
त्रिपुरेश्वरमा माग्न बसेकी यी भारतीय महिलासँग कुराकानी गर्दै उनका आफन्त । हेर्दा माग्नु नै उनीहरूको पेसाजस्तो पो देखियो । यस्तो पेसा बनाउने प्रवृत्तिलाइ निरूत्साहित गर्नुपर्ने हो कि ?
आक्रमणलगत्तै अमेरिकालाई साथ दिने पाकिस्तान अहिले पछुताएको देखिएको छ। अफगानिस्तानमा अमेरिकी नेतृत्वमा नेटोले सैनिक कारबाही गरेपछि तालिबानी र अल कायदाका नेता पाकिस्तान पसे। उनीहरूले आतंक पनि सँगै लिएर आए। फलस्वरूप, अहिले पाकिस्तान 'जेहादी आतंक'बाट सबैभन्दा बढी पीडित भएको छ। पाकिस्तानी सेना सबैभन्दा बाक्लो उपस्थिति भएकै सहरमा अल कायदाका नेता बिन लादेन मारिए। यसले पाकिस्तानको शासनप्रति अमेरिकामा चरम अविश्वास उत्पन्न भएको छ। अमेरिकाले युद्धपछि वर्षको डेढ खर्ब डलर जति सहायता पाकिस्तानलाई दिएको छ। तैपनि, पाकिस्तानले आफूलाई आतंकबाट सबैभन्दा पीडित मुलुक भन्न र ठान्न थालेको छ। पाकिस्तानको भौगोलिक क्षेत्रभित्रै अमेरिकाले सैनिक कारबाही गर्ने गरेको छ। पाकिस्तानी गुप्तचर संस्था आईएसआईको तालिबानीसँगको सम्बन्धका कारण सूचना दिइए चुहिने डरले होला त्यस्ता कारबाहीमा पाकिस्तानलाई सुइँको पनि दिइँदैन। लादेनै मारिँदा पाकिस्तान पनि सरकार र सेनाले थाहा दिइएन। पाकिस्तानको आजको अवस्था हेर्दा 'सार्वभौमसत्ता'कै परिभाषा फेर्नुपर्ने हो कि भन्ने लाग्छ। यस्तै, यति धेरै अविश्वास भएपछि मित्रता झन् डरलाग्दो हुनसक्छ।
अल कायदा र तालिबानजस्ता संगठनले जति विध्वंश मच्चाएर पनि अन्ततः हार्नैपर्छ। नत्र, सभ्यता हार्छ। बिन लादेनलगायतका अलकायदाका अगुवा मारिए। मुसलमान विश्वमै अल कायदाको साख १० वर्ष पहिलेभन्दा धेरै गिरेको छ। पश्चिममा उसको समर्थन घटेको छ। प्रविधि र पैसा आउने बाटो साँगुरो भएको छ। अहिले संगठन छितरिएको छ। यसैले झन् खतरनाक भएको छ। तर, विध्वंश गर्नमात्र सक्ने संगठन हुन पुगेको छ। रुसी सैनिकलाई परास्त गरेर मुलुकलाई 'मुक्त' गर्ने तालिबान अब 'जेहादी' भन्दा बढी 'अपराधी' ठानिन्छ। इस्लामी जगतमै पनि कतिपय पहिलेका समर्थक र सहयोगीले सम्बन्ध तोडेका छन्। सायद, अब अल कायदा विश्व स्तरको चुनौती रहेन। ( त्यसो त पहिले पनि थिएन कि?) अरब जागरण र त्यहाँ लोकतन्त्रको खोजी पनि प्रकारान्तरले कट्टरपन्थीहरूको पराजय नै हो।
प्यालेस्टिनी राज्यको विवादमा अमेरिकाले फेरि साथी गुमाउने लक्षण देखिएको छ। प्यालेस्टिनी जनतालाई ओबामाले पनि स्वतन्त्र राष्ट्रको सपना देखाएका थिए। अहिले पुरा हुने बेला आउँदा अमेरिकाले निषेधको बाटो रोजेको छ। हुनत, इजरायली र प्यालेस्टिनी नेताहरूले वार्ताबाटै स्वतन्त्रताको समस्या समाधान गरेको भए उत्तम हुनेथियो। अमेरिकाले यसमा बढी नै जोड दिनुपर्थ्यो। सहजीकरणमा अग्रसर हुनुपर्थ्यो। इराक आक्रमणबाट गुमेको अरब जनताको सद्भाव फर्काउन यो सर्वोत्तम उपाय हुन्थ्यो। यस पटक पनि अमेरिकाले प्यालेस्टिनी राष्ट्रको 'धाई' बन्ने अवसर गुमाउने लक्षण छ। इजरायललाई जसरी नै प्यालेस्टिनलाई पनि निषेध गर्न सकिँदैन। अमेरिकाले नचाहे पनि ढिलोचाँडो प्यालेस्टिन राज्य त बन्छ। दलगत राजनीतिक लाभहानिका कारण लोकतन्त्रका आधारभूत मूल्य मान्यताको उपेक्षा गर्ने 'रिपब्लिकन रोग'बाट ओबामा पनि मुक्त हुननसक्नु अमेरिका र प्रकारान्तरले संसारकै अर्को दुर्भाग्य हो।
आर्थिक कारणले पनि अब अमेरिकाले 'विश्व प्रहरी'को भूमिका पूरा गर्न सत्तै्कन भन्ने सन्देह धेरैले प्रकट गरेका छन्। सम्भवतः यही बुझेर ओबामाले सुरुका दिनमा राष्ट्रसंघलाई अगाडि सार्ने नीति लिएका थिए। विश्वको बहुध्रुवीय चरित्रलाई स्वीकार गरेर उनले युरोपमा सद्भाव पनि बढाएका थिए। आफ्नो गुण जोगाउन भने उनले प्रयास गरेको देखिएन। यसैले अहिले अमेरिका द्विविधामा देखिएको छ। किन्तु, अझै पनि निकट भविष्यमा अमेरिकाको ठाउँ लिने कोही देखिँदैन। यसो त, अमेरिकाको गन्तव्य पनि धेरैजसो नियतिले तय गर्ने गरेको छ। व्यापारमा रमाउने मुलुकलाई युद्धमा होमिने रहर त नहुनु पर्ने हो तर कर नपरे पनि 'जाइ कटक गर्ने' प्रवृत्ति अमेरिकी चरित्र बनेको देखिएको छ। सन् १९९० पछि अमेरिकाले संसारका सबै महादेशमा सशस्त्र हस्तक्षेप गरेको छ तर झन् एक्लिएको छ। शीतयुद्धपछि संसार बदलिइसकेको छ। चीन आर्थिक र सामरिक दुवै दृष्टिले निकै शक्तिशाली र आक्रामक बन्दै गएको छ। भारतको उदयले अमेरिका दक्षिण एसिया नीतिमा परिवर्तन गर्नैपर्ने अवस्थामा पुगेको छ। मध्यपूर्व र अफ्रिकामा लोकतन्त्रको लहर चल्नु सुखद संकेत भए पनि त्यसले अमेरिकालाई चुनौती नै थपेको छ। अब त्यहाँ पनि इजरायलमुखी परम्परागत नीति बदल्नुपर्ने बाध्यता उत्पन्न भइसकेको छ। युरोपसँग अब अमेरिकाको प्रतिस्पर्धा र सहयोग दुवै नयाँरूपमा हुनेछ। विश्वयुद्ध पछिको पुस्ता निर्णायक बन्दै जाँदा युरोप र जापानमा पनि अमेरिकाप्रतिको धारणा बदलिनसक्छ। आश्चर्य, संसार यति बदलिए पनि अमेरिकाले यसलाई स्वीकार गरेको चाहिँ देखिएको छैन।
अमेरिकाले आफ्नो धर्म ( स्थापनाको सिद्धान्त) को जहाँ पालना गर्यो त्यहाँ उसले जितेको छ। जापान र जर्मनीलाई ध्वस्त पार्ने अमेरिकै हो तर त्यहाँ उसले आफ्नो धर्मको पालना गर्यो। अहिले ती दुवै मुलुक अमेरिकाका भरपर्दा साथी र उदार समाजका उदाहरण बनेका छन्। भियतनाम र इराक आक्रमण अमेरिकाको अर्घेल्याइँ थियो। भियतनामबाट त नराम्ररी हारेरै फर्कनु पर्यो भने इराकको जित हारभन्दा बढी प्रत्युत्पादक हुने लक्षण देखिन थालेको छ। अमेरिकाको जग उदार लोकतन्त्रका मूल्यमान्यता, स्वतन्त्रता र वैयक्तिक मर्यादाका टिकेको छ। तिनलाई बिर्सेर वा उपेक्षा गरेर अमेरिका अगाडि बढ्न सक्तैन। भनिन्छ, 'धर्मो रक्षति रक्षित'।
