केही दिन पहिले नेपाल प्रहरीका एक जना उच्च अधिकृतलाई घाइते अवस्थामा भेटिए। समाचारअनुसार उनको टाउको फुटेको थियो। कुनै रेस्टुराँका कर्मचारीले उनको टाउको फुटाएका रहेछन्। प्रहरीले आफ्ना हाकिमलाई अस्पतालमा पुर्यायो। कुटपिटमा संलग्न भएको आरोप लागेका कर्मचारीलाई प्रहरी पक्रेको थियो। उनीहरू अहिले कहाँ छन् र प्रहरीले उनीहरूसँग कस्तो व्यवहार गर्यो भन्ने विषयमा कसैले चासो लिएको देखिएन। आधारातमा रक्सी खाएर रेस्टुराँका कर्मचारीमाथि हातपात गरेर पदीय मर्यादा उल्लंघन गरेको आरोपमा ती प्रहरी अधिकृतलाई सरकारले निलम्वन गरेको समाचार प्रकाशमा आएको छ।
अर्कातिर गएको शुक्रबार बिहान एउटा डिस्कोबाट प्रहरीले ३ सय ५६ जना युवालाई पक्रेर साँझ छाडेछ। ती युवामध्ये अधिकांश विद्यालयको पोसाकमै रहेछन्। प्रहरीले ठूलै 'बहादुरी' गरेको देखाउन सञ्चारकर्मीलाई बोलाएर लगेको पनि रहेछ। त्यसैले घटनाको प्रचारप्रसार पनि 'भव्य'रूपमा भएको छ। ती किशोरकिशोरीलाई प्रहरीले आफ्नो कार्यालयमा लगेर केरकार गरेछ। अनि, अभिभावक बोलाएर जिम्मा लगाएर पठाएछ। यसरी समातिएका विद्यार्थीमा थुपै्र स्कुल र कलेजका विद्यार्थी रहेछन्। प्रहरीका भनाइ पत्याउने हो भने त ती विद्यार्थी रक्सी र लागू पदार्थले मातेका र 'अश्लील' नृत्यमा संलग्न भएकासमेत थिए रे।
बिहानै पढ्न भनेर गएका छोराछोरीलाई प्रहरीले डिस्कोबाट पत्रे्कर जिम्मा जमानी लिन आफूलाई बोलाउँदा आमाबाबुको चित्त पक्कै दुख्यो होला। झन्, छोरीका आमाबाबु त मरे तुल्य भए होलान्। हाम्रो समाजमा इज्ज्त धान्ने ठेक्का छोरीका नाममा सदर जो भएको छ। अनि, त्यसरी डिस्कोबाट समातिएकी 'चरित्रहीन' केटीलाई बुहारीका रूपमा भित्र्याउन कोही तयार नहोलान् भनेर रातभर निद्रा लागेन होला। बाबुले निद्रा नलागेको निउँ बनाएर दुई घुट्की दिए पनि होलान्। आमाहरूले छोराछोरीको वास्तै नगरेकोमा बाबुलाई कचकच पनि गरे होलान्। हजुर बाआमाले नातिनातिनीको भन्दा छोराबुहारीको र अझ बुहारीको दोष बढी देखे होलान्। बुहारीको माइतीकै पनि दोष देखियो होला। जे होस्, प्रहरीको त्यस 'बहादुरी'ले धेरै घरको शान्ति खलबल्याएको हुनुपर्छ। प्रहरीले समात्नेबित्तिकै सातो गएका ती किशोर किशोरीले घर पुगेपछि 'बंक पार्टी' को स्वाद राम्रै भेटे होलान्। कतिले त थप्पडै भेटे होलान्। कतिको पेट गालीले भरियो होला। जेहोस्, निकै तीतो अनुभव भयो होला। स्वभाविकै पनि हो। कक्षा छाडेर डिस्को जानु राम्रो काम त हैन। नगएकै भए हुन्थ्यो। तर, त्यस उमेरमा जमानाअनुसारको बदमासी सबैले गरेका हुन्छन्। जस्ले गरेको छैन वा गर्दैन ऊ असामान्य हो। सबै असामान्य बन्न सक्तैनन्। यसैले अभिभावकले गाली गर्दा आफ्नो बेला बिर्सनु हुन्न। किशोरकिशोरीले चाहिँ यस्तो गल्ती सकेसम्म दोहोर्याउनु हुँदैन। सामाजिक मनोविज्ञानले यस्को बेग्लै व्याख्या गर्छ । अहिले यो प्रसंग यत्ति ।
नेपाल प्रहरीले आधारातमा सार्वजनिक स्थलमा रक्सीले मातेर कुटपिट गर्ने आफ्ना हाकिमलाई भने पक्रेर थुनेन । उनीमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा पिन चलाएको छैन। प्रहरी अधिकृतले जे गरे पनि हुन्छ? निलम्वन त उनको पदीय मर्यादा उल्लंघन गरेका कारण गरिएको विभागीय हो। त्यो कुटपिट गरेबापत दिइएको सजाय होइन। आधारातमा रक्सी खाएर सार्वजनिक ठाउँमा कुटपिट गर्नेमाथि मुद्दा चलाउने मिल्ने र पर्ने थुप्रै कानुन छन्। तर, उनी त प्रहरीका हाकिम ठहरिए। उनलाई कानुनले छुनै जो सक्तैन ।
अर्कातिर, कुनै कानुनले नदिएको अधिकार प्रयोग गरेर डिस्को नाच्दै गरेका युवालाई प्रहरीले दिउँसै पक्रेर कारबाही गरेको छ। उनीहरूलाई प्रहरी कार्यालय लैजाने, केरकार गर्ने र अभिभावकलाई जिम्मा लगाउने कार्य कानुनी कारबाहीकै एउटा प्रक्रिया हो। डिस्कोमा नाच्दैमा अपराध गरेको भन्न मिल्दैन। कक्षा 'बंक' गरेबापत कारबाही गर्ने अधिकार पनि प्रहरीलाई त छैन। यसैले प्रहरीले ती युवालाई पक्रने कुनै आधार देखिँदैन। डिस्को नाच्दैमा पक्रेर लैजानका लागि नेपाल प्रहरी इरानका अयातुल्ला खोमेनीको ' धर्म प्रहरी' हो र? कि नेपाल मध्ययुगीन इस्लामी कानुनद्वारा शासित मुलुक हो? डिस्कोमा जानु अपराध हो भने तिनलाई 'बालसुधार गृह' पठाउनुपर्थ्यो। अपराधीलाई सजाय वा क्षमा दिने अधिकार प्रहरीलाई हुँदैन। हैन भने प्रहरीले यस्तो मध्ययुगीन चरित्र, सोच र शैली बदल्नुपर्छ।
मनोविज्ञानमा हीनताबोध व्यक्तिमा उच्चता ग्रन्थीका रूपमा प्रकट हुन्छ भन्ने मान्यता छ। यो मान्यता प्रहरीको व्यवहारले प्रमाणित गरेको छ। ठूला अपराधी समात्न नसकेपछि के गर्ने? जो जो कमजोर छन् तिनैलाई झोँक देखाउने। नेपाल प्रहरी असल भएको भए सामाजिक मनोविज्ञानअनुरूप संवेदनशील व्यवहार गर्ने थियो । ती किशोरकिशोरीका मनमा पर्ने प्रभावप्रति प्रहरी सजग भएको भए यस्तो गर्ने थिएन। तैपनि, कानुनमै नभएको अधिकार प्रयोग गर्ने मूर्खता नगनेर् अपेक्षासम्म त गर्न सकिएला कि? अन्त, प्रहरीले सुराकी राख्छन्। नेपाली सञ्चारकर्मीलाई चाहिँ प्रहरीले सुराक दिन्छन्। रमाइलै छ।