Saturday, May 14, 2016

विधि र पद्धतिको अभावमा निरीहताको अनुभव


सामान्य नेपाली नागरिकका रूपमा हामीमध्ये धेरैले पटकपटक निरीहताको अनुभव गरेकै छौँ। दैनिक जीवनका यस्ता भोगाइप्रति अब त निस्पृहता उत्पन्न भइसकेको छ। यसैले कतै कसैलाई भन्नु वा सुनाउनु आफ्नो कमजोरीमा अरूलाई हसाँउने मूर्खता ठानिन सक्छ।  यही साता दुई घटनामा व्यक्तिका रूपमा मैले अनुभव गरेको निरीहता धेरैलाई अत्यन्त सामान्य लाग्नसक्छ। यस्ता मामुली कुरामा समय फाल्नु नै कतिका लागि वाहियात लाग्न सक्छ। यो पढ्दा कसैलाई समय खेरै गएजस्तो लाग्यो भने अहिले नै क्षमा माग्छु।

मोटरको धक्का र ट्राफिक प्रहरी
सोमवार कार्यालयबाट घर फर्कने क्रममा लाजिम्पाटको रानीबारी चोकमा ओर्लेर सामाखुसीतिर लागेँ। रानीबारी पुग्ने बेलामा अलि ठाडो ओरालो छ। दायाँ छेउमा हिँड्दै थिएँ रानीबारीतिरबाट एउटा बोलेरो जिप अलि उत्ताउलो चालमा आएजस्तो लाग्यो। झन् छेउ लागेर उभिएँ। बोलेरो नजिकै आयो र साइडको ऐनाले हानेर अगाडि बढ्यो। एकै छिन त सातै गयो। अनि तत्कालै ट्राफिक प्रहरीलाई १०३ मा फोन गरेर घटनाको विवरण टिपाएँ। ट्राफिकले चाहैकै भए सांग्रिला होटल पुग्दा नपुग्दै मोटर समाउन सक्थ्यो। घटनाका बारेमा ट्विट पनि गरेँ। ट्विट फेसबुकमा पनि पोस्ट भएपछि केहीलाई अत्याएछ पनि। यसको कथा पछि कतै।
ट्राफिकमा महिला प्रहरीले फोन उठाएकी थिइन्। उनलाई गाडीको विवरण र मेरो मोबाइल नम्बर टिपाएको थिएँ। भोलिपल्ट बिहानसम्म कुनै खबर आएन। एकपटक बुझौँ कि भनेर फेरि फोन गरेँ। मलाई केही भएको छैन तर ड्राइभरलाई यसरी लापरवाहीसँग गाडी चलाउनु हुँदैन भन्ने सम्झाउन पनि कारबाही होस् भनेर घटनाको विवरण टिपाएको हो भने। मंगलबार बिहान फोन पुरुष प्रहरीले उठाए । उनले सोमबारको विवरण हेरे र मेरो फोन नम्बर भेटिएको बताए। मैले विवरण फेरि टिपाएँ। पर्खेर बसेको छु। तर, मलाई त्यस ड्राइबरले थलै पर्ने गरी हानेको भए पनि ट्राफिक प्रहरीले त केही गर्ने रहेनछ। धेरै घटनामा त्यस्तै भएको पिन छ।
ट्राफिक प्रहरीले खोजेको भए त्यो ड्राइभर र मोटर सजिलै पहिल्याउन सक्थ्यो भन्ने लाग्छ । म राजनीतिक वा प्रशासनिक शक्तिसँग निकट भएको भए वा शक्तिशाली व्यक्ति भएको भए सायद ट्राफिक प्रहरीले तुरुन्तै खोजखबर गर्ने पनि थियो होला।
देशमा विधि हैन शक्तिको शासन चल्ने पद्धतिको बीजारोपण पञ्चायतले गरेको थियो। दुर्भाग्य, पञ्चायत हटाइएको २७ वर्ष पुग्दा पनि नेपालमा विधिको शासन कायम हुन सकेन।

एसटीसीको ग्यास र डिलरको फट्याइँ
आन्दोलन मधेसवादी दलले गरे। नाका भारतले थुन्यो। मर्का सर्वसाधारण नेपालीले भोग्यौँ । सबैभन्दा अभाव सहरी क्षेत्रका उपभोक्तालाई खान पकाउने एलपी ग्यासको भयो। घरमा नेपाल, एसटीसी र ओम ग्यासका सिलिन्डर थिए। ओम ग्यासका स्थानीय डिलरले आवास क्षेत्रका उपभोक्तालाई जसोतसो ग्यास उपलब्ध गराए। नेपाल ग्यास पनि बालाजुबाटै एक सिलिन्डर पाइयो। ब्ल्याकमा किन्न परेन। करिब ६ महिना पहिले नै एसटीसी ग्यासको सिलिन्डर पनि खाली भयो। रानीबारीका डिलरसँग लिने गरेकाले उनैसँग भने। उनले अर्को साता, यही साता, पर्सि, भोलि र भरे भन्दै टारेको टारेकै गरे। घरमा छाक बसेको थिएन। देलान् नि भनेर पत्याएर पर्खेर बसेँ। गएको साता उनले एउटा रेस्टुराँका लागि २ वटा भरी सिलिन्डर लैजाँदै गरेको देखेँ। अप्ठेरो लागेछ कि कुन्नि मैले केही नभनीकनै ‘तपाइँलाई भोलि ल्याइदिन्छु है’ भने। थापा थरका ती डिलर उमेरमा पनि मभन्दा पाका छन्। यसैले नपत्याए पनि केही भनिन। दिनहुँजसो भेट हुन्छ ।
हिजो मंगलबार बिहान रानीबारीबाट फर्कँदा उनको गोदामबाट खाली सिलिन्डर बाहिर निकालिँदै गरेको देखेँ। मेरो पालो पनि आउँछ? भनेर सोधेँ। उनले बेलुकासम्म घरमा ल्याइदिने वचन दिए। त्यति बेलै कतिसँग पहिले नै पैसा लिएको र कतिको नाम लेखेर राखेको, कतिको सिलिन्डर पहिले नै ल्याएको कुरा उनकी पत्नीले खुस्काइन्। मैलै मलाई त नाम लेख्नुपर्छ वा सिलिन्डर ल्याउनुपर्छ भनेर कहिल्यै भन्नुभएन त भने। ‘तपाईँलाई ग्यास पाए भएन। म घरैमा पुर्‍याइदिन्छु’ भने। पहिले पनि उनले आफैँ ल्याइदिने र २०। रुपियाँ थप लिने गर्थे। मलाई पत्यार लागेन र भने ‘आज दिनु भएन भने म तपाइँसँग फेरि ग्यास लिन्न नि !’
मैले गरेको शंका सही भयो। थापाले फेरि पनि ढाँटे। अब त अति भयो भन्ने ठानेर साल्ट ट्रेडिङका एक जना अपरिचित अधिकृतलाई बुधबार बिहान फोन गरेँ। व्यक्तिगत कामका लागि अफिस टाइमभन्दा पहिले फोन गरेर दुःख दिनु परेकोमा माफी माग्दै रानीबारीको डिलरले गरेको फट्याइँका बारेमा बताएँ। उनले कुरा छोट्याउँदै ११ बजे दिउँसो सिलिन्डर लिएर कालीमाटी आउन सके ग्यास दिने वचन दिए। उनको सौजन्यका लागि धन्यवाद भने। तर मलाई उनको सहयोग गरिब बाहुनलाई हात्ती दानजस्तो पो भयो।
ट्याक्सी चालकलाई सिलिन्डर लिएर कालीमाटी जान र आउन कति लाग्छ भनेर सोध्दा ७ सय जति लाग्ला भने। अर्थात्, ग्यासको पैसा २ हजार १ सय पर्ने भयो। ब्ल्याकमै किनेजस्तै। अनि मैले आफूले गर्न सक्ने विकल्प सोचेँ। एसटीसीको सिलिन्डर लिएर अर्को कम्पनीको खाली सिलिन्डर कसैले दिन्छ भने साँट्नु पर्ला। त्यसपछि त फटाहा थापाको मुखै हेर्न पर्दैन। त्यो सिलिन्डरसमेत मैलै तिनै थापासँग लिएको हुँ। मैले पालो मिचेर मागेको पनि थिइन। सायद कालोबजारमा बेच्न पल्केकाले थापाले मलाई सधैँ ढाँटेका हुन्। साल्ट ट्रेडिङले थापालाई कारबाही गरोस् भन्ने पनि चाहना छैन र मैले गुनासो गर्दैमा कारबाही हुन्छ भन्नेमा त झन् पटक्कै विश्वास छैन।
म बाहुबली वा राजनीतिक वा प्रशासनिक व्यक्ति भएको भए पनि थापाले ६ महिनासम्म ढाँट्ने आँट गर्ने थिएनन्। मैले थप पैसा दिने आशा भए पनि थापाले घरमा ग्यास पुर्याइसक्ने थिए। जति ढाँटे पनि मैले केही गर्न नसक्ने ठानेर न उनले मलाई हेपेका हुन् !
मैले सक्ने त उनको फट्याइँका बारेमा लेख्न र सामाजिक सञ्जालमा फैलाउन न हो । यसैले मैले पनि सकेको गरेँ र रिस पोखेँ । बाह्रखरीमै प्रकाशित गर्दा पनि व्यक्तिगत विषयमा माध्यमको दुरुपयोग गरेको ठानिएला कि भनेर फेसबुक रोजेको हो।
राज्यले न्यायोचित वितरण प्रणाली बनाएको भए थापाजस्ता व्यक्तिले बदमासी गर्न पाउने थिएनन्।कमजोरहरूलाई बढी नै चाहिने रहेछ विधि र पद्धति।