Showing posts with label सुधार कहिले हुने ?. Show all posts
Showing posts with label सुधार कहिले हुने ?. Show all posts

Wednesday, November 26, 2008

समानान्तर १० अनुत्तरदायी र्सार्वजनिक संस्थानहरू

अनुत्तरदायी र्सार्वजनिक संस्थानहरू
समानान्तर शीर्षकमा ब्लग लेख्न थालेपछि दिनहुँ लेख्ने अठोट गरेको थिएँ । अलिकति अल्छी लागेर र अलिधेरै चाहिं बिजुली र इन्टरनेटका कारण मेरो अठोट पूरा हुन सकेको छैन । गएको तीन दिन एलटीसीको एडीएसएलले कामै गरेन । पैसा तिर्न एक दिन ढिलो भयो भने कनेक्सन काट्ने कम्पनीले ३ - ३ दिनसम्म पनि सेवा दिन नसक्दा पनि मतलबै छैन । न उपभोक्तासँग माफी माग्छ न सेवा दिन नसकेका दिनहरूको क्षतिपूर्ति नै दिन्छ ।
बिजुलीको अवस्था पनि खासै फरक छैन । दिनको १४ घन्टा लोडसेडिङ त सगौरव सूचना गरेकै समय भयो । प्राविधिक गडबडी र अघोषित लोडसेडिङ् गरेर अरू थप केही घन्टा बिजुली आउँदैन । बिजुली र इन्टरनेटको समय मिलाउन साग, बाघ र बाख्रो सँगै तार्नभन्दा पनि कठिन भइरहेको छ ।
यस्तै बानी र चलन कायमै राखेर न नेपाल टेलिकमले एक्काईसौं शताब्दीको आवश्यकता पूरा गर्न सक्छ न विद्युत् प्राधिकरणले नै आवश्यक बिजुली पुर्‍याउन सक्तछ । यी दुबै सार्वजनिक क्षेत्रका संस्थान हुन् । संस्थान भएका नाताले अरू समान प्रकृतिका व्यावसायिक संस्थासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ भने र्सार्वजनिक क्षेत्रको हुनुको दायित्व पनि छ । नाफा र सेवा दुबैलाई सँगै लैजानुपर्छ । यति हुँदाहुँदै पनि यिनको पहिलो दायित्व आफ्ना सेवालाई व्यवस्थित, उपयुक्त र चुस्त बनाउनु हो । उपभोक्ताप्रतिको उत्तरदायित्व यस्ता निकायहरूको पहिलो धर्म हो । सेवाको शुल्क असुल गर्नजत्तिकै तदारुकता र ध्यान सेवा पुर्‍याउन नदिने हो भने एक्काईसौं शताब्दीको प्रतिस्पर्धामा टिक्न सकिंदैन । नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका हाकिमहरूले यो मन्त्र कहिले सम्झने हुन् - यिनको काम गराइमा सुधार हुने लक्षण भने पटक्कै छैन ।
जनमुखी शासनको धक्कु लगाउनेहरूले सार्वजनिक संस्थानहरूलाई मात्रै पनि जनउत्तरदायी बनाई दिए मुलुकको भलो हुने थियो ।