Monday, January 10, 2011

बर्दीकै बेइज्जत


सुडानमा खटिएको नेपाल प्रहरीको मिसनका लागि खरिद गरिएको सामान कामै नलाग्ने भएपछि संसदीय समितिले छानबिन गरेको थियो। राज्य व्यवस्था समितिले कमसल सामान खरिदमा उति बेलाका गृहमन्त्री र सचिव तथा प्रहरी महानिरीक्षकहरूलाई समेत दोषी ठहर गर्‍यो। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले सामान आफ्ना पालामा खरिद गरिएको भए पनि भुक्तानी दिनेले वस्तुको गुणस्तर हेर्नुपर्ने भन्दै आफ्नो प्रतिरक्षा गरेका छन्। उनको भनाइ तर्कसंगत पनि छ। सामान खरिद सम्झौतामा गुणस्तर र परिमाण किटान पक्कै पनि गरिएको हुनुपर्छ। तर, अहिलेले भुक्तानी दिएकाले पहिलेकालाई दोषै लाग्दैन भन्न चाहिँ मिल्दैन। यस घटनामा पहिलेका र अहिलेका प्रहरी प्रमुखको संलग्नता देखिन्छ। प्रहरीभित्र राजनीतिक हस्तक्षेपको इतिहास हेर्दा तालुकवाला मन्त्रीहरूको संलग्नताबिना सुडान घोटाला भयो भनेर पत्याउन सकिँदैन।

लाजिम्पाटबाट सामाखुसी निस्कने बाटामा रानीबारी भन्ने सानो प्राकृतिक वन छ। त्यहाँ बेलाबखत पूजाआजा, भोजभतेर, बिहाबर्तुन र फ्लिम सुटिङ पनि गरिन्छ। त्यही वनमा केही दिन यता एउटा सानो मञ्चजस्तो बनाइएको छ। धजापताकाले सिंगारिएकाले पूजामण्डप हो भन्ने लख काट्न सजिलै सकिन्छ। शुक्रबार मण्डप सजाउँदै गरेका व्यक्तिहरूसँग सोध्दा थाहा भयो अवकाशप्राप्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको कुल देवताको पूजाका लागि त्यो तयारी गरिएको रहेछ। तयारीमा खट्ने चाहिँ सबै बहालवाला प्रहरी रहेछन्। खरेलको पारिवारिक काममा खटिएका प्रहरी बिदा लिएर त्यहाँ गएका भने हैनन्। राजधानीको शान्तिसुरक्षाका लागि तोकिएको दरबन्दीकै प्रहरीहरू त्यहाँ गस्ती वा अरू ड्युटी छाडेर खरेलको सेवामा लागेका हुन्।

रानीबारीबाट बाहिर निस्केपछि ढोकामा प्रहरी सहायक निरीक्षकलगायत केही प्रहरी भेटिए। तिनलाई सोध्दा खरेलको पूजाको बारेमा थाहा त थिएन तर पारिवारिक काममा प्रहरी खटाइनुलाई सहज र स्वाभाविक रूपमा लिए। सहायक निरीक्षकले त्यसो हुनु उचित हैनसम्म भने तर अर्का एक जना त त्यसमा सहमत भएनन्। उनले सजिलै प्रहरीको जागिर निजामतीको जस्तो हैन। आदेश आएपछि जस्तो काम पनि गर्नु भने।
नेपाल प्रहरीलाई प्रतिदिन कमजोर र बदनाम बनाउँदै लैजानै कारण यस्तै घटना हुन्। नेपाल प्रहरी राज्यको जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय हो। अर्थात्, जनताले प्रहरीको अनुहारमा राज्य देख्छन्। त्यही अनुहार भ्रष्ट, कर्तव्यच्युत र मनोबलहीन देखिएपछि राज्यप्रति जनविश्वास समाप्त हुन्छ। लगातारका तीन जना महानिरीक्षक भ्रष्टाचारको सन्देहमा परेका संगठनको छवि कसरी उज्यालो हुन्छ? सुडान काण्डले त झन् नेपालबाहिर पनि नेपाल प्रहरीमा व्याप्त भ्रष्टाचारको पोल खोलिदिएको छ।

बर्दीधारी सिपाहीलाई घरेलु नोकरजस्तो व्यवहार गर्नेमा नेपाली सेनाका अधिकृतहरू निकै बदनाम छन्। तर, अच्युतकृष्ण खरेलको पूजाको बन्दोबस्त मिलाउन प्रहरीका खटाइएको देखेपछि प्रहरी संगठन पनि कम रहेनछ भन्ने लागेको छ। ‘लोकतन्त्रीकरण'का ठूला कुरा गर्ने नेताले साना सिपाहीको शोषण र दुरुपयोग भएको देख्दैनन्। रासन ठेक्कादेखि सुरु हुने तल्ला तहका बर्दीधारीको शोषण र दुरुपयोग कहाँसम्म हुन्छ भन्ने त्यही संगठनका भुक्तभोगीले थाहा पाएका होलान्। चेतना र आँटको अभावले उनीहरू आफूमाथि भएको अन्यायको विरोध पनि गर्न सत्तै्कनन्। सुडानमा बेइज्जत हुँदा जति नै रिस उठे पनि पोख्न सत्तै्कनन्। चित्त नबुझे पनि आदेश सुनेपछि मान्नु र चुप लाग्नु बर्दीको विशेषतै हो। तर, बर्दीलाई कलंकित बनाउने यस्ता घटनामा संगठनका अहिलेका र पहिलेका प्रमुखहरू नै संलग्न देखिनु भने सबैभन्दा दुःखद पक्ष हो।

यस्तो स्थितिमा सुधार भएन भने विष्फोट हुनसक्छ। प्रहरी र सेनाका बर्दीधारीलाई घरेलु नोकर नठान्ने र निजी काममा नलगाउने प्रथाको थालनी त्यहीँभित्र बाटभए राम्रो हुन्थो। नत्र, सरकारले हस्तक्षेप गरेर पनि बर्दीधारीको मानवीय मर्यादा जोगाउनुपर्छ। अनिमात्र उनीहरूको मनोबल उकासिनेछ। लोकतन्त्र सेना र प्रहरीका साना दर्जाका बर्दीधारी पनि आउनुपर्छ। हैन, अवकाशप्राप्त प्रहरी र सैनिक अधिकृतहरूलाई समेत घरेलु सेवक उपलब्ध गराउने हो भने यस्ता संगठनमा दरबन्दी धेरै भएको मानेर कटौती गर्नुपर्छ। देशको विकासमा लगाउनु पर्ने रकम अनावश्यक दरबन्दीका बर्दीधारी पाल्नु उचित हुँदैन

No comments:

Post a Comment