Wednesday, March 9, 2011

स्वतन्त्रताका साधक






नेपालको अपेक्षाकृत बढी व्यावहारिक र सामन्ती संस्कारग्रस्त राजनीतिमा कृष्णप्रसाद भट्टराई अलि बेग्लै थिए। यो उनको प्रयासभन्दा पनि जन्मजात गुणजस्तो लाग्थ्यो। समाजको कथित मर्यादा वा सीमामा बाँधिन नचाहेकैले उनी भिडभन्दा बेग्लै भए। उनको यही व्यवहार कतिलाई मन पर्‍यो। यसैले कतिको चित्त दुखायो। धेरैले उनको नाम र संगत बेचे। केहीले उनलाई यावत् गुणदोष सहितै स्वीकार र सम्मान गरे। अब त झन् उनीसँग नजिक भएको, उनलाई सहयोग गरेको र उनको प्रशंसा पाएको बखान गर्नेहरूले तँछाड मछाड गर्लान्। यो सबै स्वाभाविक पनि हो।

किसुनजीलाई एउटै प्रसंगले बुझ्न वा अर्थ्याउन खोज्नु मूर्खता हो। उनलाई विशेषण मन पर्दैनथ्यो। किसुनजीले ‘अति भक्ति चौरस्य लक्षणम्' भन्ने सूक्तिको दृष्टान्त दिएको मैले पटक पटक सुनेको पनि छु। उनको जीवन शैली नेपाली समाजमा सामान्य थिएन। किसुनजीजस्ता निर्बन्ध हुने आँट अरू बिरलैले गर्नसक्छन्। सायद, त्यही कारण ईर्ष्या र सम्मान आर्जेका थिए उनले।

किसुनजी पनि सामान्य मानिसै थिए। उनी मानवसुलभ गुणअवगुणबाट मुक्त थिएनन्। हामी धेरैले बन्धनलाई आफ्नो ठानेर अँगाल्छौँ भने उनले त्यसबाट सकेसम्म पन्छने प्रयास गरे। यही प्रयासले उनलाई स्वतन्त्रताका पक्षमा अराजकताकै हदसम्म उभिनसक्ने शक्ति दिएको हुनुपर्छ। राजनीतिलाई पछिल्लो चरणमा उनले ‘मुक्ति साधना' बनाएको देखिन्छ। उनका समवयी सहकर्मीहरू धेरैले किसुनजीलाई बुझेनन्। तिनले उनलाई गम्भीरतापूर्वक लिँदैनथिए। नेपाली कांग्रेसका थुप्रै नेता र कार्यकर्ताले किसुनजीलाई गाली गरेको पनि सुनेको छु। किसुनजीका ‘कटु वचन'ले चित्त दुखाउनेलाई पनि भेटेको छु। यस्तै, उनलाई आदर्शको पर्याय ठान्ने, सन्त भन्ने, महामानवको दर्जा दिनेहरू पनि थोरै छैनन्। उनी विद्वान् थिए। त्यसको गर्व पनि उनमा थियो। यदाकदा प्रकट पनि गर्थे।

उनलाई २००७ सालको हाराहारीमा चिन्नेहरूमध्ये धेरैले किसुनजीलाई खासै महत्व नदिएको वा हल्का टिप्पणी गरेको र जेलमा वा त्यहाँबाट छुटेपछि संगत गर्नेहरूले उनमा बढी नै आदर्श देखेको मैले पाएको छु। किसुनजीको जीवन स्वयंमा दक्षिण एसियाली राजनीतिमै उल्लेख्य देखिन्छ। व्यक्तित्वको अध्ययन गर्ने आधुनिक विधि प्रयोग गरेर उनको वस्तुनिष्ठ अध्ययन गर्ने हो भने यस्ता अनेकौँ आयाम प्रकट हुनसक्छ। हुनसक्छ, स्वतन्त्रता गुमेपछि किसुनजीको ऊर्जा चिन्तनमा केन्द्रित भयो। आत्मचिन्तले उनलाई अझ निखार्‍यो।

नेपाली कांग्रेसका नेताहरू बीपी, गणेशमानजी, सुवर्ण शमशेर, किसुनजी, गिरिजाबाबु सबैका आआफ्ना विशेषता छन्। तर किसुनजीबाहेक यी सबैले सम्भ्रान्त वर्गकै प्रतिनिधित्व गर्छन्। चिन्तनमा सुवर्ण शमशेर बढी समाजवादी पाइएलान् वा गणेशमानजी सर्वहाराका पक्षधर देखिएलान् तर जीवन शैली र संस्कारका दृष्टिले उनीहरू सम्भ्रान्त नै थिए। चरम विपन्नतामा पनि कोइराला परिवारमा सम्भ्रान्त वर्गका गुणहरू रहेको विवरण बीपीकै लेखनमा पाइन्छ। यस्तै अभावमा बाँचेका बेलामा पनि गणेशमानजीले त्याग गरेको ठानेर सन्तोष गर्नसक्थे। भन्छन्, गरिबीको दैन्य त्यागमा भोग्न सकिँदैन। तर किसुनजीको जीवन शैली भने सम्भ्रान्त थिएन। सामान्य थियो। प्रधानमन्त्री हुँदा ट्याक्सी चडेर लक्ष्मी दिदीको पसलमा चिया खान जाँदा उनले सुरक्षाकर्मी र औपचरिकताको झमेला पन्छाउनमात्रै खोजेका थिए होलान् तर उनलाई सामान्य जीवनप्रतिको मोहले उक्साएको हुनुपर्छ। उनको त्याग जीनव शैलीमै थियो। त्यो न अभावजन्य दैन्य थियो न अहंको उपज।

किसुनजीलाई प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापतिका रूपमा मात्र मूल्यांकन गर्नु उनलाई नचिन्नु वा उनको व्यक्तित्वमाथि अन्याय गर्नु हुनेछ। यस्तै, उनको विनोद र व्यंग्य र कतिपय अवस्थामा कपटी देखिने व्यवहारलाई पनि निरपेक्षरूपमा लिँदा किसुनजीप्रति अन्याय हुन्छ। उनले कतिपय सन्दर्भमा छुच्याइँ पनि गरेका छन्। कतिपय व्यक्तिको मन दुख्ने व्यंग्य गरेका छन्। नभन्नुपर्ने बेलामा र नभने पनि हुने कुरा भनेर अरूलाई अप्ठेरो अवस्थामा पुर्‍याएका छन्। यस्ता कतिपय घटना अनायासै भएका छन्। मैले त्यस्ता घटना सुनेको वा देखेको बेला लगाएको र अहिले घोरिएर सम्झँदा तिनमा देखेको अर्थ बेग्लाबेग्लै पाएको छु। यसैले कुनै घटना वा सन्दर्भमा सीमित गरेर किसुनजीलाई बुझ्न सकिँदैन। हुनत, व्यक्ति कोही पनि पूरै व्याख्येय हुँदैन।

किसुनजी राजनीतिक र वैयक्तिक स्वतन्त्रताका अनुपम उदाहरण हुन्। गान्धीजीले सत्यको साधना गर्ने क्रममा राजनीति गरे। किसुनजीको राजनीति स्वतन्त्रताको साधना थियो। अरू त्यही क्रममा भए गरिएका घटना हुन्। किसुनजीलाई ‘सामन्ती राजतन्त्र'का पक्षधर भएको दोष दिइयो। नेपाली कांग्रेसले महाधिवेशन नगरी राजतन्त्रलाई मिल्काउनु हुन्नथ्यो। कांग्रेसका कार्यकर्तामा स्वाभिमान भएको भए नेतृत्वको त्यस निर्णयविरुद्ध विद्रोह गर्नुपर्थ्यो। किसुनजीलाई चित्त बुझेन र उनले पार्टी छाडे। यत्तिकैका भरमा यी स्वतन्त्रताका अनन्य साधकलाई सामन्तका हिमायती ठान्नुभन्दा ठूलो गल्ती केही हुँदैन। उनले अपनाएको जीवन शैली नै सामन्ती संस्कारविरुद्ध थियो।

किसुनजीलाई राज्यले सम्मान गर्‍यो। यो उनको योगदानको कदर हो। तर, अराजकताको हदसम्म औपचारिकताको बन्धन अस्वीकार गर्ने किसुनजीलाई तोपको सलामी दिनु भने पटक्कै सुहाएन। तोपको सलामी वैभव र शक्तिको भड्किलो प्रदर्शन गर्ने सामन्ती कुसंस्कारको अवशेष हो। तोपले करुणा वा शोक जगाउँदैन। अहिले राजकीय सम्मानलाई यसरी ‘जंगीकरण' गरिरहनु जरुरी थिएन। त्यसमा पनि अहिंसाका उपासक, सामन्ती सान र वैभवको लोभ नभएका किसुनजीजस्ता नेतालाई तोपको सलामी दिनु उनको उपहास गरेजस्तो लाग्यो। परम्पराका नाममा मध्ययुगीन अवशेष धान्नुलाई के लोकतन्त्र भन्ने?
जेहोस्, आउने केही समय किसुनजी नेपाली समाजमा किंबदन्ति बनिरहने छन्। मुलुकको मति सप्रँदै गएमा उनका बारेमा अध्ययन अनुसन्धान र व्याख्या पनि हुनेछन्।

No comments:

Post a Comment