Showing posts with label नत्र भ्रमणको कुनै अर्थ रहने छैन. Show all posts
Showing posts with label नत्र भ्रमणको कुनै अर्थ रहने छैन. Show all posts

Tuesday, December 2, 2008

घर से मस्जीद है बहुत दूर क्या किया जाए ।
चलो किसी रोते हुए बच्चे को हसाया जाए ।
कुनै ऊर्दू कविको कतै पढेको कविता
हामी भने हासी रहेका बालबालिकालाई पनि
रुवाउँदै छौं ।

सशस्त्र द्वन्द्व पीडित बालबालिकाका लागि संयुक्त राष्ट्र संघका महासचिवको विशेष प्रतिनिध राधिका कुमारास्वामी अन्ततः नेपाल आइपुगेको छिन् । कुमारास्वामी धेरै पहिले नै नेपाल आउनुपर्ने थियो । कुन्नि किन उनको नेपाल भ्रमणको साइत जुरेन र पटक पटक स्थगित भइरहृयो । द्वन्द्वमा जुध्नेहरू अधिकांश वयस्क हुन्छन् तर त्यसको सबैभन्दा बढी मारमा बालबालिका पर्छन् । नेपालमा पनि त्यस्तै भएको छ । माओवादीको १० वर्षलामो व्रि्रोह र त्यसपछिका गतिविधि तथा अन्य सशस्त्र तथा निशस्त्र समूहहरूका क्रियाकलापका कारण नेपाली बालबालिका अहिले पनि उत्तिकै जोखिममा छन् । यी बालबालिकाको उन्मुक्ति / उद्धार, पुनर्स्थापना र पुनर्मिलनका विभिन्न आवश्यकता हुन्छन् । राज्य त्यसका लागि मूलतः जिम्मेवार हुन्छ । राज्यलाई घचघच्याउने र पर्‍यो भने सल्लाह सुझाव र चेतावनी दिने दायित्व बाल अधिकार महासन्धिको संरक्षकका हैसियतले राष्ट्र संघका महासचिवको हो । महासचिवलाई विषय विशेषहरूमा सल्लाह दिन र उनका तर्फबाट सरकारहरूसँग सम्पर्क र संवाद गर्न विशेष प्रतिनिधिहरू तोकिएका हुन्छन् । दुःखको कुरा नेपालका द्वन्द्व पीडित बालबालिकालाई राधिका कुमारास्वामी विशेष प्रतिनिधि हुनुको कुनै अर्थ रहेको थिएन । शान्ति प्रक्रिया नथालिंदैदेखि उनले नेपालको नियमित भ्रमण गरेको भए सम्भवतः द्वन्द्वरत पक्षहरूलाई बालबालिकालाई द्वन्द्वमा प्रयोग गर्न हच्काउने थियो । शान्ति प्रक्रिया थालिएलगत्तै पनि कुमारास्वामी नेपाल आएकी भए माओवादी छापामारको शिविरमा राखिएका बालबालिकाको मुक्तिका लागि गरिएको पहलमा बल पुग्थ्यो होला । ती बालबालिकामध्ये अधिकांशत त त्यहीं छापामार शिविरमा बस्दाबस्दै वयस्क भइसके । शिविरमा रहेका बालबालिकाको मुक्तिका लागि आवाज उठाउने उनको अभिव्यक्ति अहिले एउटा विडम्बना बन्न पुगेको छ ।
नेपाली बालबालिकाप्रति राधिका कुमारस्वामी पनि उत्तरदायी छिन् । किन उनले यी बालबालिकालाई बेवास्ता गरिन् त्यसको उत्तर उनले नेपालमा नै सार्वजनिक रूपमा दिनुपर्छ । उनको भ्रमण महासचिव बान की मुनको भन्दा पहिले वा सँगै भएको भए पनि त्यसले सशस्त्र द्वन्द्वमा कुनै न कुनै रूपमा संलग्न गराइएका बालबालिकाको मुक्ति र समुदायमा उनीहरूको पुनर्स्थापनाका लागि सरकारलाई दरै दबाव पर्थ्यो होला । अहिले पनि उनको कार्यशैली हेर्दा यो सरकारले उनका कुरा सुन्ला भन्ने लाग्दैन ।
यसो त सशस्त्र द्वन्द्व प्रभावित बालबालिकामा छापामार शिविरमा राखिएका करिब ३ हजार मात्रै छैनन् । यसभन्दा निकै ठूलो संख्यामा विस्थापित बालबालिका छन् । विस्थापित बालबालिकाको सबाल पनि राम्ररी उटाइएको छैन । बालअधिकारका लागि काम गर्छौं भन्ने संस्था र व्यक्तिहरूले पनि बालबालिकाको हित माओवादीलाई रिझाउने विषयलाई प्राथमिकता दिएकाछन् । धेरै पहिले र धेरै पटक राज्य र माओवादी दुबै पक्षलाई जति स्पष्ट र कडासँग यी बालबालिकाका प्रति उत्तरदायी हुन झकझक्याउनु पर्ने थियो त्यो कहिल्यै गरिएन । बाल अधिकारका क्षेत्रमा काम गर्नेहरूको प्राथमिकतामा बालबालिकाको हित पर्न सकेन । संयुक्त राष्ट्र बाल कोष लगायतका संस्थाहरूले सधैं नै माओवादीलाई नबिच्क्याउने नाममा बालबालिकाको अवस्थालाई ओझेलमा पार्दै आए । त्यस्तो व्यवहार माओवादीले सरकारको नेतृत्व लिएपछि झन् बढेर गएको छ । राधिका कुमारास्वामी पनि माओवादीका चिप्ला कुरा सुनेर रित्तै र्फकने लगभग निश्चित छ ।
माओवादीले शिविरमा भएका बालबालिकालाई एक प्रकारको बन्धक बनाएका छन् । अरू वयस्क छापामारहरूको व्यवस्था नहुँदासम्म नेपालका लागि संयुक्त राष्ट्र संघीय मिसन -अनमिन), नेपाल सरकार र माओवादी प्रतिनिधिसमेतको संयुक्त टोलीले गरेको प्रमाणीकरणमा अयोग्य ठानिएका बालबालिकालाई पनि शिविरमा राख्ने माओवादी हठ अत्यन्त आपत्तिजनक र निन्दनीय हो । साथै बाल अधिकार महासन्धिलगायतका अन्तर्राष्टिय सन्धि महासन्धिहरूको पनि उल्लंघन हो । तर नेपालका सञ्चार माध्यम, राजनीतिक नेताहरू र मानव अधिकारकर्मीहरू कसैले पनि यस विषयलाई गम्भीरतापूर्वक उठाएनन् । यस अर्थमा ती बालबालिकाप्रतिको उत्तरदायित्वबाट सबै च्यूत भएका छन् । राधिका कुमारास्वामीको भ्रमणको समाचार पनि सिन्हृवाले जति स्पष्ट नेपाली सञ्चार माध्यममा आएन । सिन्हृवाले कुमारास्वामीले छापामार शिविरमा रहेका बालबालिकाको तत्काल उन्मुक्ति र पुनर्स्थापनाको सबाल उठाउने बताएको मुख्य रूपमा उल्लेख गरेको छ । नेपालमा सञ्चारकर्मीहरूले उनको भ्रमणलाई नै समाचार बनाएका छन् तर उनीहरूको समाचार अनमिनको विज्ञप्तिमा आधारित छ । कुनै राजनीतिक दलले पनि यी बालबालिकाका विषयलाई स्पष्टसँग उठाएका छैनन् । महासचिव बानलाई विषय उठाएकोमा धन्यवाद दिन मन लाग्छ तर उनले पनि टुंगोमा नपु्र्रई छाडे । अनमिनको त कुरै भएन । उसका सैनिक प्रतिनिधिले ती बाल सैनिकको सलामी लिएका छन् ।
कुमारास्वामीलाई नेपालका द्वन्द्व प्रभावित बालबालिकाप्रतिको उत्तरदायित्वको हेक्का छ भने उनले कम्तीमा शिविरमा रहेका बालबालिकालाई तत्काल मुक्त गर्न र उनीहरूको पुनर्स्थापनाको दायित्व सकार्न सरकारलाई राजी गराउन सक्नुपर्छ । अन्यथा उनको भ्रमणको कुनै अर्थ रहने छैन ।