएको छ भने अर्कोतिर जाति, क्षेत्र र समुदायको संकीर्ण स्वार्थले बढी महत्व पाउने लक्षण छ।
नेपालले एक्काइसौं शताब्दीको पहिलो दशकमै संविधान बनाउन पाएको छ। यो नयाँ शताब्दीलाई बाटो देखाउने मौका हो। यस्तै संविधान निर्माणमा विश्वले अहिलेसम्म गरेको अनुभव, सफलता र विफलताबाट सिक्नुपर्ने चुनौती पनि छ। अहिलेसम्म कुनै पनि संविधान 'आदर्श' देखिएको छैन। यस्तै सबैजसो राजनीतिक सिद्धान्त प्रयोगपछि विफल नै सिद्ध भएका छन्। यद्यपि, सिद्धान्तको आधार नै नटेकी संविधान बनाउन पनि सकिँदैन। अरूको विफलताबाट सिक्न सकिन्छ तर सफलताको अनुकरण सकारात्मक नै हुन्छ भन्न सकिँदैन।
संविधान सभाको सबैभन्दा ठूलो दल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा स्टालिन र त्रात्स्कीका पक्ष विपक्षमा बहस थालिएको छ। 'नागरिक सर्वोच्चता'का नाममा संसद् र सडक आन्दोलन चलाउने निर्णय गरेको माओवादीका अध्यक्ष कार्यकर्तालाई प्रशिक्षण दिन बेलायततर्फ उँडेकाछन्। नेपाली कांग्रेसमा त सैद्धान्तिक छलफल हुँदै हुँदैन। कतै पनि सफल नभएको र लगभग अमूर्त 'प्रजातान्त्रिक समाजवाद' वा व्यक्तिलाई राज्यको कमारो बनाउने कल्याणकारी राज्यभन्दा परको सोच कांग्रेसका नेतामा देखिँदैन। नेकपा (एमाले) गणेशलाई उँट बनाइदिन सिपालु पार्टी हो। मधेशवादी भनिएका दलहरूको सिद्धान्त, नीति, रणनीति जे भने पनि मधेशका ठालुको हातबाट सत्ता उम्कन नदिनु हो। यसैले संविधान सभाको कुनै पनि ठूला दलले एक्काइसौँ शताब्दीको संविधानलाई सैद्धान्तिक मार्ग निर्देश गर्नसक्ने देखिँदैन।
भावी राज्य कस्तो हुने हो ? समाजवादका वा कल्याणकारी राज्यका नाममा काम नगर्नेलाई भत्ता दिएर काम गर्नेलाई करको भारी बोकाउने हो कि? कमजोर वर्गलाई न्याय दिने नाममा प्रतिभा र पौरखलाई कुण्ठित पार्ने व्यवस्था अपनाउने हो कि? स्वतन्त्रताका नाममा मानवीय मूल्य, शान्ति, पारिवारिक बन्धन समाप्त पार्ने चरम व्यक्तिवादी संस्कृति हुर्काउने हो कि? वा राज्य, ठालु र पुँजीपति मिलेर विकासका नाममा निमुखालाई चीनमा जस्तै दमन गर्ने, भारतमा जस्तै ठग्ने हो?
आर्थिक चमत्कारको लोभमा प्राकृतिक सन्तुलन भताभुंग बनाएर वातावरणीय विनाशको महंगो मूल्य चुक्ता गर्ने प्रणाली अपनाउने हो कि ? श्रम र उत्पादन पद्धति कस्तो हुने हो ? श्रमिकको अधिकार र उद्योगको हितबीच सन्तुलन कसरी कायम गर्ने ? बजारमा हस्तक्षेप नगरी सामान्य उपभोक्ताको हित रक्षा कसरी गर्ने ? राज्यले अनुदान मल र बीउमा दिने कि उत्पादित खाद्यान्न किन्न वा पशु र बालीको बिमा गर्न दिने ? वितरण प्रणालीमा सरकारले कति हस्तक्षेप गर्ने ? शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, खाद्य आपूर्तिको नियमन मात्र गर्ने कि राज्यले जिम्मा नै लिने हो ?
आरक्षण कुनै जातिको पनि उन्नतिका लागि सही उपाय हैन भन्ने प्रमाणित भइसकेको छ। बलियामाथि अन्याय नगरी कमजोरको रक्षा कसरी गर्ने ? शिक्षामा आरक्षण अपनाउँदा प्रतिभा हुनेले पढ्न नपाउने परिस्थिति उत्पन्न हुने रहेछ। उच्च शिक्षा पाउन बाबुको जात वा धन हैन विद्यार्थीको प्रतिभालाई निर्णायक कसरी बनाउने ?
राष्ट्रिय अखण्डताका नाममा कस्मिर वा तिब्बतमा जस्तो पराइ शासन थोपर्न र दमन गर्न नपाइने संविधान कसरी बनाउने ? कुनै नेताको सनकमा राज्यलाई टुक्य्राउन खोजियो भने के गर्ने ? यस्तो अवस्था आउन नदिने उपाय संविधानमा कसरी राख्ने ? केन्द्र र प्रदेशबीच सन्तुलन र समन्वय कसरी कायम गर्ने ? केन्द्र र सिंगो राज्य संयन्त्रलाई बलियो बनाउने कि प्रभावकारी तुल्याउने ?
संघीयतामा प्राकृतिक स्रोतमा केन्द्र, प्रदेश र स्थानीय निकायको अधिकारको भागबन्डाको त चर्चा भएको छ तर प्रकृतिको बाँच्न पाउने अधिकारलाई मान्यता दिने कि नदिने ? इक्वेडोरको संविधानमा प्रकृतिको अधिकारलाई मौलिक अधिकारमा राखिएको छ। नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकले त झन् दिनुपर्ने हो कि ?
प्रकृतिले जुलुस निकाल्दैन। प्राकृतिक स्रोतको दोहन नगरी विकासको गति अगाडि बढाउन पनि सकिन्न। तर सन्तुलन त कायम गर्नैपर्छ। नत्र चीन, भारत वा ब्राजिलको नियति दोहोरिन सक्छ। अहिले उपभोगमा मात्र जोड दिने हो भने भविष्यमा यही पुस्ताले समेत सास्ती पाउन सक्छ।
संघीय शासन व्यवस्थाको जति धेरै चर्चा भएको छ त्यसको मर्मलाई उत्तिकै उपेक्षा गरिएको छ। मधेशी नेताहरूको शासनमा पहाडिया प्रभुत्व नहोस् भन्ने ध्येय र ध्याउन्ना मात्रै देखिएको छ। अनि पहाडिया प्रभुत्व भएका दलका नेताहरू मधेशको जनसांख्यिक बहुमत सिंगो राष्ट्रको शासनमा निणर्ँयक नहोस् भन्ने मात्रै चाहन्छन्। मधेशी जनताको हित र त्यहाँको विकासलाई कसैले केन्द्रमा राखेको छैन। हिमाल र पहाड मिसाएर मात्र मधेशलाई अखण्ड राख्न सकिन्छ भन्ने सोच जति मूर्खतापूर्ण छ, मेची र महाकालीका मधेशीलाई एउटै प्रान्त वा प्रदेशमा राखेर संघीयताको मर्म पूरा हुन्छ भन्ने हठ पनि त्यत्तिकै गलत छ। जनतालाई शासनमा प्रत्यक्ष सहभागी बनाउन संघीयतामा जानुपर्ने हो। सिराहाका चमारले सिनु नफालेबापत बहिष्कृत हुनुपर्ने निर्णय हुन नसक्ने अवस्था सिर्जना गर्न संघीयता चाहिएको हो। यसका लागि कस्तो संरचना र सिद्धान्त अपनाउने हो ?
राज्यले हस्तक्षेप केमा गर्ने केमा नगर्ने ? कति गर्ने ? किन गर्ने ? सरकार, राज्य र व्यक्तिबीचको द्वन्द्व कसरी कम गर्ने ? कसरी सल्टाउने ? न्याय खोज्न बाटो थुन्नैपर्ने अवस्थाबाट कसरी मुक्त हुने ? सुख र खुसीमध्ये कुन रोज्ने ? दुवै पाउन गाह्रो जो हुन्छ।
यस्ता प्रश्नमा संविधान सभामा छलफल हुन्छन् कि हुँदैनन् ?
यस्ता प्रश्नको उदार लोकतान्त्रिक उत्तर खोज्ने प्रयास अर्को पटक गर्नेछु।