Tuesday, September 14, 2010

बाल दिवस, २०१०


नेपालमा आज बाल दिवस मनाइयो । यी बालिका सहिदगेटबाट धरहरा जाने बाटाको आकासे पुलमा माग्दै गरेकी बालिका । राज्य, समाज र हामी सबैका लागि लाजमर्दो हैन त?

Tuesday, September 7, 2010

आजका बालबालिका



उम्रँदैमा तीन पात । आजका बालबालिका । मोबाइलमा ध्यान दिएर गीत सुन्ने बालक र मोटरबाइक हाँकेको अभिनयमा रमाएकी बालिका उम्रँदै तीन पाते छैनन् त ?

Sunday, September 5, 2010

कांग्रेस कस्तो होला ?

नेपाली कांग्रेस फुटाउनेहरूमात्रै देउवाको उमेदवारी घोषणामा सरिक भए । शेरबहादुर देउवाले कांग्रेसलाई २०४८ सालमा हैन २०५८ सालमा पुर्याउने संकेत यही हो। शेरबहादुरको समूहमा खुमबहादुर फर्किएका छन् । रामचन्द्र पौडेललाई तटस्थ बस्न दबाब दिनेहरू पनि सबै शेरबहादुरकै हितैषी हुन् । सुशील कोइरालाको भोट कटाउने उनीहरूको रणनीति कांग्रेसका महाधिवेशन पतिनिधिले बुझ्नुपर्ने हो । भीमबहादुर तामाङलाई यिनले सुशील कोइरालाको भोट कटाउने अश्त्र ठानेजस्तो छ ।
शेरबहादुर देउवाले जिते कांग्रेस सकिन्छ। सुशील कोइरालाले जिते जसोतसो अडिन्छ। भीमबहादुर तामाङले जिते कांग्रेसको आत्मा बिउँझिन सक्छ ।
जवानीका केही दिन खर्चेकाले हो कि वास्तै नगरूँ भन्यो कता कता माया लागेर आउँदो रहेछ । के गर्नु ?

जनताको दल कि कुलीन क्लब?


केही वर्ष यता प्रतिक्रियाको रणनीतिमा रमाएको नेपाली कांग्रेस सैद्धान्तिक पक्षमा पनि अलमलिँदै गएको छ। स्थापना कालमा कांग्रेस उदार लोकतन्त्रवादी दल थियो। शीतयु्द्ध ताका असंलग्न छवि निर्माण गर्न तेस्रो विश्वका अधिकांश नेताले ‘समाजवाद' अपनाए। नेपाली कांग्रेसका नेताले पनि २०१२ सालपछि ‘प्रजातान्त्रिक समाजवाद'लाई सिद्धान्तका रूपमा ग्रहण गरेका हुन्। त्यो रणनीतिक निर्णय थियो तर पछिका सबै नेताले त्यही रट लगाए। समाजवाद कांग्रेसीका लागि गरिबहरूलाई भुलाउने सबैभन्दा मीठो र सजिलो नारा भयो। सत्तामा पुगेपछि शिक्षा र स्वास्थ्य बजारमा छाड्ने तर मल र पेट्रोलको व्यापार राज्यले गर्ने नीतिलाई कांग्रेसले प्रोत्साहन दियो। राज्यलाई प्रभावकारी र जनतालाई शक्तिशाली बनाउने उदार लोकतान्त्रिक पद्धति सुरु गर्नुको साटो बजारलाई प्रभावकारी र राज्यलाई शक्तिशाली बनाएर कांग्रेसले जनतालाई कमजोर बनायो। सायद, अहिलेको दुर्गतिको मूल कारण यही हो।

पछिल्लो सशस्त्र आन्दोलन स्थगित गरेपछि नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय मेलमिलाप, गणेशमान सिंहको कम्युनिस्टसँगको सहकार्य र गिरिजाप्रसाद कोइरालाको लोकतन्त्रका निम्ति राजासँग नमिल्ने नीति बखतबखतमा अपनाएको सैद्धान्तिक रणनीति हो। आसन्न बाह्रौं महाधिवेशनमा प्रस्तुत गरिने भनिएको आधारपत्रमा पनि यिनै पुराना नीति र रणनीतिलाई गज्यांगमज्यांग पारिनेभन्दा थप सायद केही हुनेछैन। किनभने, नेपाली कांग्रेसमा चिन्तनको खडेरी जो परेको छ। इतिहास र संसारको राजनीतिक विकासले साथ दिएकालेमात्र कांग्रेस असान्दर्भिक नभएको हो। नत्र, अहिलेसम्म कांग्रेस कुलीनहरूको क्लब भइसक्ने थियो।

अहिलेसम्म नभए पनि अब नेपाली कांग्रेसलाई कुलीनको क्लब बनाउन सायद समयले पनि रोक्न सक्नेछैन। कारण, यस अधिवेशनपछि कांग्रेसलाई ‘कार्यकर्तामा आधारित' अर्थात् ‘क्याडर बेस्ड' पार्टी बनाउन जो खोजिएको छ। अहिलेसम्म नेपाली कांग्रेस जनाधारित (मास बेस्ड) पार्टी थियो। यसैले सामान्य जनताको पहुँचमा पनि थियो। कार्यकर्तामा आधारित दलमा स्वाभाविकरूपमा कार्यकर्ताकै बोलवाला हुन्छ। अझ पूर्णकालीन कार्यकर्ता पार्टीका मूल स्तम्भ हुन्छन्। कुनै नेता वा कार्यकर्ताको समूहले नीति तय गर्छ। जनतामा त्यही नीति थोपरिन्छ। नेताले पूर्णकालीन कार्यकर्ताको भरणपोषणको व्यवस्था गर्नुपर्ने भएपछि सत्तामा जान जस्तोसुकै सम्झौता पनि गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ।

पूर्णकालीन कार्यकर्ता पाल्नु नपर्ने भएकैले कांग्रेस ‘संगठित भ्रष्टाचार' बाट अहिलेसम्म जोगिएको थियो। कांग्रेसका नेतामाथि भ्रष्टाचारको आरोप लागे पनि सिंगो पार्टी त्यसमा मुछिएको थिएन। त्यसैले अरू पार्टीका तुलनामा अपेक्षाकृत स्वच्छ आचरणका नेताको संख्या नेपाली कांग्रेसमा बढी देखिएको हो। अब त्यस्तो अवस्था रहने छैन। पार्टीका मेरुदण्ड पूर्णकालीन कार्यकर्ता पाल्न महिनैपिच्छे ठूलो रकम चाहिने छ। त्यसको बन्दोबस्त व्यापारी र ठेकेदारले गर्नेछन्। पार्टीका नेताले उनीहरूको लाभका लागि राज्यलाई घाटा पर्ने निर्णय गर्नुपर्नेछ। ठेक्कापट्टामा कार्यकर्ता खटाएर भागबन्डा गराउनु पर्नेछ। फकाएर, तर्साएर वा बलै प्रयोग गरेर पनि पार्टीका लागि पैसा जुटाउनु पर्नेछ।

व्यापार, ठेक्कापट्टाजस्ता काममा पार्टीकै प्रत्यक्ष संलग्नता हुनेछ। यसका लागि बाहुबली कार्यकर्ता परिचालन गर्नुपर्नेछ। तिनले गर्ने सबै प्रकारका अपराध र ज्यादतीको पार्टीले जिम्मा लिनुपर्नेछ। अपहरण, हत्या वा जस्तोसुकै अपराध गरे पनि पार्टीले संरक्षण गर्नुपर्नेछ। त्यसपछि भीमबहादुर तामाङै सभापति भए पनि पार्टी प्रकारान्तरले 'माफिया संगठन' बन्न पुग्नेछ।

निश्चय पनि जाधारित पार्टीको व्यवस्थापन सजिलो हुँदैन। विशेषगरी सैद्धान्तिक अस्पष्टता र ‘करिस्माटिक' नेता नभएका अवस्थामा जनाधारित पार्टीले आकर्षण पनि गुमाउँछ। समर्थनको आधार खुम्चँदै जान्छ र पार्टी निर्वाचनमा कमजोर देखिन थाल्छ। पार्टी कमजोर हुने, निर्वाचनमा हार्ने र जनाधार खुम्चने शृंखलाको कडी चुँडाउन पनि कठिन हुन्छ। तर, त्यसको विकल्प पार्टीको मौलिक स्वरूपमै परिवर्तन गर्नु होइन। जनाधारित पार्टीजस्तै सबैको विचार समेटेर निर्णय गर्ने अभ्यास र सैद्धान्तिक स्पष्टता भए कांग्रेसको जनाधार बढ्थ्यो। आकर्षक र आदर्श व्यक्तित्व नेतृत्वमा पुगेमा कांग्रेसप्रतिको समर्थन बढ्न बेर लाग्ने थिएन।

कार्यकर्तामा आधारित पार्टी भएपछि कांग्रेसमा पनि कम्युनिस्टहरूकै जस्तो कार्यकर्ताको सरुवा, बढुवा र पदस्थापनाको अभ्यास सुरु होला। त्यस अवस्थामा पैसाको जोहो गर्न नसक्ने व्यक्ति पार्टीको नेता हुनै सत्तै्कन। कांग्रेस सिद्धान्त र संगठनमा समेत कम्युनिस्टहरूकै पछि लाग्ने हो भने यसप्रतिको आकर्षण समाप्त हुनेछ। यस्तै, कम्युनिस्टको अलोकतान्त्रिक र केन्द्रीकृत शैली तथा अभ्यासभन्दा आफूलाई कांग्रेसले फरक देखाउने बाटो पनि बाँकी हुनेछैन। तलबी कार्यकर्ता भर्ती गरेर पार्टी चलाउन थालेपछि कांग्रेससँग वाईसीएल भंग हुनुपर्छ भन्ने नैतिक अधिकार पनि हुँदैन। अनि, जनताले कांग्रेसलाई समर्थन गर्नुपर्ने कारण पनि बाँकी रहँदैन।

अहिले पार्टी कब्जा गर्न यस्तो कार्यकर्ता रिझाउने प्रस्ताव ल्याइएको हुनसक्छ। पार्टीलाई आफ्नो मुठ्ठीबाट उम्कन नदिन कार्यकर्तामा आधारित बनाउन खोजिएको हुनसक्छ। तर कुलीनहरूको क्लब बनाउने नियतले नेपाली कांग्रेसलाई कार्यकर्तामा आधारित पार्टी बनाइयो भने अन्ततः बाहुबलीको अखाडा बन्न पुग्नेछ।


आमा छोरा


आइतबार (५ सेप्टेम्बर, २०१०) बिहान म्हेपीमा आमा गफमा व्यस्त छोरा खेल्नमा मस्त । यसरी छाडदा बालकले केही खान नहुने खायो वा चोट लाग्ने गरी लड्यो भने ....

Friday, September 3, 2010

बालक र परेवा


म्हेपीमा परेवालाई आहारा दिँदै सानो बाबु ।

धरहरासामु फोहोरको थुप्रो



अन्त त अन्त, धरहरासामु पनि फोहोर थुपारेरै छाडियो । बालुवाटार र सिंहदरबारमा थुपार न बरू । नालायक सरकार ।