Sunday, July 12, 2009

भर्सेलामा जनता

मूलतः जनतालाई 'जन्तु' ठान्ने मानसिकताले यसरी सताउने काम भएको हो ।

लन्डनबाट बैंकक आइपुग्दा लागेको थकाइ र निद्राले गलेको ज्यानमा काठमाडौं उत्रनेबित्तिकै कुन्नि कताबाट फुर्ति पलायो । विमानस्थलको भद्रगोलमा पनि पटक्कै रिस उठेन । अध्यागमनमा पालो पर्खँदा पनि दिक्क लागेन । स्वाइन फ्लुको परीक्षण पनि रमाइलै लाग्यो । अरू त अरू झिटीगुन्टा आइपुग्न निकै बेर उभिँदा थकाइ लागे पनि रिस उठेन । दिक्क लागेन । मनले हिथ्रोमा निकै छिटो सामान आइपुगेको सम्झेको त थियो तर हाम्रो विमानस्थल सानो छ भनेर चित्त बुझ्यो ।

विमानस्थलबाट बाहिरिने बित्तिकैदेखि भने हन्डर सुरु भइहाल्यो । चक्रपथमा ठाउँ ठाउँमा बन्द र आन्दोलन रहेछ । ट्याक्सी चालकले विमानस्थलबाट सामाखुसीसम्म ६ सय नपाए नलाने भने । भित्री बाटोबाट जानुपर्ने र जहाँसम्म सकिन्छ त्यहाँ पुर्‍याइदिने सर्त पनि ट्याक्सी चालकले राखे । उनका सर्त मान्नुको विकल्प थिएन । ट्याक्सी गुड्न लागेपछि बेलायतको यातायात प्रणाली सम्झेँ । लन्डनको भूमिगत रेलको मर्मत सुधार (इन्जिनियरिङ वर्कस्) भइरहेको रहेछ । धेरै पहिले नै कुन बाटो कुन दिन कति बेला बन्द हुने हो भनेर सूचना दिइएको थियो । तैपनि, उपभोक्तालाई मर्का नपरोस् भनेर मर्मतका लागि बाटो बन्द भएका दिन गन्तव्यमा पुर्‍याइदिने बसको बन्दोबस्तको गरिएको थियो । हाम्रो भने एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सहरभित्र पस्न गल्लीभित्रबाट लुकेर जानुपर्ने अवस्था । दिक्क लाग्यो । धन्न बाटामा ओर्लन परेन ।

त्यसपछि त झन् बिच्छुकै लागेजस्तो भयो । भोलिपल्ट सामाखुसीबाट माइक्रो बसमा कोचिएर गएको केशरमहलबाट प्रहरीले नै अगाडि जान दिएन । पैसा लैनचौर नपुग्दै उठाइसकेका ड्राइभर र उनका सहयोगी सुन्धारा जाने यात्रुलाई रुखो स्वरमा छिटो ओर्लन आदेश दिन थाले । तिनमा यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने दायित्वबोध पटक्कै देखिएन ।

ट्याक्सीमा जाने प्रयास गर्दा उल्टै क्षेत्रपाटी पुगियो । त्यहाँबाट बसन्तपुर निस्कने बाटोमा छिचल्नै नसकिने ट्राफिक जाम थियो । उछिनापाछिनको चक्करमा सबै फसेका थिए । मिले पनि नमिले पनि अरूलाई उछिनी हाल्न खोज्ने मोटरसाइकल चालकले एकातिर बाटो पूरै ढाकेका थिए भने साना र मझ्यौला मोटर चालक पनि के कम? टसमस नगरी हर्न मात्रै बजाएर बसेका थिए । हिँड्ने ठाउँ नै थिएन । अनि फेरि बेलायतको सम्झना भयो । पैदल यात्रुको सुविधालाई विशेष ख्याल राखिएको छ । त्यसैगरी साइकल चढ्नेलाई पनि प्रोत्साहन गरिएको रहेछ । मिलेसम्म साइकल चलाउने छुट्टै बाटो बनाइएको छ । म केही दिन इस्टबर्नको ह्याम्पडेन पार्क भन्ने सानो गाउँमा आफन्तसँग बसेको थिएँ । त्यहाँ र लन्डन महानगर दुबै ठाउँमा समान रूपमा साइकल र पैदल यात्रुको सुविधाको ख्याल राखिएको देखेँ । यहाँ भने पैदल हिंड्नेलाई साइकल चढ्नेले र उसलाई मोटरसाइकल चलाउनेले हेप्छ । मोटर हाँक्नेको त कुरै भएन । वर्षा लाग्यो अब कसले कुन बेला सडकको हिलो छ्यापेर दगुर्छ भनेर थर्कमान हुनुपर्छ । जेब्राबाट बाटो काट्दा पनि ज्यान जोगाउन धौ धौ हुन्छ ।

सार्वजनिक सबारी चालकमा यात्रुको सुविधामा ध्यान दिने अभ्यास नै छैन । बाटामा बूढाबुढी, मोटो मान्छे वा अपांगता हुनेले चढ्न खोजे भने पहिले त सितिमिति मोटर नै रोक्तैनन्, रोकिहाले पनि चढ्न दिँदैनन् । बेलायतको रेल र बसमा अपांगता हुनेका लागि विशेष व्यवस्था गरिएको हुँदो रहेछ । त्यहाँ अशक्त कसैले पनि सार्वजनिक यातायातमा आत्तिनु पर्ने वा आफूलाई निरिह ठान्नु पर्ने अवस्था छैन । त्यसमाथि पाकाहरूलाई त भाडा पनि नलाग्ने रहेछ । रगमार्क इन्टरनेसनलका सदस्य डेभिड ओउल साइकल चढ्दा रहेछन् २० किलोमिटरसम्म पनि । भन्दैथिए - बस वा रेलमा आएको भए सजिलो हुन्थ्यो, भाडा पनि लाग्दैन तर सकुन्जेल त साइकल नै चढ्ने हो । हाम्रोमा भने माइक्रोवालाले बूढाबुढीलाई सकेसम्म नचढाउन खोज्छन् । पैसा नलिने त कुरै भएन ।

भोलिपल्ट घर फर्कन लाग्दा सुन्धारामा सामाखुसी जाने माइक्रो बस रोक्दै नरोकी जान थाले । प्रहरीले नै लखेटी रहेका थिए । बल्ल एउटाले माइक्रो रोकिएजस्तो गर्‍यो र चढ्न भ्याएँ । राष्ट्रपति रामवरण यादव संसद्मा सम्बोधन सकेर फर्कने बेला हुन लागेकाले सडक खाली गराउन माइक्रो बसलाई लखेटिएको रहेछ । राष्ट्रपतिको सम्बोधन म घर पुग्दा बल्ल सकिएको थियो । अर्थात्, प्रहरीले चाहिनेभन्दा धेरै पहिलेदेखि र जताततै बाटो छेकेका रहेछन् । राष्ट्रपतिलाई बानेश्वरबाट अनामनगर डिल्लीबजार, कमलपोखरी, बालुवाटार हुँदै महाराजगन्ज लगेको भए सार्वजनिक यातायातमा खासै प्रभाव पर्ने थिएन । हुनत, त्यो पनि गर्नु आवश्यक थिएन ।

अगाडि एउटा साइरनयुक्त प्रहरी भ्यान हिँडाएर पनि विशिष्ठ व्यक्तिको आवागमन सहज बनाउन सकिन्छ । विदेशमा त त्यसरी विशिष्ठ व्यक्तिलाई हिँडाएको देखिएको छ । बाटो रोक्दा पनि अत्यन्त कम समयका लागि रोकिन्छ । मूलतः जनतालाई 'जन्तु' ठान्ने मानसिकताले यसरी सताउने काम भएको हो ।

बाटो थुनेर आवागमन सुरक्षित हुन्छ भन्ने सुरक्षाकर्मीको सोच गलत हो । हुनत, यो सुरक्षा अधिकारीहरूमा भरिएको सामन्ती संस्कारको अभिव्यक्ति हो तर राष्ट्रपति, प्रधानमन्त्री हुनेहरूले आफ्ना कारण जनताले पाएको सास्तीका बारेमा सोच्नु चाहिँ पर्ने हो । मुलुकबाट राजतन्त्र त फालियो तर सामन्ती संस्कार, सोच, अभ्यास र व्यवहार भने जस्ताको तस्तै रह्यो । यथार्थमा जनतालाई हेप्ने सामन्ती प्रवृत्ति नै यसको कारक हो ।

जनताको मुक्तिका नाममा राजनीतिमा ६ दशक बिताएका गिरिजाप्रसाद कोइरालादेखि भैसी चराएर आएको हुँ भनेर जनताको नजिक हुन खोज्ने रामवरण यादवले राजसी ठाँट कायमै राखे । आफूलाई मुक्ति नायक ठान्ने पुष्पकमल दाहाल पनि उनीहरूभन्दा बेलै भएनन् । सामान्य व्यक्तिका लहरमा उभिन खोजेको देखाउने माधवकुमार नेपालले पनि त्यही परम्परा धाने । आफूलाई कुनै हानि नपुग्ने तर धेरै जनाले सास्ती भोग्न नपर्ने विषयमा पनि संवेदनशील हुन नसक्नेहरूले साँच्चै नै जनताको हितमा के गर्लान् र?

No comments:

Post a Comment