Wednesday, August 21, 2013

आलम्बनको खोजी


नेपाली समाज तमासे चरित्रको छ । तमासामा रमाउन पाए सबै बिर्सन्छ । कसैले कागले कान लग्यो भन्यो भने कान नछामी कागको पछि दौडने हाम्रो पुरानै बानी हो । यसैले त भूपि शेरचनले ‘हल्लै हल्लाको देश’ देखेका होलान् । हामी हल्लै हल्लामा कसैलाई देवता बनाउन पनि हिचकिचाउँदैनौ । अरू त के उसैलाई फेरि अर्को हल्ला आयो चलाइयो भने राक्षस बनाइदिन बेरै लाग्दैन । बाँचुन्जेल ‘खलनायक’ ठानिएकाहरू पनि धेरैजसो चाहिँ मरेपछि ‘महान्’ बनाइन्छन् । मरिचमान सिंहको नियति पनि यस्तै भयो । सिंहलाई २०४६ को जनआन्दोलनमा खलनायक बनाइएको थियो । त्यसपछि उनी लगभग सार्वजनिक जीवनबाटै हराएका थिए । कम्तीमा राजनीतिक मूलधारमा देखिएनन् । समयसँगै धेरैले बिर्सिसकेका थिए । त्यसमाथि २०४६ सालपछि हुर्केको पुस्ताले त सम्झनुपर्ने कारण पनि थिएन । रोगले थलिएका मरिचमानप्रति बिस्तारै काठमाडौंका टाठाबाठामा सहानुभूति पलाउन थाल्यो । सरकारले उपचारमा सहयोग गर्न आनाकानी गरेको भान परेपछि सहानुभूति झन् बढेर गयो । उनको मृत्यु र सरकारले सम्मान दिन गरेको कन्जुसीले त झन् कुनै जमानामा सबैभन्दा बढी गाली गरिएका मरिचमान सिंहलाई ‘महान् देशभक्त’ राजनेता सिद्ध गर्ने अभियानै चल्यो ।

व्यक्तिका रूपमा मरिचमान सिंह कसैलाई प्रिय थिए होलान् । कसैका लागि अप्रिय पनि थिए होलान् । मानव सुलभ गुण दुर्गुण उनमा पनि पक्कै थिए । मरेर गएका मान्छेको हामी गुणमात्र सम्झन्छौं । हाम्रो संस्कार हो त्यो । त्यसैले मरिचमान सिंह श्रेष्ठका व्यक्तिगत दुर्गुणहरूको चर्चा नहुनु नेपाली समाज र संस्कार सुहाउँदै हो । मरेपछि छिद्रान्वेषणको छुच्याइँ परिवारजनलाई मात्र हैन समाजका धेरैलाई मन पनि पर्दैन । यद्यपि, इतिहासले भने त्यस्तो माया गदैन । व्यक्तिप्रति सबैभन्दा निर्मम हुनसक्ने त इतिहासै न हो । मरिचमान सिंह श्रेष्ठ पनि एउटा कालखण्डमा ‘थपना’ कै भए पनि नेपालका प्रधानमन्त्री थिए । त्यस कालखण्डको विवेचना हुँदा उनको गुणदोष पर्गेलिने नै छ । त्यो जिम्मा इतिहासलाई नै छाड्नु बेस होला । अहिले मरिचमानमाथि नायकत्व आरोप गर्ने नेपाली टाठाबाठाको मानसिकताकै चर्चामा सीमित होऊँ ।
मरिचमान सिंहलाई भारतसँग सम्बन्ध बिगारेर नेपाली जनतालाई दुःख दिएको आरोप लगाउनेहरू पनि अहिले उनले ‘नेपाललाई भुटान बन्न नदिएको ’ भनेर स्तुति गाउन व्यग्र देखिन्छन् । यो विस्मृति रोग नेपाली बुद्धिजीवीको चारित्रिक विशेषतै हो । मरिचमान सिंह प्रधानमन्त्री थिए तर संविधानतः पनि कार्यकारी प्रमुख राजा नै हुन्थे । व्यवहारमा त झन् भूमिगत गिरोह र गैरसंवैधानिक शक्ति केन्द्रको जगजगी थियो । राष्ट्रिय पञ्चायतले प्रधानमन्त्री नियुक्तिका लागि राजालाई सिफारिस गर्ने संवैधानिक प्रावधानलाई अर्थहीन बनाउन एकतिहाइ सदस्यले प्रस्ताव गर्नुपर्ने र दुईतिहाइ मत ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । अर्थात्, दरबारले चाहेको भन्दा दायाबाँया केही हुन सत्तैmन थियो । राजा त के भारदारहरूको चित्त नबुझ्नेबित्तिकै कसैले शिर ठाडो गर्न पाउँदैन थियो । अहिले मरिचमान सिंहको गाथा गाउनेहरूले सूर्यबहादुर थापाको बहिर्गमनको नाटक भुसुक्कै बिर्सेको देखियो । पञ्चायतका सबैभन्दा चतुर र धेरै कारणले शक्तिशाली मान्नुपर्ने थापालाई दरबारले मरिचमान सिंहको मुखबाट सुनाएको एउटै मन्त्रले धराशायी बनाइदिएको थियो । थापालाई महाभियोग लगाउने बेला लोकेन्द्रबहादुर चन्दलाई ‘मिस्टर क्लिन’ भनेर प्रचार गरिएको थियो । चन्दको सरकार पञ्चायतकालमै पनि भ्रष्टमध्येमा पर्छ । यसैले पञ्चायतकालका कामकाजका लागि राजाबाहेक अरूलाई दोष वा जस दिनु न्यायोचित हुँदैन ।

यथार्थमा राजदरबार अलिकति बलियो हुनेबित्तिकै कुनै पनि प्रधानमन्त्रीलाई काम गर्न दिएको उदाहरण छैन । चौतरिया बहादुर शाहदेखि यता जंगबहादुर राणाले खोपीमा थान्को नलगाउँदासम्मका सबैजसो प्रधानमन्त्रीहरूको दुखान्तमा राजाकै प्रत्यक्ष हात थियो । राजालाई दोष नदिन गाथाकारहरूले रानीहरूलाई अगाडि सारे पनि दोषी ती नारीहरू हैनन् । तिनलाई मनपरी गर्न दिने पनि राजाहरू नै न हुन् । राणाकालमा खोपीमा थन्क्याइएकाले शाहहरूले सहानुभूति पाएका हुन् । नत्र, त्यसभन्दा पहिले र पछिका राजाको व्यवहार आग्रह नराखी हेर्ने हो भने तिनलाई महान् भन्नुपर्ने कुरै कारण देखिँदैन ।

जनताले क्रान्ति गरेर राणा शासन हटाए तर सत्ता शाहहरूको हातमा पुग्यो । त्यस यता मोहन शमशेरदेखि शेरबहादुर देउवासम्म कसैलाई पनि दरबारले नायक बन्न दिएन । सबैलाई कुनै न कुनै रूपमा खलनायक बनाउने र सजाय दिने प्रवृत्ति दरबारमा देखियो । जनताले चुनेका बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवालाई मात्र हैन आपैmँले छानेका मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डा. केआई सिंह, सूर्य बहादुर थापा, डा. तुलसी गिरी, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह, शेरबहादुर देउवा सबैलाई दरबारले प्रयोग गरेको थियो र अप्ठेरोमा पारेको थियो । सामयिक इतिहासमा रुचि राख्ने सबैले यो यथार्थ थाहा पाएकै हुनुपर्छ । तैपनि, हामी जनताका छोरालाई खराब र असल भनेर राजाहरूलाई महाभारतका कृष्ण बनाउन खोज्छौं !

नेपाली समाज सधैँ आलम्बनको खोजीमा रहेको छ । उसलाई नायकत्व आरोपित गर्न कोही न कोही चाहिन्छ । यद्यपि, पछि त्यही नायकलाई खलनायक बनाउन पनि हामी हिचकिचाउँदैनौ । त्यतिमात्र हैन आग्रह पनि निकै बलियो छ हाम्रो । वस्तुवादी हुनै सत्तैmनौ । भीमसेन थापालाई विख्यात इतिहासकार द्वय बाबुराम आचार्य र चित्तरञ्जन नेपालीले खलनायक र नायक बनाएका छन् इतिहासकै तथ्य अगाडि सारेर । हामी चाहिँ आफ्नो सुविधाअनुसार थापा पनि देशभक्त पाण्डे पनि देशभक्त भनिदिन्छाँै ।

नेपाली साहित्य मूलतः कविताले आलम्बनको खोजी गर्ने नेपाली मानसिकताको वर्णन राम्ररी गरेको छ । बहादुर शाहको विजय अभियान उत्कर्षमा हुँदासम्म नेपाली कविहरू ‘फिरिंगी हटाई लुटिपिटी चाँडो, पुगी आज गंगा पखाल्नु छ खाँडो’ भन्नेजस्ता कविता लेख्थे । उल्टै फिरिंगीले आधा मुलुक खोसिदिए । भारदारहरू एक अर्कालाई सिध्याउने दाउपेच गरेरै बसे । अनि सुरु भयो आदर्श नायकको खोजी । रामको कथा लेखियो । जंगबहादुरले खडा गरेको जहानियाँ शासन पनि हेर्दाहेर्दै गोत्र हन्ताहरूको कब्जामा प¥यो । त्यसभन्दा पहिले त थापाले पाँडे, पाँडेले थापा, कुँवरले बस्नेता काटेका थिए । धीरशमशेरका छोराहरूले त आफ्नै काकालाई नै मारे । अब कविले पनि फोस्रो आदर्शको आड छाडे । साहित्यमा कृष्णको चमत्कारी नायकत्वको उदय भयो । बिस्तारै दरबारको सिकोमा शृंगार समाजकै मुख्य साधना बन्यो । कम्तीमा कविता पढ्दा पढ्दा त्यस्तै लाग्छ । पछिका समालोचकले ‘क्षयोन्मुख’ भने पनि त्यो अन्तर्मुखी नेपाली समाजको चरित्र थियो । क्रान्तिपछिको प्रगतिवाद, २०१७ मा सपना खोसिएपछि विसंगतिको वर्णन र अस्तित्वको खोजी थालियो । यो पश्चिमी साहित्यको प्रभावमात्र थिएन । पञ्चायत कालमै पनि सूक्ष्मरूपमा केलाउने हो भने प्रगति र विसंगति, निराशा र उत्साह गुजुल्टिएर आएका छन् । बीसे नगर्चीको नायकत्व वीरेन्द्र, ज्ञानेन्द्रको खलनायकत्वको उजागर न हो ।

उति बेला पनि वीरेन्द्रलाई सोभैm गाली गरिहाल्ने आँट आउनुभन्दा पहिले सडकमा मरिचमानविरुद्ध नारा लगाएका थिए । अहिले पनि केही बुद्धिजीवीको अवचेतनमा लुकेर बसेको ज्ञानेन्द्रको जय मनाउने इच्छा मरिचमान स्तुतिका रूपमा व्यक्त भएको हुनसक्छ । न मरिचमानलाई २०४६ साल र त्यसपछि दानवीकरण गर्नु न्यायोचित थियो न अहिले उनलाई एकाएक महान् बनाउनु नै सही हुन्छ । मरिचमानले दरबारको चाकरी सुरु गरेपछि निष्ठा परिवर्तन गरेनन् । उनको गुण र दोष सम्भवतः यही नै हो । उनी जे बने त्यसको कारण पनि दरबारै थियो । उति बेला न मरिचमानले रोकेर नेपाल भूटान हुनबाट जोगिएको हो न उनले चाहेरै भारतसँग सम्बन्ध सुधार गर्नसक्थे ।

हामी धर्को लामो तानेर हैन मेटेर छोटो बनाउन रमाउँछौँ । चटक चमत्कारको अनन्त पर्खाइमा थाकेका छैनौ । यो चमत्कार पर्खने र चटक पत्याउने सामूहिक अवचेतनमा जमेर बसेको मानसिकता बदलिने कुनै संकेत पनि छैन । अर्थात्, हाम्रो नियति अन्ततः ‘वेटिङ फर गोदो’ का पात्रहरूको भन्दा फरक हुने लक्षण छैन । दुःख यसैको हो

No comments:

Post a Comment