Sunday, October 10, 2010

निष्ठाको सम्मानमा नोबेल


चिनिया कारागारमा थुनिएका लियो स्याओ बोलाई ‘चीनमा आधारभूत मानव अधिकार निम्ति लामो र अहिंसात्मक संघर्ष'का लागि सन् २०१० को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। यस घोषणाबाट चीन सरकारलाई निकै रिसाएको हुनुपर्छ। अधिनायकवादीलाई आफ्ना विरोधीको सम्मान सहन साह्रै गाह्रो जो पर्छ। नत्र लियोलाई नोबेल पुरस्कार दिइएको बीबीसीको समाचारसमेत अवरुद्ध गर्ने हदको असहिष्णुता प्रदर्शन गर्ने थिएन। क्यानाडाबाट प्रकाशित हुने ‘ग्लोब एन्ड मेल'का समाचारदाता मार्क मेकिननका अनुसार बीबीसीमा समाचार हेर्दाहेर्दै ‘कारागारमा राखिएका चिनिया विद्रोहीले नोबेल शान्ति पुरस्कार' भनेपछि टेलिभिजनको पर्दा कालो भयो। त्यसको छ मिनेटपछि हंगेरीमा विषालु हिलोसम्बन्धी समाचारसँगै बीबीसीको प्रसारण पुनः देखियो। बीबीसीको प्रसारणमा लियोकी पत्नीसँग हालै गरिएको अन्तर्वार्ताको अंश पनि सामेल गरिएको थियो। लियोकी पत्नी जियाका अनुसार गत महिना कारागारमा भेट्दा उनका पतिले विगत वर्षमा मारिएका आन्दोलनकारीका बारेमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नोबेल शान्ति पुरस्कारबाट सम्मानित लियो सन् १९८९ को तियानआनमेन चोकको प्रदर्शनका अगुवामध्येका रहेछन्। यस्तै सन् २००८ को ‘चार्टर, ०८' घोषणा तयार गर्नमा पनि उनको प्रमुख भूमिका रहेछ। यो ‘चार्टर ०८' लाई चेकोस्लाभियामा कम्युनिस्ट शासन हुँदा वाक्लाव हावेललगायतका विद्रोहीले जारी गरेको ‘चार्टर ७७'कै चिनिया संस्करण मान्न सकिन्छ। यी दुवै चार्टर यथार्थमा लोकतन्त्रवादी नागरिकले जारी गरेका आआफ्नो मुलुकका मानव अधिकार घोषणापत्र हुन्। हावेलहरूलाई पनि त्यति बेलाको कम्युनिस्ट सरकारले मानव अधिकारको आग्रह गरेको ‘अपराध'मा पत्रे्कर थुनेको थियो। त्यसको एक दशक बित्दा नबित्दै कम्युनिस्ट साम्राज्य शान्तिपूर्ण आन्दोलनबाटै समाप्त भयो र पूर्वी युरोपमा लोकतन्त्र स्थापित भयो।
‘चार्टर ०८' मूलतः चीनमा लोकतन्त्र र मानव अधिकार बहालीको माग गरिएको घोषणा पत्र हो। यसमा सुरुमा ३५० जना मानव अधिकारकर्मी र लोकतन्त्रवादी चिनियाले हस्ताक्षर गरेका थिए। शक्ति पृथकीकरण, स्वतन्त्र न्यायालय, मानव अधिकारलगायतका विभिन्न १९ वटा विषयलाई आन्दोलनकारीले उठाएका छन्। मानव अधिकार घोषणापत्रको ६०औं वार्षिकोत्सव पारेर जारी गरिएको यस घोषणापत्रमा हस्ताक्षर गर्नेको संख्या करिब १० हजार पुगेको छ। लियोलाई यो घोषणापत्र जारी नहुँदै पक्राउ गरिएको थियो। उनलाई ‘राज्य विरुद्धको अपराध'मा ११ वर्ष कैद सजाय दिइएको छ।
अधिनायकवादी शासन साँच्चै नै बढी असहिष्णु हुन्छ। चिनिया विदेश मन्त्रालयले लियोलाई पुरस्कृत गर्दा पुरस्कारकै मर्यादा ‘उल्लंघन' भएको प्रतिक्रिया व्यक्त गरेको छ। चिनिया विदेश मन्त्रालयले लियोलाई सम्मानित गर्दा नर्वे-चीन सम्बन्धमा हानि पुग्ने धम्की पनि दिएको छ। त्यतिमात्र हैन नर्वेका राजदूतलाई बोलाएर पनि चीनले विरोध व्यक्त गरिसकेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताका अनुसार लिओ चिनिया कानुनअनुसार सजाय पाएका अपराधी भएकाले उनलाई पुरस्कृत गर्नु ...पुरस्कारकै उद्देश्यविपरीत' हो।
चीन सरकारको यो क्षोभ सामान्य नै हो। आफूले निभाएको ठानेको मानव अधिकार आन्दोलनको बत्तीमा तेल थप्ने प्रयासले रिस उठ्नु स्वाभाविकै हो। त्यसमाथि संसारको दोस्रो आर्थिक शक्ति भइसक्ता पनि यसरी हेपेको सहन चीनका कम्युनिस्ट नेतालाई पक्कै गाह्रो भएको होला। अधिनायकवादीको यो स्वभावै हो। उनीहरू आफ्नै सोचाइलाई अन्तिम सत्य ठान्छन्। सन् १९७५ मा रुसका आन्द्रेइ सखारोभलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्दा पनि रुसी कम्युनिस्ट शासकले यस्तै धम्की दिएका थिए। उनलाई पुरस्कार लिन जान दिइएन। यस्तै, आङ साङ सुचीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिँदा पनि यस्तै विरोध गरेका थिए बर्मेली सैनिक तानाशाहहरूले। सुचीलाई पनि पुरस्कार ग्रहण गर्न जान दिइएन। चीनका कम्युनिस्ट नेताहरू त दलाइ लामालाई बेइजिङको तियानआनमेन चोकमा लोकतन्त्रको माग गर्ने प्रदर्शनकारीमाथि ट्यांक गुडाएर दमन गरिएकै वर्ष (सन् १९८९) नोबेल शान्ति पुरस्कार दिइनु पनि चीन देशविरुद्ध षड्यन्त्र ठान्छन्।
लियोको समाचार प्रसारण प्रकाशन गर्न निषेध गरिए पनि त्यसबारे चीन सरकारले तुरुन्तै चर्को प्रतिक्रिया व्यक्त गर्‍यो। दी न्यु योर्क टाइम्सअनुसार लियोको समाचार आउने बेला सीएनएनको प्रसारण पनि अवरुद्ध पारिएको थियो भने मोबाइलबाट पनि चिनिया अक्षरमा लियोको नाम लेखिएमा एसएमएस अवरुद्ध गरिएको थियो। (पञ्चायतकालमा नेपालमा पनि यस्तै हुन्थ्यो। बीपीलाई थुनाबाट छाड्न गरिएको आग्रहसम्बन्धी समाचार दिइँदैन थियो तर त्यही आग्रहका विरोधमा व्यक्त प्रतिक्रियाको भने बढाइचढाइ प्रचार हुन्थ्यो। यसैगरी बीपीमाथि नेपालको अदालतमा मुद्दा चलाइएको छ कानुनबमोजिम हुन्छ भन्ने सरकारी टिप्पणी प्रचारप्रसार गरिन्थ्यो। बीपीलाई विभिन्न पञ्चभेलामा ‘महापञ्च'हरूले ‘फाँसीको सजाय' माग गर्थे। त्यो समाचार सरकारी मुखपत्रमा छापिन्थ्यो तर तिनै भेलामा बीपीका पक्षमा गरिएका टिप्पणी दबाइन्थ्यो।)
अधिनायकवादी शासकले सधँै बिर्सने अर्को सत्य चाहिँ लोकतान्त्रिक मुलुकमा सबै संस्था सरकारी नियन्त्रणमा हुँदैनन् भन्ने पनि हो। नर्वे सरकारमा लियोप्रति सहानुभूति राख्ने व्यक्ति होलान् तर नोबेल पुरस्कारको निर्णयमा तिनको निर्णायक प्रभाव हुँदैन। न्यायाधीशका रूपमा बर्दीधारी प्रहरीले नै मुद्दा फैसला गर्ने चिनिया सरकारका अधिकारीले राज्यभित्रका सबै संस्था र निकाय सरकारको अधीनमा हुँदैनन् भन्ने बु‰न नसक्नु सायद अस्वाभाविक पनि होइन।
लियोले सन् २००९ डिसेम्बर २३ का दिन लेखेको एउटा टिप्पणीको केही अंश यस्तो छ - ‘ममाथि चलाइने मुद्दाको म शान्तिपूर्वक सामना गर्नेछु। मलाई आफ्नो विश्वासमा कुनै पछुतो छैन र भविष्यप्रति आशावादी छु। म मेरो देशमा विभिन्न मूल्य, विचार, आस्था र रजानीतिक दृष्टिकोणको सम्मान हुने र सबै नागरिकले समानरूपमा उपभोग गर्न पाउने अभिव्यक्ति स्वतन्त्रता कायम हुने प्रतीक्षामा छु। वैचारिक प्रतिपर्स्धायुक्त शान्तिपूर्ण सहअस्तित्व होस्। बहुमत र अल्पमतका विचारलाई समान प्रत्याभूति दिइयोस्। विशेषगरी सत्तामा नभएकाहरूको राजनीतिक विचारलाई पनि पूर्ण सम्मान र संरक्षण प्राप्त होस्। सबै राजनीतिक विचारको खुला प्रचारप्रसार गर्न पाइयोस् र जनताले तिनलाई रोज्न पाउन्। सबै नागरिकले आफ्नो राजनीतिक विचार नडराईकन प्रकट गर्न पाउन्। असहमति व्यक्त गर्नेलाई राजनीतिक कारणबाट कारबाही नगरियोस्। म चीनको अन्तिम आस्थाको बन्दी हुन पाऊँ भन्ने कामना गर्छु र यसपछि आफ्नो अभिव्यक्तिकै कारण थुनामा कसैले पनि बस्नु नपरोस्।'
यी आस्थाका बन्दीको मानव अधिकार र स्वतन्त्रताप्रतिको मोह र प्रतिबद्धता निकै बलियो देखिन्छ। बीपीमा पनि यस्तै दृढता थियो। अन्तिम समयतिर बीपीले आफूलाई ‘पूर्ण निर्दोष ' हुँदाहुँदै पनि थुनेर मुद्दा चलाउनेहरूविरुद्ध समेत रोष व्यक्त गरेनन्। प्रतिशोध त धेरै टाढाको विषय भयो। ‘वादविवाद, पक्षविपक्षको प्रतिपक्षको मनोमालिन्यको स्थिति उत्पन्न गराउनु हुन्न' भन्ने उनको आग्रह थियो।
लियो लेख्छन्, - ‘अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको आधार, मानवीयताको स्रोत र सत्यको जननी हो। अभिव्यक्ति स्वतन्त्रता निषेध गर्नु मानव अधिकार कुल्चनु, मानवीयताको घाँटी अँचेट्नु र सत्यको दमन गर्नु हो। ... मलाई अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार उपभोग गरेर चिनिया नागरिकको समाजिक दायित्व पूरा गरेकोमा कुनै पश्चाताप छैन। यसका लागि दोषी ठहर्‍याइयो भने पनि मलाई कुनै दुःखमनाउ हुनेछैन।'
लियोका यी पंक्ति पढ्दा कुन्नि किन मलाई पटक पटक बीपी कोइरालाको सम्झना भयो। उनमा पनि लियोमा जस्तै कोमल मानवीय भावना, आफ्नो आस्थाप्रतिको अगाध समर्पण र अदम्य इच्छाशक्ति थियो। सुन्दरीजल कारागारबाट विशेष अदालतमा पेस गर्न तयार गरेको लिखित मस्यौदाको अन्तिम अंश भनेर ‘फेरि सुन्दरीजल' शीर्षकको उनको जेल डायरीको अन्त्यमा छापिएका केही पंक्ति यहाँ उद्धृत गर्न मन लाग्यो - ‘ इतिहास सम्मुख, जनताका सम्मुख, आफ्नो आदर्शका सम्मुख, यो न्यायालयका सम्मुख र महोदय तपाईँ न्यायाधीशका सम्मुख म आफूलाई पूर्ण निर्दोष भएको अनुभव गर्छु र त्यसैलाई यहाँ निवेदन गर्न चाहन्छु। तर महोदय, मेरो अध्ययन र विचारमा देश एउटा ठूलो संकटमा छ। स्थितिमा यो पटक्कै महत्वको कुरा छैन कि म कुनै कानुनको संकीर्ण अर्थ्याइबाट दोषी या निर्दोष प्रमाणित हुँ। मुख्य र महत्वपूर्ण कुरा त राष्ट्रिय एकता हो जसको आधार प्रजातन्त्र र समाजवाद हुन्छ। यस्तो जीवन मरणको प्रश्नपट्टि ध्यान दिलाउन र तत्परताका साथ राष्ट्रिय एकताका लागि प्रयत्नशील हुने उद्देश्यले म नेपाल फर्केको हुँ।' केही वर्ष बीपी बाँचेका र नेपाल पनि संसारका लागि महत्वको देश भएको भए यो पुरस्कार उनले पनि पाउँथे कि?
लियोलाई मुक्त गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीन सरकारसँग आग्रह गरेका छन्। गत वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित ओबामाले पुरस्कार ग्रहण गर्दा आफूले भनेको सम्झेका छन्। ओबामा सम्झाउँछन् - ‘गत वर्ष मैले नोबेल शान्ति पुरस्कार पाउने धेरै जनाले मैलेभन्दा बढी कष्ट सहेको स्मरण गरेको थिए। त्यस सूचीमा निष्ठाका पक्षमा स्वतन्त्रताको बलिदान गर्ने लियोको नाम पनि थपिएको छ। लियोलाई यस पुरस्कारद्वारा सम्मानित गरेर नोबेल पुरस्कार समितिले लोकतन्त्र, मानव अधिकार तथा विधिको शासनलगायतका विश्वव्यापी मूल्यलाई शान्तिपूर्ण र अहिंसात्मक माध्यमद्वारा निरन्तर उठाउने स्पष्ट र निडर प्रवक्तालाई रोजेको छ। लियोलाई यथाशीघ्र मुक्त गर्न हामी चीन सरकारलाई आह्वान गर्छौँ।'
शक्ति र सम्पत्तिको मात लागेको चिनिया सरकारले ओबामाका आग्रह मान्ला भनेर कसैले पनि पत्याएको छैन। तैपनि, ‘चार्टर ७७' का अगुवाहरूको जस्तै भाग्य ‘चार्टर ०८'का नायकको पनि होस् भनेर कामना गर्नु अपराध त हुँदैन नि। हुन पनि नोबेल शान्ति पुरस्कारले हैन लियो स्याओ बोहरूको समर्पण र निष्ठाले अधिनायकवादी सत्ताको जग हल्लाउने गरेको छ। लियोको तपस्या सफल भयो भने संसारको भविष्य पनि बदलिन सक्छ। लियोलाई बधाई र सफलताको शुभकामना!

No comments:

Post a Comment