बुद्ध बन्न सक्तैन जंगबहादुर
बुद्ध बन्न सक्तैन जंगबहादुर
बुद्ध निर्मल झरना
जंगे उर्लदो खहरे
बुद्ध शितल छाया
जंगे दावानल
हुनै सक्तैन मेल
अहँ बुद्ध बन्न सक्तैन जंगबहादुर ।
बुद्ध जडभरत निस्पृहता
जंगे म्याक्वेथ महत्वाकांक्षा
बुद्ध बिहानीको अरुणिमा
जंगे निरव कालो रात
बुद्ध शितल जल
जंगे तातो रगत
बुद्ध तपस्याको फल
जंगे षड्यन्त्रको उपज
एउटा जीवन
अर्को मृत्यु
एउटा घाइते हाँसको उपचारक
अर्को मातृ हन्ता
बुद्ध धैर्य, संयम र स्नेह
जंगे क्रोध, द्वेष र भय
एउटाको उद्देश्य जगत्को सुख
अर्काको सत्ता स्वार्थ
एउटा करुणाको मूर्ति
अर्को षड्यन्त्र र हत्याको प्रतीक
बुद्ध न्यायो माया
जंगे बलात्कार
कसरी हुन्छ मेल -
अहँ बुद्ध बन्न सक्तैन जंगबहादुर ।